१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

फोहोर प्रशोधन केन्द्र अलपत्र

स्थानीयको विरोधले योजना नै रद्द हुने अवस्थामा
माधव ढुंगाना

भैरहवा — एसियाली विकास बैंक (एडीबी) को ३२ करोड १५ लाख रुपैयाँ सहयोगमा यहाँ निर्माण गर्न लागिएको फोहोर प्रशोधन केन्द्र अलपत्र परेको छ । काम नथाल्दै बारम्बार विरोध भएपछि योजना रद्द हुने अवस्थामा पुगेको हो । 

फोहोर व्यवस्थापनका लागि सिद्धार्थनगर नगरपालिकाले २ वर्षअघि ओमसतिया गाउँपालिका ५ पटखौलीमा विद्युत् उत्पादनसहितको प्रशोधन केन्द्र निर्माणको तयारी गरेको थियो । प्रशोधन केन्द्रबाट आसपासका स्थानमा फोहोर र प्रदूषण हुने दाबी गर्दै स्थानीयका विभिन्न समूहले विरोध जनाएपछि त्यो अलपत्र परेको हो । पछिल्लो समयमा राजनीतिक दलका केही नेता पनि विरोधमा देखिएका छन् ।


आयोजनाको सुरुवातदेखि नै विरोध हुन थालेपछि एडीबी पनि योजना फिर्ता गर्ने मनस्थितिमा पुगेको छ । निर्माणका लागि नगरपालिकाले त्यहाँ १ करोड २० लाख रुपैयाँमा ६ बिघा जमिन खरिद गरेको थियो । एडीबीको सहयोगमा नगरमा सञ्चालित एकीकृत सहरी विकास आयोजनाअन्तर्गत प्रशोधन केन्द्र निर्माण गर्न लागिएको हो । दुई वर्षअघि ३२ करोड १५ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।


नगरपालिकाका वरिष्ठ इन्जिनियर तथा एकीकृत सहरी विकास आयोजना प्रमुख शैलेन्द्र श्रेष्ठले आयोजनाका बारेमा अनावश्यक विवाद झिकेर बारम्बार अवरोध गरिएको बताए । सिद्धार्थनगरलगायत आसपासका स्थानीयले सबै लाभान्वित हुने आयोजना रद्द हुन लागेकोमा दु:ख लागेको बताए ।


प्रशोधन केन्द्र निर्माण भएपछि सिद्धार्थनगर, ओमसतिया र रोहिणी गाउँपालिकाको समेत फोहोरको दीर्घकालीन रूपमा व्यवस्थापन हुने र आसपासका बस्तीमा कुनै पनि खालको फोहोर र प्रदूषण नहुने गरी आधुनिक प्रविधिबाट निर्माण गर्न लागिएको दाबी प्रमुख श्रेष्ठले गरे ।


‘आयोजनाको काम सुरु गर्न नपाइकन आयोजना स्थगन हुने अवस्थामा पुगेको छ,’ उनले भने, ‘काम सुरु गर्न नपाइएपछि हामी ठेक्का सम्झौता तोड्ने तयारीमा छौं ।’ बारम्बारको अवरोधले समयमा निर्माण कार्य हुन नसकेपछि दातृ संस्था एसियाली विकास बैंकले त्यस स्थानमा प्रशोधन केन्द्र निर्माण नगर्ने संकेत गरेको उनले बताए ।


नगरपालिकाले प्रशोधन केन्द्र निर्माण गर्ने भनिएको क्षेत्रमा वातावरण प्रभाव मूल्यांकन (ईआईए) र स्थानीयसँग छलफल एवं सार्वजनिक सुनुवाइसमेत गरेर काम अघि बढाएको थियो । मरेका जनावर त्यहाँ राख्न नपाइने, स्थानीय नदी प्रदूषित गर्न नपाइने, मन्दिर आसपासको वातावरणमा खलल पुर्‍याउन नपाइनेलगायत स्थानीयले राखेका मागसहित नगरपालिकाले प्रशोधन केन्द्रमा सिर्जना हुने रोजगारीे र त्यहाँबाट उत्पन्न हुने बिजुली सहुलियत दरमा स्थानीयलाई नै उपलब्ध गराउने विषयमा सहमति गरेको थियो ।


प्रशोधन केन्द्रमा कुहिने र नकुहिने खालको फोहोर त्यही किसिमबाट व्यवस्थापन गरिने, कुहिने खालको फोहोरबाट जैविक मल उत्पादन गर्ने, विद्युत् उत्पादन, दुर्गन्ध आउन नदिन विभिन्न उपकरणको प्रयोग र प्रशोधन केन्द्रवरिपरि वृक्षरोपण गरी हरियाली बनाएर सुन्दर पार्कका रूपमा विकसित गर्ने योजना नगरपालिकाको थियो ।


प्रशोधन केन्द्र निर्माण हुन दिने वा नदिने भन्नेबारेमा स्थानीय जनता र जनप्रतिनिधिबीचमै पक्ष र विपक्षमा विभाजन छ । हाल बाक्लो बस्ती भएका सिद्धार्थ राजमार्ग आसपासका स्थानीयले प्रशोधन केन्द्र बन्नुपर्ने माग गरेका छन् । पडसरी, ठुटीपीपल, धकधही, वसन्तपुरलगायत नगरोन्मुख बस्तीको फोहोर व्यवस्थापन गर्ने दीर्घकालीन योजना सञ्चालनमा छैन ।


ओमसतिया गाउँपालिकाका अध्यक्ष हीरा केवटले प्रशोधन केन्द्र आसपासका सबै बासिन्दा लाभान्वित हुने योजना हुँदाहँुदै पनि अनावश्यक रूपमा केही राजनीतिक दलका नेताले स्थानीयलाई उचालेर अवरोध गरेको आरोप लगाए । ‘प्रशोधन केन्द्र बनाउनका लागि हामीले पनि साथ दिएका थियौं,’ केवटले भने, ‘केही राजनीतिक दलका नेताले हामीविरुद्ध गालीगलौज गर्दै जनतालाई नचाहिँदो कुरा लगाएर विरोधमा उतारे ।’


स्थानीय निर्वाचन हुनुअगाडिसम्म प्रशोधन केन्द्रको विरोधमा घरी एउटा घरी अर्को समूह उत्पन्न हुने गरेको थियो । स्थानीय निर्वाचनपश्चात् सिद्धार्थनगर नगरपालिकाले निर्माण गर्नेबारेमा ओमसतिया गाउँपालिकासँग नै सम्झौता गरेको थियो ।


प्रशोधन केन्द्र निर्माणको विरोध गर्नेले उक्त केन्द्रबाट वरिपरिका बस्तीमा दुर्गन्ध फैलिने, नजिकका मन्दिर तथा धार्मिक स्थानमा नकारात्मक असर पर्ने, नदीहरू प्रदूषित हुने दाबी गरेका छन् । पछिल्लो समय प्रशोधन केन्द्र निर्माणको विरोधमा केही राजनीतिक दलका कार्यकर्ता पनि सरिक हुन थालेपछि आयोजना नै रद्द गर्ने तयारीमा रहेको सिद्धार्थनगर नगरपालिकाका मेयर हरिप्रसाद अधिकारीले बताए ।

प्रकाशित : कार्तिक ३०, २०७५ १०:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?