१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

सडक र शिक्षा प्राथमिकता

कार्यान्वयनका लागि जिल्ला समन्वय समिति र स्थानीय सरकारका प्रमुखसँग छलफल
ठाकुरसिंह थारु

नेपालगन्ज — बाँकेबाट प्रतिनिधित्व गर्ने संघीय सांसदले शिक्षा, सडक र धार्मिक पूर्बाधार निर्माणका आयोजनालाई प्राथमिकता दिएर बजेट छुट्याएका छन् ।

आयोजना छनोट गरी कार्यान्वयनका लागि जिल्ला समन्वय समिति र स्थानीय सरकारका प्रमुखसँग छलफल गरेका छन् । निर्वाचन क्षेत्र नम्बर १ का सांसद महेश्वर गहतराजले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको ४ करोड रुपैयाँ बजेट शैक्षिक पूर्वाधार निर्माणमा खर्च गर्न विभिन्न योजना छनोट गरेका छन् ।


उनले आफ्नो क्षेत्रका १८ शैक्षिक संस्थाको भवन निमार्णका लागि बजेट खर्च गर्ने भएका छन् । त्यससँगै प्राकृतिक चिकित्सालय, सास्कृतिक र सहिद स्मृति भवन निमार्णका लागि बजेट छुट्टयाएका हुन । ‘बाँकेको क्षेत्र नम्बर १ अन्तर्गत पर्ने राप्ती क्षेत्र शिक्षामा निकै पछि परेको छ । त्यसैले हामीले शिक्षालाई बढी प्राथमिकतामा पारेका छौं,’ उनले भने, ‘स्थानीय सरकारले शिक्षाका लागि आवश्यक पर्ने पूर्वाधारमा ध्यान नदिएकाले योजनामा पारिएको हो ।’


प्रत्यक्ष निर्वाचित सांसदले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमका लागि चार करोड बजेट पाएका छन् । त्यसमा स्थानीय सरकारले २० प्रतिशत रकम थप गरेर विकासका योजना कार्यान्वयन गर्ने नीति छ । संघीय सांसदले उक्त वजेट खर्च गर्न बढीमा २० योजना छनोट गर्न पाउने व्यवस्था छ ।


दुई आयोजनाहरू अनिवार्य ५०/५० लाखको र अन्य १० लाखको हुनु पर्ने बाध्यात्मक कानुनी व्यवस्था छ । साझेदारी कार्यक्रमको संयोजकमा संघीय सांसद र सदस्यमा प्रदेश सांसद, जिल्ला समन्वय समिति र स्थानीय सरकार प्रमुख रहेका छन् ।


यसअघिका सांसदले सांसद विकासको रकम मनपरी खर्च गरेका कारण त्यसको दुरुपयोग रोक्न कडा नीति ल्याइएको छ । ति आयोजना उपभोक्ता र टेन्डर प्रकृयाबाट सन्चालन गर्न सकिनेछ । ‘विगतमा जे भए पनि यसपल्टको बजेटको दुरुपयोग हुन दिन्नौ । बदमासी गर्नेलाई कारबाहीको दायरामा ल्याउँछौ,’ सांसद गहतराजले भने,‘आफ्नै निकटका कार्यकर्ता भएपनि अनियमितता गर्नेलाई छोड्दैनौं ।’


क्षेत्र नम्बर २ का सांसद तथा सहरी विकास मन्त्री इस्तियाक राईले ऐतिहासिक क्षेत्रको पूर्वाधार लगायतका आयोजना छनोट गरेका छन् । नेपालगन्जको डेढ सय वर्ष पुरानो ऐतिहासिक रामलिला मैदान निर्माणका लागि २५ लाख बजेट छुट्टयाएका छन् । हनुमानगढी निमार्ण, सडक र शैक्षिक क्षेत्रलाई पनि प्राथमिकतामा पारेका छन् ।


निर्वाचन क्षेत्र नम्बर ३ का सांसद नन्दलाल रोकायले सडक निमार्णलाई प्राथमिकतामा पारेका छन् । खजुरा, वैजनाथ र जानकी गाउँपालिकाको ६ करोड ८५ लाख साझोदारीमा १० करोड ८५ लाखमा सडक निमार्णको कामलाई छनोटमा पारेका हुन् । खजुरा गाउँपालिकाको डी गाउँदेखि ईगाउँ मनकामना आधारभूत विद्यालय जोड्ने सडक कालोपत्रे र सीतापुरको बाबास्थानदेखि के गाउँसम्मको सडक कालोपत्रे, जानकी गाउँपालिकाको गनापुर चौकदेखि खजुरारोडसम्मको सडक कालोपत्रे तथा वैजनाथमा एचगाउँदेखि स्याउली बजारसम्मको सडक कालोपत्रेको योजना छनोट गरिएको छ ।


सांसद रोकायले एकमुष्ट रकम खर्च गर्ने बताएका छन् । जिल्ला समन्वय समितिका सामाजिक विकास अधिकृत मिनबहादुर मल्लले सांसदहरूले योजना छनोट गरी कार्यन्वयनका लागि छलफल गरिरहेको बताए । ‘यस पल्ट शिक्षा, स्वास्थ्य र ऐतिहासिक स्थानका भौतिक पूर्वाधारको कामले प्राथमिकता पाएको छ,’ उनले भने,‘स्थानीय सरकारका प्रमुखसगंको छलफलपछि योजना कार्यान्वन सुरु हुन्छ ।’

प्रकाशित : मंसिर १, २०७५ ११:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?