३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

भैलो रकमले न्यानो कपडा

काशीराम डाँगी

रोल्पा — पश्चिम रोल्पाको जिनाबाङका युवाले तिहारमा देउसीभैलोबाट संकलन गरिएको रकमले विद्यार्थीलाई न्यानो कपडा बाँडेका छन् ।

गंगादेव गाउँपालिकास्थित सिद्धार्थ माध्यमिक विद्यालयका पूर्वविद्यार्थीहरूको पहलमा खेलिएको देउसीभैलोबाट उठेको रकमले विद्यालयको ३१ औं वार्षिक उत्सवमा अनाथ र असहाय बालबालिकालाई कपडा बाँडिएको हो ।


जिनाबाङ क्षेत्रभरि देउसीभैलो खेलेर संकलन गरिएको ३० हजार ४ सय ४५ रुपैयाँबाट बालबालिकालाई दिन कपडा खरिद गरिएको शिक्षक प्रेमबहादुर वलीले बताए । उनले उक्त रकमबाट ४५ जना अनाथ, अपांग र असहाय बालबालिकालाई कपडा खरिद गरिएको जनाए ।


सबैभन्दा गरिब बालबालिकाको छनोटपछि हरेकलाई एक/एक जोर स्वीटर र टोपी दिइएको छ । विद्यालयलाई नमुना बनाउने अभियानका संंयोजकसमेत रहेका शिक्षक वलीले देउसीभैलो खेल्न २६ पूर्वविद्यार्थी सहभागी भएको बताए । अधिकांश पूर्वविद्यार्थी वैदेशिक रोजगारीका सिलसिलामा मुलुकबाहिर रहेकामा तिहार मनाउन घरमा आएका बेला उनीहरूले सहयोग जुटाउन देउसीभैलो खेलेका हुन् ।


पूर्वविद्यार्थीले संकलन गरेको रकम विद्यालयका अपांग बालक गणेश खड्काको उपचारमा पनि खर्च गरिएको छ । उनलाई २ हजार रकम प्रदान गरेर उपचारका लागि अस्पताल पठाइएको छ ।


पूर्वविद्यार्थीको असल कार्यबाट गाउँले प्रभावित भएको प्रधानाध्यापक वीरेन्द्र खड्काले बताए । उक्त कार्यक्रम गर्दा अभिभावक र गाउँले समेत भेला भएका थिए । विद्यालयलाई नमुना बनाउन स्थानीयदेखि विदेशीसम्मले सहयोग गरेका छन् ।


अघिल्लो वर्ष गैरआवासीय नेपालीको सहयोगमा ४ कोठे पक्की भवनसमेत निर्माण गरिएको थियो । गैरआवासीय नेपाली संघ साउदी र स्वीडेनले भवन बनाउन सहयोग गरेका हुन् । २ वर्षदेखि नमुना विद्यालय बनाउने अभियान सुरु भएको छ ।


रोजगारीका सिलसिलामा विदेश गएकाले अनाथ, जेहेन्दार, अपांग र गरिब विद्यार्थीलाई आर्थिक र शैक्षिक सहयोग गर्दै आएका छन् । उनीहरूको सहयोगमा हाल ५३ विद्यार्थीलाई मासिक छात्रवृत्तिसमेत प्रदान गरिँदै आएको छ ।


भवन अभाव

अति गरिब र अपांग बालबालिकालाई शिक्षा दिलाउन विद्यालयले एउटा आवासीय भवन बनाउने योजना अघि सारेको छ । तर, आर्थिक अभावले योजना अलपत्र रहेको शिक्षक वलीले सुनाए । ‘अनाथ र विपन्न बालबालिकालाई आवासीय सुविधा प्रदान गर्न र उनीहरूले शिक्षा प्राप्त गर्ने अधिकारको रक्षा गर्न हामी लागिपरेका छौं,’ नमुना विद्यालयका संयोजक शिक्षक वलीले भने, ‘आवासीय सुविधा दिएर चौबीसै घण्टा उनीहरूको पठनपाठनमा सहयोग पुर्‍याउन सके राम्रो हुन्थ्यो ।’


उक्त विद्यालयमा एक दर्जन अनाथ र असहाय बालबालिका अध्ययनरत छन् । ठूलै संख्यामा विद्यार्थीहरू विद्यालयबाहिरै छन् ।


त्यसका लागि स्थानीय तहसँग बारम्बार आग्रह गर्दै आएको समेत उनले बताए । आवासीय सुविधा नभएकाले अनाथ र असहाय बालबालिका अभिभावकविहीन भएर बस्दै आएका छन् । उनीहरू विद्यालयमा अनियमित रूपमा आउँछन् । उनका अनुसार खेल मैदान बनाउँदा २९ लाख रुपैयाँ खर्च भएकाले विद्यालय ऋणमा छ ।


हालसम्म मैदान निर्माणका लागि खेलकुद मन्त्रालयबाट ५ लाख र गाउँपालिकाले ५ लाख ५० हजार रुपैयाँ मात्रै उपलब्ध गराएको छ । जनप्रतिनिधिले आफ्नै गाउँमा रहेको विद्यालयको अवस्थाबारे चासो नदेखाएकामा स्थानीय चिन्तित छन् । उक्त विद्यालयको स्थापना २०४५ मा भएको थियो । हाल गंगादेव गाउँपालिकामा ३९ वटा विद्यालय छन् ।

प्रकाशित : मंसिर ३, २०७५ १०:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?