१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

बुटवलमा झन्डा आकारको सभाहल

बर्सेनि अस्थायी संरचना निर्माण गर्नुपर्ने झन्झटको अन्त्य
घनश्याम गौतम

रूपन्देही — प्रत्येक वर्ष आधा दर्जन मेला/महोत्सव सञ्चालन हुने रूपन्देहीको बुटवल मण्डपमा झन्डा आकारको अन्तर्राष्ट्रिय सभाहलको निर्माण भइरहेको छ ।

तीन वर्षभित्र सभाहल तथा प्रदर्शनी केन्द्रको निर्माण पूरा गर्ने लक्ष्य छ । जसका लागि पहिलो चरणका संरचना निर्माण ६० प्रतिशत सकिएका छन् । दोस्रो चरणको सम्झौता भइसकेको छ । तेस्रो चरणका लागि ग्लोबल टेन्डर भएर सम्झौताको प्रक्रियामा छ । १६ बिघा क्षेत्रफलमा बन्ने उक्त संरचना राष्ट्रिय झन्डा स्वरूपमा हुनेछ ।


अहिले सूर्यको आकारको निर्माण भइरहेको छ । दोस्रो चरणमा चन्द्रमाको स्वरूपमा निर्माण पूरा हुनेछ । सभाहल भव्य, सुविधासम्पन्न र आकर्षक हुनेछ । सहरी विकास तथा भवन निर्माण विभागले यसको निर्माण गरिरहेको छ । यसको अनुमानित लागत २ अर्ब ३६ करोड रुपैयाँ छ ।


सूर्यतर्फको निर्माणको ६० प्रतिशत काम सकिएको सभाहल तथा प्रदर्शनी केन्द्र निर्माण कार्यान्वयन इकाइका प्रमुख इन्जिनियर शिखर लामा तामाङले बताए । त्यसमा बालकोनीसहित १ हजार १ सय १४ दर्शक क्षमताको मुख्य अडिटोरियम हल छ ।


२३ करोड ७६ लाख लागतमा तीनवटा ब्लकका रूपमा निर्माणको काम भइरहेको छ । ‘यसमा नेपालको झन्डाको त्रिकोणमध्येको एउटा कोण र सूर्यको भाग निर्माण भइरहेको छ,’ उनले भने, ‘तीनवटै ब्लक निर्माण सम्पन्न हुँदा आकर्षक देखिनेछ ।’


तामाङका अनुसार त्यसमा २ सेमिनार हल, भीआईपी हल, अन्तर्राष्ट्रिय सम्मेलनका बेला आवश्यक पर्ने ६ भाषामा एकैसाथ अनुवाद गर्न मिल्ने प्रविधि र पर्दा हुनेछन् । ध्वनि नियन्त्रण, स्थानीय चिनारी दिने सामग्रीका पसल, विशिष्ट कक्ष पनि चारतले भवनभित्रै रहनेछन् । मुख्य हलबाहेक त्यसभित्रका अन्य हल ६० देखि ३ सय जनाको क्षमताका हुनेछन् । केन्द्रको संरचना निर्माण ०७१ माघदेखि सुरु भएको हो ।


दोस्रो चरणको संरचनामा चन्द्रमाको स्वरूप निर्माण हुँदैछ । ८० करोड ३१ लाख रुपैयाँ निर्माण लागत रहेको चन्द्रमाको स्वरूपमा झन्डाको अर्को त्रिकोण पनि तयार हुनेछ । त्यसमा पहिलो तलामा ७२ देखि १ सय २६ सिट क्षमताका तीन हल बन्नेछन् ।


प्राथमिक उपचार कक्ष, ससाना प्रदर्शनीका लागि २ हल, नाली, शौचालय, आवास, आकर्षक बगैंचा, आकासे पानी संकलन पोखरी र त्यसको व्यवस्थापन पनि तयार हुनेछन् । २ पांग्रे ५ सय र ४ पांग्रे ५ सय गरी १ हजार क्षमताको पार्किङ स्थल बन्नेछ ।


तेस्रो चरणको निर्माणका लागि पनि ग्लोबल टेन्डर भइसकेको छ । विदेशी कम्पनीसँग संयुक्तमा ८ र नेपालीसहित ९ कम्पनीले निर्माणका लागि दिएको आवेदन स्वीकृतिको प्रक्रियामा रहेको तामाङले बताए । तेस्रो चरणको निर्माण कार्य सम्झौता भएको २७ महिनामै सकिनेछ ।


१ अर्ब ३१ करोड अनुमानित लागत रहेको तेस्रो चरणमा ४ सय ५० स्टल क्षमताको व्यापारिक प्रदर्शनी केन्द्र निर्माण हुनेछ । केन्द्रनजिकै हेलिप्याड रहनेछ । सभा/सम्मेलनमा आउने विशिष्ट व्यक्ति हेलिकप्टरबाट सीधै सम्मेलन केन्द्रमा पुग्न सक्नेछन् । १६ मध्ये ९ बिघामा सभाहल र ६ बिघामा प्रदर्शनी केन्द्र रहने कार्यान्वयन एकाइ कार्यालयले जनाएको छ ।


सभाहल र प्रदर्शनी केन्द्रमा भीआईपी र सर्वसाधारण प्रवेश र बाहिरिनका लागि ४ मुख्य प्रवेशद्वार हुनेछन् । केन्द्रको मध्यभागमा बुद्धको मूर्ति र पोखरीको बीचमा गणतन्त्र स्तम्भ राखिनेछ । हरियाली रूख र बगैंचाले सभाहल र केन्द्र थप रमणीय हुनेछ ।


प्रदेश ५ को अस्थायी राजधानी तोकिएको बुटवलमा निर्माणाधीन अन्तर्राष्ट्रिय स्तरको सभाहल र प्रदर्शनी केन्द्रले तीव्र रूपमा व्यापारिक केन्द्रका रूपमा अघि बढेको बुटवललाई व्यापार र पर्यटनका लागि महत्त्वपूर्ण टेवा पुग्ने बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले बताए ।


‘यहाँ निर्माणाधीन सभाहल, बेलहियादेखि बुटवलसम्मको ६ लेन सडक र भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थलले यस क्षेत्रलाई व्यापारिक केन्द्र र पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सघाउ पुर्‍याउनेछ,’ उनले भने, ‘गौतम बुद्धको जन्मस्थल अब अन्तर्राष्ट्रिय पर्यटकको हब बन्ने निश्चित छ ।’


लुम्बिनीमा विदेशी पर्यटकको संख्या बढाउन र बुद्धको जन्मस्थलको प्रचारप्रसारमा समेत ठूलो सहयोग पुग्ने उनले बताए । पर्यटकीय क्षेत्रको विकासँगै निर्माणाधीन प्रदर्शनी केन्द्रले मेला तथा प्रदर्शनीका लागि बर्सेनि बुटवल मण्डपमा अस्थायी संरचना निर्माण गर्दा खर्च हुने व्यवसायीको २ करोडभन्दा बढीको आर्थिक भार पनि कम हुनेछ ।

प्रकाशित : मंसिर ४, २०७५ १०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?