कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

कामै नगरी भुक्तानी

कमल पन्थी

बर्दिया — नेपाल–भारत सीमा सुरजपुरस्थित सर्यू नदीमा पुल निर्माणको काम नगरी ठेकेदार कम्पनीले ३ करोड रुपैयाँ भुक्तानी बुझेपछि स्थानीय प्रशासनले छानबिन सुरु गरेको छ ।

हुलाकी आयोजनाको मिलेमतोमा ठेकेदार कम्पनीलाई भुक्तानी दिएपछि छानबिन सुरु भएको हो ।

प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले यसबारे अनुसन्धान प्रक्रिया अघि बढाएको बताए ।


ठेकेदार कम्पनीले हुलाकी आयोजना नेपालगन्जसित २०७५ असोज मसान्तभित्र काम सम्पन्न गर्ने सम्झौता गरेको थियो । बीटी शिवराम जेभीले ७ करोड रुपैयाँमा ठेक्का लिएको थियो । ०७३ असार मसान्तमा हुलाकी आयोजनाबाट ठेक्का लिएको कम्पनीले कामै नगरी रनिङ बिलबापत रकम भुक्तानी लिएको हो । ठेकेदार कम्पनीले एउटा पायल निर्माण गरेको दाबी गरेको छ । त्यसबापत ठेकेदार कम्पनीलाई ३ करोडभन्दा बढी रकम दिएको आयोजनाले जनाएको छ ।


तर, सर्यूमा पायल निर्माण भएको देखिँदैन । ४० मिटर लम्बाइ र दुईवटा पिल्लर निर्माण गर्नुपर्नेमा निर्माण कम्पनी ५ महिनादेखि सम्पर्कमै आएको छैन । सम्झौता अवधि सकिए पनि ठेकेदार सम्पर्कमा नआएको हुलाकी आयोजनाले जनाएको छ ।


भारतीय सीमा नाका मूर्तिहा जोड्ने उक्त पुल निर्माणको ठेक्का लिएको ठेकेदार कम्पनीले काम गर्न नसकेपछि स्थानीय मुन्ना शेष नाम गरेका व्यवसायीलाई बेचेको थियो । व्यवसायी शेषले पनि काम गर्न सकेका छैनन् ।


निर्माण कम्पनीका सञ्चालक सूर्य सापकोटाले पुलको ठेक्का अर्को कम्पनीलाई नबेचेको दाबी गरे । पुलको पायल तयार भएकाले कामअनुसार ३ करोड रुपैयाँ रनिङ बिलको रकम भुक्तानी लिएको बताए । स्थानीय व्यवसायी शेषका सहकर्मी समिम अन्सारीले ७५ प्रतिशत रकम हाम्रो र २५ प्रतिशत शिवराम जेभीको जिम्मा रहने गरी ठेक्का खरिद गरी लिखित सहमतिमा सम्झौता भएको बताए । ‘गत साउनमा आएको बाढीले कामै गर्न दिएन’ उनले भने, ‘खोलामा पानी डाइभर्सन गरी पुल निर्माणको काम गरिँदै आए पनि समय लाग्ने भएको छ ।’


पुल निर्माण नहुँदा हुलाकी सडकले काम गर्न सकेको छैन । निर्माणाधीन पुलदेखि करिब ६ सय मिटरको दूरीमा दशगजा रहेको छ । दशगजासम्म सडक निर्माण गर्नु परेकाले निर्माण सामग्री पुर्‍याउन समस्या भएको हुलाकी सडकका निर्माण व्यवसायी तुलसी भण्डारीले बताए ।

प्रकाशित : मंसिर ३, २०७५ १०:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?