कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

बोटमा सुन्तला लटरम्मै

वीरेन्द्र केसी

अर्घाखाँची — पाणिनि गाउँपालिका सिम्लेका पीताम्बर भट्टराईका बारीमा रहेका साढे दुई सय बोटमा लटरम्म सुन्तला फलेका छन् । धेरै र ठूला दानाले उनलाई हाँगा जोगाउने चिन्ता बढाएको छ । ‘सुन्तलामा धेरै फल लाग्यो, बोट बचाउन टेका लगाएको छु,’ उनले भने, ‘फल धेरै भएकाले हाँगाले थेग्नै सकेको छैन ।’ 

बोटमा सुन्तला लटरम्मै

अघिल्लो वर्ष असिनाले फूल झारेपछि कम फल्यो । यसपाली अहिलेसम्मकै बढी फलेको छ । गत वर्ष ५ लाख आम्दानी भएको थियो । अहिले दस लाख जति आम्दानी हुने उनले बताए । दाना बिक्री गर्न सुरु गरेको उनले बताए । युवा किसान उनी विदेश जान छाडेर दशकदेखि व्यावसायिक सुन्तला खेतीमा सक्रिय छन् । उत्पादन धेरै हुँदा बजार भाउ नपर्ने अर्काे चिन्ता किसानलाई छ ।


गत वर्ष थोरै फलेकाले किलोको ८५ रुपैयाँसम्ममा बिक्री भएको थियो । यसपालि पचास/पचपन्न रुपैयाँमा बिक्रेताले माग्न थालेको सिम्लेकै मोहन पौडेलले बताए । उत्पादन कम भएपछि महँगोमा बिक्री भएको थियो । ‘बोटमा लटरम्मै दाना देख्दा मन औधी खुसी छ,’ उनले भने, ‘तर, मूल्य नपर्ने चिन्ता छ ।’ ठूला बोटमा वरिपरि बाँसका टेका लगाएरै बचाएको उनले बताए ।


मंसिरको दोस्रो साताबाट सुन्तलामा गुलियो रस परेर बिक्री सुरु हुन्छ । पूरै पाकुन्जेल बचाइराख्न एउटा बोटमा हाँगैपिच्छे भुँइमा टेका लगाएर राख्नु परेको उनले बताए । तीन सय पचास बोटबाट यसपालि आठ लाख रुपैयाँ जति आम्दानी हुने उनको अनुमान छ ।


जिल्लाको छत्रदेव गापाको अर्घातोष, मरेङ, मालारानीको खन, खनदह, हंसपुरलगायतका गाउँमा सुन्तला खेती हुन्छ । धेरै उत्पादन सिम्लेमै हुन्छ । पहाडको सुन्तला खानलाई रसिलो र मीठो हुने भएकाले भारत, भैरहवा र बुटवलका व्यापारी घरमै बोट खरिद गर्न आउँछन् ।


किसानबाट किनेर बजारमा चौगुना महँगोमा बिक्री गर्छन । यस वर्ष तेब्बर उत्पादन भएकाले सिंगो गाउँमा दुई करोड रुपैयाँ जति आम्दानी भित्रिने सिम्लेका युवा किसान चिरञ्जीवी पौडेलले बताए । पच्चीस रोपनी क्षेत्रफलमा ६ सय पचास बोट छन् । सबैजसोमा दाना लटरम्मै छन् । ठूलो बोटमा १४ हजारसम्म दाना फलेको उनले बताए ।


सिम्लेका सबै कृषक समूहमा आबद्ध भएर खेती गर्ने र सामूहिक बिक्री गर्ने गर्छन् । सबै मिलेर सुन्तला कृषक समूह र शिवशक्ति मिश्रित कृषक समूह गठन गरेका छन् । सुन्तलाबाट सिंगो गाउँ आत्मनिर्भर र स्वरोजगार बनेको शिवशक्तिका अध्यक्षसमेत रहेका उनले बताए ।

प्रकाशित : मंसिर १, २०७५ ११:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?