जंगबहादुरको बीसखुट्टे दरबार जीर्ण

जंगबहादुर जन्मेको सन्धिखर्क नगरपालिकाको मथुरा र न्वारान भएको छत्रदेव गाउँपालिकाको बल्कोट पौवालाई संरक्षण गरी पर्यटकीय स्थलका रूपमा विकास गरिने
वीरेन्द्र केसी

अर्घाखाँची — राणा प्रधानमन्त्री जंगबहादुरको जन्मस्थललाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न तीनै तहका जनप्रतिनिधि जुटेका छन् । सत्ताको बागडोर सम्हालेका बेला उनले आफू जन्मेको ठाउँमा कलात्मक दरबार बनाएका थिए । अहिले त्यो जीर्ण छ ।

जंगबहादुरको बीसखुट्टे दरबार जीर्ण

स्थानीय तहको पहलमा दरबारलाई मर्मत गरेर अध्ययन र दर्शनीय स्थल बनाएर पर्यटक आकर्षित गर्न लागिएको हो ।


संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले जंगबहादुरको इतिहास, प्रधानमन्त्रीकालमा उनले गरेका कामका बारेमा विस्तृत जानकारीसहितको पुस्तकका साथै दरबारलाई कलात्मक ढंगले संरक्षण गर्ने गरी योजना अघि सारेका छन् ।


पुस्तकबाट जंगबहादुरका बारेमा नयाँ पुस्ताले जानकारी पाउनेछन् । उनी जन्मेको सन्धिखर्क नगरपालिकाको मथुरा र न्वारान भएको छत्रदेव गाउँपालिकाको बल्कोट पौवालाई संरक्षण गरी पर्यटकीय स्थलका रूपमा विकास गर्न लागिएको प्रदेशसभा सदस्य चेतनारायण आचार्यले बताए ।


‘पर्यटकीय गन्तव्य स्थलको निर्माण गरी लुम्बिनी आएका पर्यटकलाई धार्मिक पर्यटकीय स्थल सुपादेउराली हुँदै जंगलबहादुर जन्मेको स्थानसम्म पुर्‍याएर पर्यटनको विकास गर्छौं,’ उनले भने, ‘त्यसका लागि दरबार कलात्मक गराइनेछ ।’ दरबारमा कुँदिएको कला अहिले कतै पाइँदैन । हेर्न र अध्ययन गर्नेलायक भएकाले त्यसको संरक्षण गर्न जरुरी रहेको उनले बताए ।


सन्धिखर्क नगरपालिका उपप्रमुख ठाकुरकुमार विकले जंगबहादुरको जन्मस्थललाई डीपीआर तयार गरी संरक्षण गर्ने योजना बनाउन थालिएको बताए । ‘पर्यटक आकर्षित गर्ने गरी संरचना बन्दै छन्,’ उनले भने, ‘ऐतिहासिक सामग्री र संरचनाको संरक्षण हुन्छ ।’ इतिहासको खलपात्रका रूपमा उभ्याइएका र अमिट नाम खोपेका जंगबहादुरले प्रधानमन्त्री भएपछि आफू जन्मेको ठाउँमा दरबारै बनाए ।


कलात्मक रूपमा निर्माण गरिएको बीसखुट्टे दरबार नेपालमै नौलो मानिन्छ । राणा शासन रहँदासम्म यसले रेखदेख र संरक्षण पायो । त्यसपछि बेसारिसे छ । जिल्लाका विभिन्न कार्यक्रममा दरबारलाई संरक्षण गरी पर्यटकीय स्थल बनाउने कुरा बारम्बार उठे पनि मर्मत गरी जोगाउनतर्फ अहिले बल्ल छलफल र योजना बनाउन सुरु भएको हो ।


जंगबहादुरका बाबु बालनरसिंह आर्मी अफिसर थिए । उनी बारुदखाना प्यूठानको प्रमुख थिए । १८६० को दशकमा जुम्लाको सिन्जा प्रान्तमा गुठीको जग्गा विवाद बढ्यो । समाधान गर्न बालनरसिंहलाई जुम्ला खटाइयो । उनी श्रीमती लिएर गए । पत्नी त्यहीँ गर्भवती भइन् । त्यो समय गर्भवती भएपछि माइती घर जाने चलन थियो । उनी तत्कालीन प्रधानमन्त्री भीमसेन थापाकी बहिनी थिइन् ।


जुम्लाबाट माइतीघर गोरखा जाने क्रममा अर्घाखाँचीको बांगलाको मथुरा जंगलमा बिरामी परिन् । १८७४ मा जंगबहादुर सात महिनामै जन्मिए । चौपारीमै बास बसेपछि मथुराका पाण्डे थरका स्थानीयले स्याहारसुसार गरी पारिपट्टिको बल्कोट चौपारीमा लगेर विधिपूर्वक त्यहाँका खनाल थरका ब्राहमणहरूले न्वारन गराएर बालकको नाम वीरनरसिंह राखेको बल्कोटको संस्कृति अध्ययन गरिरहेका नारायण भट्टराईले बताए ।


पछि दरिली भएपछि छोरालाई लिएर उनी रिडी, स्याङ्जा, पोखरा, लमजुङको बेंसीसहर हुँदै माइती गोरखा पुगेकी थिइन् । पछि वीरनरसिंह जंगे स्वभावका भएकाले उनको नाम जंगबहादुर राखिएको संस्कृतिविद् भट्टराईले बताए ।


बांगलाका स्थानीय एवं जिल्ला समन्वय समिति प्रमुख पीताम्बर शर्माका अनुसार जंगबहादुरले कालान्तरमा मुलुकको प्रधानमन्त्री बनेपछि आफ्ना जेठान सहनसिंह कर्नेललाई मथुरा पठाएर आमाको सम्झनामा मथुरामा बीसखुट्टे दरबार निर्माण गराएका हुन् ।


आमा बास बसेको स्थान बल्कोटमा पौवा, पोखराको दर्शनढुंगामा पौवा, लमजुङको बेसीसहरमा ढुंगे गुफानजिकै रानीपोखरी पौवा निर्माण गराए । सबै पौवामा कलात्मक एउटै डिजाइन भए पनि आफू जन्मिएको मथुरामा बीसखुट्टे दरबार बनाएको विभिन्न ग्रन्थमा उल्लेख छ ।


उनले काठमाडौं, ललितपुर, पनौतीलगायत स्थानमा पौवा र दरबार बनाए । तर, मथुरामा मात्र बीसखुट्टे दरबार बनाएको योगी नरहरिनाथले आफ्नो प्रवचनमा उल्लेख गरेका थिए । ‘नेपाली राजनीतिमा जंगबहादुरको चर्चा हुन्छ, उनी जन्मेपछि बनाएको दरबार अहिले जीर्ण छ,’ प्रमुख शर्माले भने, ‘यो इतिहासलाई संरक्षण गर्नुपर्छ । यो भावी पुस्ताले पनि अध्ययन गर्ने थलो होस् ।’ दरबारनजिकै मथुराधाम मन्दिर पनि छ । ‘यो पर्यटकीय स्थल हो,’ उनले भने, ‘लामपाटी दरबार र बल्कोट पौवालाई संरक्षण गरी पर्यटकीय गन्तव्य बनाउनुपर्छ । यसो गर्दा मात्र राजनीतिप्रति चासो राख्नेले जंगबहादुरलाई स्मरण गर्न पाउनेछन् ।’


मथुरा सन्धिखर्क नगरपालिका र बल्कोट पौवा छत्रदेव गाउँपालिकामा पर्छ । राजा रणबहादुर शाहको हत्या गर्ने शेरबहादुर शाहलाई तत्कालै काटेर मार्ने बालनरसिंहका छोरा जंगबहादुर कुस्ती खेल्ने, बन्दुक चलाउने, धुन बजाउने, घोडसवार गर्ने र राजा राजेन्द्रविक्रम शाह सिकार खेल्न जाँदा जिउँदो हात्तीलाई समातेर चर्चामा आएका थिए ।


शक्तिशाली मानिने भारदारहरू र तत्कालीन राजाको शक्तिलाई निस्तेज पारी आफूलाई ‘श्री ३ महाराज’ घोषणा गरी आफ्नै वंशमा राज्यको शासन व्यवस्था सीमित गराउने जंगबहादुरको वि.सं. १९३४ मा देहान्त भएपछि उनको जन्मस्थलको सम्झनामा निर्माण गरिएको दरबार अहिले स्थानीयको घाँस/दाउरा राख्ने जीर्ण पाटीमा परिणत भएको छ ।


भवन, गारो जीर्ण बन्दै गएपछि ऐतिहासिक दरबारको अस्तित्वसमेत गुम्ने खतरा बढेको छ । ००८ सालअगाडि दरबारनजिकै पोखरी र थुप्रै जमिन थियो । अहिले जग्गा छैन । राजा महेन्द्रले जिल्ला भ्रमणमा आउँदा उक्त दरबारमा रात बिताएका थिए ।


ऐतिहासिक लामपाटी दरबार र बल्कोट पौवा संरक्षण अभावमा जीर्ण बन्दै गएको बांगलाका स्थानीय ऋषभ अधिकारीले बताए । ‘ऐतिहासिक संरचना लोप हुन दिनु हँुदैन,’ उनले भने । कलात्मक बल्कोट पौवामा केही समयअघिसम्म मन्दिरको संरक्षण गर्ने, फूलपाती टिप्ने, लिपपोत गर्ने र दैनिक बिहान–बेलुका बाजा बजाउने व्यवस्था थियो । अहिले पूजाआजा भएपछि बाजा बजाउने कार्य हटेको छत्रदेव गाउँपालिका २ का वडाध्यक्ष राजेश पन्थीले बताए ।

प्रकाशित : मंसिर २, २०७५ १२:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?