कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

‘टावर छ, कुरा हुँदैन’

बीटीएस जडानमा गरेको लापरबाहीले सेवाग्राही सुविधाबाट वञ्चित
माधव अर्याल

पाल्पा — मोबाइल टावर रहेको गाउँका बासिन्दा सञ्चार सुविधाबाट वञ्चित छन् । मोबाइलमा टावरको संकेत देखिन्छ । कुरा हुँदैन ।

वर्षाैंदेखि सञ्चारविहीन रैनादेविछहरा गाउँपालिकाको जुठापौवा, सत्यवती, बल्ढेङगढीका बासिन्दा अझै मोबाइल प्रयोगबाट वञ्चित रहेका छन् । रैनादेवीछहरा ८ सत्यवती डाँडामा राखेको टेलिकमको टावरले काम गरेको छैन ।


स्थानीय हैरानी खेप्न बाध्य छन् । टेलिकमले बीटीएस जडानमा गरेको लापरबाहीले सेवाग्राही सुविधाबाट वञ्चित भएको स्थानीय कुलबहादुर कार्कीले बताए । ‘मोबाइलमा टावर पूरै देखाउँछ तर कुराकानी गर्न हुँदैन,’ उनले भने ।’ टेलिकमले स्थानीय निर्वाचन अघि सवा २ करोड खर्चेर टावर र बीटीएस जडान गरेको थियो । केही सीमित क्षेत्रमा मात्र यसले काम गर्दा सत्यवती, बल्डढेङगढी, जुठापौवा, कचललगायत गाउँका बासिन्दा सञ्चार सेवाबाट वञ्चित भएका हुन् ।


स्थानीयले बिहीबार ज्ञापनपत्र बुझाए । जिल्ला प्रशासन, टेलिकम क्षेत्रीय कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमासमेत ज्ञापनपत्र दिएको स्थानीय भुवन कार्कीले बताए । ‘लापरबाही भएपछि ज्ञापनपत्र बुझाउन आउन बाध्य भएका हौं,’ उनले भने, ‘गाउँमै मोबाइलको टावर छ तर कुरा गर्न नपाउने भएपछि हारगुहार गर्न आएको हो ।’ उनका अनुसार ५ सय मिटर वरपरसमेत काम नगर्ने टावर राख्दा सबैले समस्या भोग्नु परेको हो । टेलिकमले गुनासो सुनुवाइ नगर २० दिनपछि कार्यालयमा तालबन्दी गर्ने चेतावनी उनीहरूले दिए ।


वर्षौदेखि यस भेगका बासिन्दा सञ्चार सुविधाबाट वञ्चित दिए । टेलिकमको टावरले सेवा पाउने आशा गरेका उनीहरू अहिले पुन: निरास बनेका हुन् । टेलिकमले टावर लगेर राखे पनि यसको सुविधा पाउन नसकेको स्थानीयको गुनासो छ । ‘सेवा सुचारु गरियो तर टावरको इक्युपमेन्ट जडानमा लापरबाही भयो,’ उनले भने, ‘त्यसैले पनि सेवा लिन पाइएन ।’ टावरमा पूरा पावरको बीटीएस जडान भएको छैन ।


टेलिकमका प्रमुख सन्तोष भण्डारीका अनुसार सुरुमा ओम्नीबाट चलेको थियो । अहिले माइक्रो बीटीएस जडान गरिएको छ । त्यसैले पनि स्थानीयले सेवा लिन नपाएका हुन् । डेढ वर्षअघि सेवा सुचारु गरे पनि अहिलेसम्म यसको गुणस्तरमा सुधार हुन नसकेको उनले स्वीकारे ।

प्रकाशित : मंसिर १, २०७५ ११:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?