वन्यजन्तुलाई खानेपानी

नविन पौडेल

अमलटारी, परासी — पूर्वी नवलपरासीको एक सामुदायिक वनले जंगली जनावरका लागि खानेपानीको व्यवस्था गरेको छ । चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत पर्ने पूर्वी नवलपरासीको गुन्द्रही ढकाहा मध्यवर्ती सामुदायिक वनमा स्वचालित पानी तान्ने बोरिङबाट जनावरका लागि पानी वितरण गरिएको हो ।

वन्यजन्तुलाई खानेपानी

निकुञ्ज र यस आसपासका मध्यवर्ती क्षेत्रमै पहिलोपटक स्वचालित बोरिङमार्फत पानी निकालिएको वनका अध्यक्ष नरबहादुर महतोले बताए ।


वन्यजन्तुको स्थायी बासस्थान निर्माणका लागि वनभित्र सौर्य ऊर्जाबाट सञ्चालन हुने स्वचालित बोरिङ राखिएको छ । आवाज नआउने हुनाले वन्यजन्तुलाई असर नगर्ने गरी प्रविधि जडान गरिएको हो । करिब ६ लाख रुपैयाँको लागतमा निर्माण गरिएको खानेपानी योजनाले सुक्न लागेको सिमसार क्षेत्रको अस्तित्व जोगाउने अपेक्षा गरिएको छ । घाम झुल्केसँगै पानी आउन थाल्छ ।


गर्मी तथा हिउँदको समयमा वनभित्रका सिमसार क्षेत्रमा पानी सुक्दा वन्यजन्तुलाई पानीको अभाव हुन्छ । त्यस्तो अवस्थामा वन्यजन्तु पानीका लागि भौतारिन नपरोस् भन्ने उद्देश्यले खानेपानीको योजना सञ्चालन गरिएको अध्यक्ष महतोले बताए । ‘हामी मानवलाई जस्तै वन्यजन्तुलाई पनि पर्याप्त पानी र सिमसार क्षेत्र आवश्यक पर्छ,’ उनले भने, ‘जंगली जनावर देखाएर नै चलेको हाम्रो पर्यटन व्यवसाय जोगाउन पनि हामी कस्सिएका हौं ।’


पानी भएपछि गैंडा, मृगजस्ता जनावर आउने भएकाले जंगल सफारी गर्ने पर्यटकलाई पनि रमाइलो हुने उनले बताए । पानी खोज्दै भौतारिँदा गैंडा, बाघ तथा अन्य जन्तु बस्तीमा जाने र क्षति पुर्‍याउन थालेपछि आफ्नो थातथलो छाडेर अन्यत्र नजाऊन् भनेर पनि पानी तान्ने बोरिङ राखिएको तराई भू–परिधि कार्यक्रमका फिल्ड प्रोग्राम एसोसिएट प्रेम पौडेलले सुनाए ।


७ सय ३० हेक्टर क्षेत्रफल रहेको गुन्द्रही ढकाहा मध्यवर्ती सामुदायिक वनभित्र विभिन्न स्थानमा सिमसार क्षेत्र छन् । सुक्खा समयमा सिमसार क्षेत्रमा समेत पानीको मात्रा कम हुन्छ । घाम लागेको समयमा बोरिङबाट २ इन्चको पानी निस्कने भएकाले सिमसार क्षेत्रमा पर्याप्त पानी संकलन हुने प्राविधिकको दाबी छ ।


अमलटारी क्षेत्रमा दिगो पर्या–पर्यटन विकासका विशेष योजना निर्माण गरिएको छ । अमलटारी क्षेत्र अन्तर्गत पर्ने चारवटा सामुदायिक वन गैंडाका लागि उपयुक्त बासस्थान मानिन्छ । पर्यटकीय क्षेत्रका रूपमा विकसित हुँदै गएको यस क्षेत्रमा धमाधम होटल तथा रेस्टुराँ खुल्ने क्रम पनि जारी छ । होटलले जिप तथा हात्ती सफारी गरेर पर्यटक आकर्षित गरिरहेका छन् ।


स्थानीय पर्यटन व्यवसायी धनिराम महतोका अनुसार बढ्दो पर्यटकको आकर्षणका कारण जिप सफारी र हाती सफारीका लागि एक हप्ता अगाडिदेखि नै बुक हुने गरेको छ । ‘बोरिङ गाडेपछि सिमसार क्षेत्रको संरक्षणसँगै पर्याप्त खानेपानीले सफारीमा सहजै गैंडा देख्न पाइनेछ,’ उनले भने, ‘जनावरलाई पनि फाइदा, पर्यटन व्यवसायीलाई पनि सहज यस्तो प्रविधि अन्य सामुदायिक वनमा पनि अपनाउन सकेमा पर्यटक आकर्षित गरेर थप फाइदा लिन सकिन्थ्यो ।’

प्रकाशित : मंसिर २, २०७५ १२:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?