बन्दुक पड्केपछि नयाँ चामल

‘न्वागी’ लाई पर्वका रूपमा मनाउने चलन

(दोभान, पाल्पा) — असोजबाट पाक्न थालेको धान यहाँका बासिन्दाले कात्तिक दोस्रो सातासम्म स्याहारेका थिए । भकारी भरे पनि नयाँ चामलको भात खान मंसिर पहिलो साता पर्खिनुपर्छ । यो यहाँको पुर्ख्यौली चलन हो ।

बन्दुक पड्केपछि नयाँ चामल

तिनाउ गाउँपालिका २ झ्याङलाका १ सय १० परिवारमा यो परम्परा कायम छ । मगर, ब्राहमण, क्षत्रीलगायतले अहिलेसम्म यो परम्परा धानेका छन् । नयाँ धानको चामल खाँड देवीलाई नचढाउँदासम्म भान्सामा पाक्दैन । गाउँको सिरानमा रहेको मन्दिरमा मंसिर १, ३ वा ५ गते चामल चढाउने परम्परा छ । त्यसपछि मात्र उनीहरूले नयाँ चामलको भात खान्छन् । यसलाई ‘न्वागी’ खाने संस्कृतिका रूपमा विकास गरेका छन् ।


‘कतिबेला मन्दिरमा बन्दुक पड्केको आवाज आउँछ भनेर सबै चनाखो भएर बस्छन्,’ स्थानीय दमयन्ती गिरीले भनिन्, ‘त्यसपछि मात्र नयाँ चामल पकाउन सुरु हुन्छ ।’ देवीलाई नचढाई खान हुन्न भन्ने मान्यता छ । स्थानीयले बनाएको भरुवा बन्दुक मन्दिरमा राखिएको छ । बर्सेनि पूजाका दिनमा त्यही पड्काइन्छ । बन्दुकको आवाज सुनेपछि सबैका घरमा नयाँ चामलको भात पकाइन्छ ।


गिरीका अनुसार दही, चामल, केरा र सिलाम राखेर प्रसाद बनाइन्छ । उक्त प्रसादको टीका लगाउने र सबैले खाने गर्छन् । त्यस दिन आउने पाहुनालाई यसैले पहिलो सत्कार गरिन्छ । यहाँका सबै घरधुरीले दही/चामल मन्दिरमा लगेर चढाउनै पर्छ । ‘जुठा, सुत्केरा परे पनि पछि लगेर चढाएर बल्ल खानुपर्छ,’ गिरीले भनिन्, ‘त्यसैले हाम्रो गाउँको चलन भुल्न सकिएन ।’ पहिलादेखिको चलन अहिलेको पुस्ताले पनि निरन्तरता दिएको छ ।


चामल चढाउनुका साथै सबै घरले बलि दिने पनि चलन छ । भाले, बोका, पाडो बलि दिन्छन् । सबै घरधुरीले प्रसाद लैजान्छन् । पन्चेबाजा बजाएर पूजाआजा सक्छन् । ‘न्वागी’का दिन घरमा पाहुना बोलाएर रमाइलो गर्ने चलन पनि छ ।


स्थानीय अगुवा रुद्रबहादुर जीसीका अनुसार रैनादेवी छहरा ३ भुवनपोखरीको गोखुङगाको रैनादेवी मन्दिरमा पूजा गर्नुअघि खाँड देवी मन्दिरमा पूजा गर्नुपर्छ भन्ने मान्यता छ । यस वर्ष मंसिर १ गते उनीहरूले ‘न्वागी’ खाए । केही वर्षयता उनीहरूले यसलाई महोत्सवका रूपमा मनाउने गरेका छन् । गच्छे र भाकल अनुसार पशु बलि दिन्छन् । ‘कुखुराको भाले अनिवार्य चढाउने चलन छ,’ स्थानीय चोपलाल गिरीले भने, ‘कतिपयले भाकल गर्ने र पशु बलि दिने चलन पनि छ ।’

५ वर्षयता यसलाई सांस्कृतिक पर्वका रूपमा मनाउन सुरु गरिएको हो । यसअघि उनीहरू सबैले चामल चढाउने, घरमा पाहुना खुवाउने र टोलटोलमा जम्मा भएर रमाइलो गर्ने मात्र गर्थे । पछिल्लो समय यसको महत्त्वका विषयमा जानकारी गराउन महोत्सव नै आयोजना गर्न थालेका छन् । ध्वजापताका, केराको थाम गाडेर पाहुना स्वागत गर्ने चलन छ । घरघरमा पानीको घडा राख्ने र आउने पाहुनालाई प्रसाद खुवाउने गर्छन् । तिनाउ गाउँपालिका र वडाले पनि केही सहयोग दिएको छ ।


तिनाउ २ का वडाध्यक्ष राजेश श्रेष्ठले मन्दिर पुन:निर्माणलगायत भौतिक संरचना निर्माणमा सहयोग गरेर संस्कृति जोगाउन पहल गरेको बताए । ‘संस्कृतिलाई महोत्सवका रूपमा अगाडि बढाएको पाइएको छ,’ उनले भने, ‘त्यसैले वडाले पनि केही सहयोग गरेको हो ।’


सबै घरमा रमाइलो र खुसी अनुभव गर्ने ‘न्वागी’ पर्व भएको उनले बताए । यहाँ पहिले मगर समुदायका केही घर थिए । पछि गुल्मी, प्यूठान, बागलुङलगायत स्थानबाट बसाइँ सरेर आए । अहिले यहाँ बाक्लो बस्ती छ ।

प्रकाशित : मंसिर २, २०७५ १६:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?