कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महल पोखरी बन्यो खेत

नवीन पौडेल

परासी — चुरेको काखमा मनोरम दृश्य । दक्षिणतर्फ समथर भूभागमा बस्ती । उत्तरमा मनमोहक चुरे शृंखला । यहाँबाट सूर्योदयसँगै हिमाल अवलोकन गर्न सकिन्छ । तराईका फाँटको अवलोकनले आनन्द मिल्छ ।

महल पोखरी बन्यो खेत

यस्तो रमणीय स्थान पश्चिम नवलपरासीमा रहेको महल पोखरीको हो । तर, अतिक्रमणका कारण पोखरी अहिले खेतमा परिणत भइसकेको छ ।


बाक्लिएको बस्ती र अतिक्रमणले ऐतिहासिक महल पोखरी तालको अस्तित्व मेटिएको स्थानीयले बताए । पूर्व–पश्चिम राजमार्गको सुनवल चोकदेखि १२ किलोमिटर उत्तरमा सुनवल नगरपालिका ४ मा रहेको करिब ५ बिघा क्षेत्रफलमा फैलिएको यस पोखरीलाई स्थानीयले अतिक्रमण गरेर खेतीपाती गर्न थालेका हुन् ।


२०३० सालमा स्थानीयले कुलो खनेर पोखरीको पानी बाहिर निकालेका थिए । त्यसबेलादेखि सुकेको पोखरीमा खेतीपाती गर्न थालेपछि त्यसको अस्तित्व नै संकटमा परेको हो । अहिले ताल रहेको स्थानमा खेतका गह्रा छन् । निरन्तर अतिक्रमण भएपछि पोखरी बचेन । त्यही पोखरीका कारण यस क्षेत्रको नाम महल पोखरी रहेको हो । उक्त पोखरी नै अहिले अस्तित्वमा नरहेको स्थानीय नरबहादुर ठाडाले बताए ।


‘नाम मात्र महल पोखरी भयो, अतिक्रमणका कारण पोखरी र मन्दिरको अस्तित्व नै संकटमा छ,’ उनले भने, ‘गाउँमा बिजुली आएर पानीको प्रबन्ध भएमा होमस्टे चलाएर पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सकिन्छ । त्यसले स्थानीयलाई फाइदा हुने थियो ।’ अतिक्रमणकारीलाई हटाएर पर्यटकीय स्थल महल पोखरीको संरक्षणमा लाग्नुपर्नेमा स्थानीयको जोड छ ।


पाल्पाका राजा मुकुन्दसेन (द्वितीय) ले यहाँ दरबार निर्माण गरी पोखरी बनाएकाले यसको नाम महल पोखरी रहेको बताइन्छ । दरबार भत्किएकाले अहिले सानो मन्दिर मात्र अस्तित्वमा छ । सत्यवती देवीको पूजाआजा गर्न मुकुन्दसेन आउने र विश्रामका लागि केही दिन यहीं बस्ने गर्थे ।


राजाले बनाएको भवन नरहेको भए पनि महल पोखरीको सबैभन्दा अग्लो भागमा बनाइएको सत्यवती देवीको मन्दिर अहिले पनि छ । सुनवल नगरपालिकाको गुरुयोजना र चालु बजेटमा पनि यस क्षेत्रको विकासका लागि कार्ययोजना बनाइएको छ ।


महल पोखरी हुँदै पाल्पा जोड्ने सडक चौडा बनाएमा यस क्षेत्रका उत्पादनले बजार पाउनुका साथै पर्यटकलाई सजिलो हुने स्थानीयले बताए । सडक चौडा गर्ने काम सुरु गरिएको छ । सुनवल नगरपालिकाका प्रमुख भीमबहादुर थापाले नगरको उत्कृष्ट गन्तव्यका रूपमा महल पोखरी क्षेत्रलाई विकास गर्न लागिएको बताए ।


‘नगरको विशेष प्राथमिकतामा यो क्षेत्र परेको छ । पुरानै शैलीमा पोखरी, मन्दिर र अन्य भौतिक संरचना पुनर्निर्माण गरिनेछ,’ उनले भने, ‘सडक सञ्जालले जोडेर पाल्पा, नवलपरासी र रूपन्देहीकै एउटा उत्कृष्ट पर्यटकीय क्षेत्र बनाउने हाम्रो लक्ष्य हो ।’

प्रकाशित : कार्तिक ३०, २०७५ १०:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?