१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

नेपालगन्ज र बुटवलमा ‘नो हर्न’

नेपालगन्ज/बुटवल — बढ्दाे ध्वनि प्रदूषण नियन्त्रण गर्न बाँके प्रहरीले नेपालगन्ज उपमहानगरभित्र शनिबारदेखि ‘नो हर्न’ घोषणा गरेको छ । अटेरी गरी हर्न बजाउने सवारी चालकलाई ५ सयदेखि १ हजार ५ सय रुपैयाँसम्म जरिवाना तोकेको छ । 

नेपालगन्ज र बुटवलमा ‘नो हर्न’

‘नो हर्न’ अभियान सफल पार्न मंसिरभरि सचेतना फैलाउने कार्यक्रम छ । पुस १ गतेदेखि भने हर्न बजाउने चालकलाई कारबाही हुनेछ । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६४ अनुसार हर्न बजाउनेलाई ट्राफिक प्रहरीले ५ सयदेखि १ हजार ५ सय रुपैयाँसम्म जरिवाना गर्न सक्ने कानुनी व्यवस्था छ ।


त्यसैलाई मध्यनजर गर्दै प्रहरीले नेपालगन्जलाई हर्न निषेधित क्षेत्र घोषणा गर्न लागेको हो । पहिलोपल्ट हर्न बजाउने चालकलाई ५ सय जरिवाना तोकिएको छ । पटके गल्ती गर्नेलाई क्रमश: जरिवाना

बढाउँदै लगिनेछ ।


नेपालगन्जमा सानाठूला गरी हजारौं सवारीसाधन सञ्चालनमा छन् । ध्वनि प्रदूषणका कारण मुलुकमा १४ प्रतिशत मानिसमा बहिरोपनको समस्या देखिएको अध्ययनले देखाएको छ । ध्वनि प्रदूषणले बहिरोपनको समस्या बढेपछि ‘नो हर्न’ अभियान सुरु गरिएको बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेले बताए ।


अभियान सफल पार्न यातायात व्यवसायी, सर्वसाधारणलगायतले प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका छन् । प्रहरी प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेल र यातायात व्यवसायीका पदाधिकारीले सबै चालकलाई हर्न नबजाउन आग्रह गरेका थिए ।


अभियान सफल पार्न नेपालगन्ज उपमहानगर, नेपालगन्ज उद्योग वाणिज्य संघ, विभिन्न यातायात व्यवसायी समितिका पदाधिकारीले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।


त्यस्तै, बुटवलमा पनि शनिबारदेखि नै ‘नो हर्न’ अभियान सुरु भएको छ । बुटवलको चौराहामा बोर्ड राखेर प्रदेश ५ का वरिष्ठ प्रहरी उपरीक्षक नरबहादुर केसीले हर्न निषेधित क्षेत्र घोषणा गरेका हुन् । प्रदेश ट्राफिक प्रहरी कार्यालयको संयोजनमा भएको अभियानलाई बुटवल उपमहानगरपालिकाले सहयोग गरेको छ । हर्न निषेध क्षेत्र घोषणा गर्नुअघि राजमार्ग चौराहादेखि कालिकानगर हुँदै मिलनचोकसम्म र्‍याली निकालिएको थियो ।


पहिलो चरणमा पूर्व–पश्चिम राजमार्गको तिनाउ पुलदेखि रामनगरसम्म र सिद्धार्थ राजमार्गको गोलपार्कदेखि चौराहासम्मको क्षेत्रलाई हर्न निषेधित क्षेत्र घोषणा गरिएको प्रदेश ५ का ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गणेश चन्दले बताए । बुटवलमा पनि अटेरी गरी हर्न बजाउनेलाई अधिकतम १ हजार ५ सय रुपैयाँ जरिवाना हुनेछ ।

प्रकाशित : मंसिर २, २०७५ १२:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?