भैलो खेलेर विपन्नलाई सहयोग

प्यूठान — प्यूठान नगरपालिका ४, टारीगाउँका बालबालिकाले देउसीभैलो खेलेर जम्मा गरेको रकम एकल महिला, विपन्न बालिका र सरसफाइका लागि सहयोग गरेका छन् । जनसेवा बाल समूहमा आबद्ध उनीहरूले ४८ हजार ६ सय १० रुपैयाँ जम्मा गरेर सहयोग गरेका हुन् ।

वृद्ध एकल महिला हुमा सुनारको चुहिने घर मर्मतका लागि ५ हजार रुपैयाँ र गाउँकै विपन्न परिवारकी ६ वर्षीया बालिका समीक्षा सुनारलाई जाडोमा लगाउने कपडा, कापी, पेन्सिल सहयोग गरेको अध्यक्ष स्वीकृति सुवेदीले बताइन् । ‘समीक्षा जाडोमा लगाउने कपडा नभएर थुरथुर काँप्दै विद्यालय गएको सबै साथीले देखेका थियौं,’ उनले भनिन्, ‘त्यसैले उनलाई सहयोग गर्नुपर्छ भनेर एक जोर न्यानो कपडासहित कापी, पेन्सिल दिएका हौं ।’ त्यसै गरी, देउसीभैलो खेल्न पुग्दा पानी चुहिने जीर्ण घरमा एकल वृद्ध हजुरआमा बसेको देख्दा दया लागेर घर मर्मत गर्न सहयोग गरेको पनि सुवेदीले सुनाइन् ।


दीनदु:खीलाई सहयोग गर्नुपर्छ भन्ने कुरा विद्यालयमा पढ्दा बुझेकाले सहयोग गरेको समूहकी सचिव सदीक्षा सुवेदीले बताइन् । ‘हामीले त स्कुलमा गुरुहरूले सिकाएको कुरा व्यवहारमा लागू गरेका मात्र हांै,’ उनले भनिन्, ‘तिहारमा देउसीभैलो खेल्दा रमाइलो भयो नै, केही सामाजिक काम पनि गर्न पाइयो । धेरै खुसी लागेको छ ।’ उनीहरू भित्रीकोट सामुदायिक सिकाइ केन्द्रमा रहेका मादल, झ्याली, माइकसहितको मनोरञ्जनका सामान लिएर देउसीभैलो खेलेका थिए । देउसीभैलो खेल्दा आफूहरूले समाज परिवर्तन गर्ने सन्देश दिने देउसुरे भटयाएको उनले बताइन् ।


गाउँमा फोहोरमैला व्यवस्थापनका लागि देउसीभैलोबाट उठेको १३ हजार रुपैयाँ सहयोग गर्न थालिएको समूहका पूर्वअध्यक्ष सुशांक पौडेलले बताए । ‘२ वर्षदेखि तिहारमा देउसीभैलो खेलेर सामाजिक क्षेत्रमा लगानी गर्न थालेका हौं,’ पौडेलले भने, ‘देउसीभैलोमा जम्मा भएको रकम ८० प्रतिशत सामाजिक क्षेत्रमा र २० प्रतिशत समूहको संस्थागत विकासमा खर्च गर्छौं ।’


जनसेवा बाल समूहमा १५ जनाको कार्यसमिति छ । उनीहरू सबै १४ वर्ष उमेर समूहका छन् । समूहले आयोजना गरेको ५ दिने देउसीभैलोमा गाउँभरका बालबालिकाको सहभागिता थियो । समूहले समय/समयमा सडक नाटक, विभिन्न दिवस पारेर सचेतना सन्देश लेखेका प्लेकार्डसहित र्‍याली निकाल्ने गर्दै आएको छ । गाउँघरमा सरसफाइ गर्न पनि यहाँका बालबालिका अगाडि छन् । गाउँका सबै बालबालिकाले बाल अधिकार र कर्तव्य बुझेकाले सामाजिक काममा सरिक भएको पौडेलले बताए ।


‘अहिले नगर बाल सञ्जालको अध्यक्ष भएर काम गर्ने अवसर पाएको छु,’ जनता मावि बाग्दुलामा कक्षा १० मा अध्ययनरत सुशांकले भने, ‘हामीले बाल अधिकार खोजिरहँदा कर्तव्य पनि पूरा गर्नुपर्छ भन्ने बुझेकाले सामाजिक काममा लागेका हांै ।’ आफूहरूको कामलाई स्थानीय अगुवा सुमन सुवेदी, निरज सुवेदीलगायतले सहयोग गरेर हौसला दिइरहेको उनले बताए ।


बालबालिकाले देउसीभैलो खेली सामाजिक क्षेत्रमा लगानी गर्न थालेपछि अभिभावकले पनि उनीहरूलाई साथ दिन थालेको स्थानीय सामाजिक अगुवा सुमन सुवेदीले बताए ।


‘जनसेवा बाल समूहको अभियानले टारी गाउँको पहिचाहन बदल्दै छ,’ उनले भने, ‘उनीहरूले सबैले सिको गर्ने काम गर्दै आएका छन् ।’ बालबालिकाकै नेतृत्वमा गाउँमा सरसफाइको अभियान सुरुआत भएको र उनीहरूले चलाएको सामाजिक अभियानले गाउँ बदल्न योगदान पुर्‍याएको उनले बताए । ‘जथाभावी फोहोर नगरौं भन्ने सन्देश लेखेर फोहोर जम्मा गर्ने स्थान बनाएका छन्,’ उनले भने, ‘त्यही स्थानमा फोहोर जम्मा गरेर नगरपालिकाको गाडीमा राखिदिन्छौं ।’

प्रकाशित : मंसिर २, २०७५ १२:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?