१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

‘लोकप्रिय’ हुन पद जोडेर कार्यक्रम

अमृता अनमोल

बुटवल — बुटवल उपमहानगरले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा ‘मेयर युवा इलम कार्यक्रम’ सञ्चालन गर्ने सार्वजनिक गर्‍यो । एक परिवार, एक रोजगार कायम गर्ने उद्देश्यसहित वार्षिक ५ सय जनालाई स्वरोजगार बनाउन उक्त कार्यक्रम ल्याइएको जनाएको छ । 

‘लोकप्रिय’ हुन पद जोडेर कार्यक्रम

सहरमा बेरोजगारको संख्या बढिरहेका बेला प्रत्येक घरका एक व्यक्तिलाई जागिरे बनाउने उक्त कार्यक्रमको नाममा मेयर पद जोडिएको छ । नगरप्रमुखको सक्रियतामा चालु वर्षको सुरुवातमा तामझामसहित कार्यक्रम सुरुवात गरियो ।


पहिलो चरणमा ३ सय ६५ जनाले नि:शुल्क तालिम लिइरहेका छन् । संघीय सरकारमा प्रधानमन्त्री र राष्ट्रपतिसित जोडेर विभिन्न योजना सञ्चालन गर्ने प्रचलन छ । त्यसको सिको स्थानीय सरकारले गर्न थालेका छन् ।


कार्यक्रमबाट मिल्ने लाभको जस लिन र प्रत्यक्ष सहभागिताका लागि यस्ता कार्यक्रम सुरु गरेका हुन् । उपमहानगरमा नागरिकले रुचाउने र प्रभावकारी बनाउन सकिने कार्यक्रमलाई पदाधिकारीले पदसित जोडेका छन । ‘नगरप्रमुख ज्येष्ठ नागरिक घरदैलो स्वास्थ्य अभियान’ यसको अर्को उदाहरण हो । यसअन्तर्गत ८४ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकको वर्षमा कम्तीमा दुई पटक दैलोमा पुगेर उपचार गरिनेछ ।


यसले आफैं अस्पताल जान नसक्ने ज्येष्ठ नागरिक प्रत्यक्ष लाभान्वित हुने जनप्रतिनिधिको दाबी छ । उनीहरू यस्ता कार्यक्रममार्फत लोकप्रियता बटुल्न चाहन्छन् । ज्येष्ठ नागरिकमा आफ्नो छाप बसाल्न सकिने भएकाले यसमा नगरप्रमुख जोडिएको उपमहानगरमा प्रतिनिधित्व गर्नेले बताए ।


यस्ता कार्यक्रम मेयर मात्र होइन उपमेयरसित पनि जोडिएका छन् । महिला र बालबालिकासित जोडिएका कार्यक्रममा उपमेयर जोडिएका हुन् । त्यसमध्येको एउटा मातृशिशु स्वास्थ्य प्रवद्र्धन कार्यक्रम हो ।


मातृशिशु स्वास्थ्यलाई प्रभावकारी तुल्याउन तथा नतिजामुखी सुधार ल्याउन यो कार्यक्रम सुरु गरिएको छ । बुटवल उपमहानगरले उपप्रमुखको नाम जोडेर ‘उपप्रमुखसँग गर्भवती तथा सुत्केरी भेट अभियान’ चलाएको छ । गर्भवती तथा सुत्केरीलाई उपप्रमुखले प्रत्यक्ष भेट्ने र सहयोग गर्ने कार्यमा उपप्रमुख प्रत्यक्ष सहभागी हुनेछन् । गर्भवतीलाई घरमा पुगेर आइरन चक्की र क्याल्सियम तथा सुत्केरीलाई पोषण दिने योजना छ । ‘अहिले कार्यविधि बनिरहेको छ,’ उपप्रमुख गुमादेवी आचार्यले भनिन्, ‘कार्यविधि बनेलगत्तै अभियान घरघरमा पुर्‍याइनेछ ।’


महिला उद्यमशीलतासम्बन्धी अर्को कार्यक्रममा उपप्रमुखसित जोडिएको छ । ‘उपप्रमुख महिला उद्यमी विकास तथा प्रोत्साहन कार्यक्रम’ रहेको छ । उद्यममा महिलाको भूमिका बढाउन र प्रेरित गर्न यो कार्यक्रम ल्याइएको उपमहानगरले दाबी गरेको छ ।


‘उद्यमशीलताको अभावमा धेरै महिला बेरोजगार र परनिर्भर छन्,’ उपप्रमुख आचार्यले भनिन्, ‘उनीहरूलाई प्रोत्साहित गरेर उद्यमशीलतामा संलग्न गराउन र टिकाउन मेरै पहलमा कार्यक्रम ल्याइएको हो ।’ यसको पनि अहिले कार्यविधि निर्माण भइरहेको छ । ‘महिला समानता र सशक्तीकरणका लागि परिवर्तन देखाउन सकिने अभियान हो,’ उपप्रमुख आचार्यले दाबी गरिन्, ‘उपप्रमुखकै नाम जोडेर अभियान चलाउन लागेका हौं ।’ उपप्रमुखको पहिचानका लागि पनि नामबाट अभियान सञ्चालन गर्न लागिएको उनले तर्क गरिन् ।


स्थानीय तहका जानकार कार्यक्रम राम्रो वा प्रभावकारी गराउन पदाधिकारीका नाम जोड्नु नपर्ने बताउँछन् । सस्तो लोकप्रियताका लागि पदाधिकारीले यसो गरेको उनीहरूको तर्क छ । ‘चुनावी रणनीति वा आफ्नो प्रत्यक्ष छाप बनाउन केन्द्रमा पदाधिकारीको पद जोड्ने चलन थियो,’ पारदर्शी सरोकार समूह बुटवलका अध्यक्ष महेन्द्र पाण्डेले भने, ‘अहिले स्थानीय तहसम्म यो प्रचलन झरेको छ ।’ लोकतन्त्रको सम्मान गर्ने हो भने शासकभन्दा नागरिकका नाम जोडेर अभियान चलाउनु पर्ने उनले बताए ।

प्रकाशित : मंसिर १, २०७५ ११:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?