मह काढ्ने चटारो

प्यूठान — तराईबाट मौरी चराउन प्यूठान आएका किसानलाई हिजोआज मह काढ्ने चटारो छ । जिल्लाको सरुमारानी गाउँपालिकाको बडडाँडा, मोतीपुर, स्वर्गद्वारी नगरपालिकाको गोठीबाङ, अमलटार, प्यूठान नगरपालिकाको मरन्ठाना, बिजुवार, टिकुरी, बाग्दुला, खानीखोलालगायत क्षेत्रमा मौरीका घार राखेका किसान अहिले मह काढ्न व्यस्त छन् । 

मह काढ्ने चटारो

कात्तिक पहिलो सातादेखि प्यूठान नगरपालिका ४ ढाडमग्रामा बसेर मौरी चराइरहेको पर्सा, चन्द्रपुर नगरपालिका ८ का किसान तरुण खड्काले बताए । ‘दुई पटक मह निकालिसकें,’ उनले भने, ‘यस क्षेत्रमा प्रशस्त चिउरीका बोट भएकाले मह धेरै राम्रो उत्पादन भइरहेको छ ।’


एक घारबाट १०/१२ किलोसम्म मह निस्किरहेको उनले बताए । मंसिर अन्तिमसम्म प्यूठानमै रहने उनले बताए । दुई सय घार मौरी राखेर बसेका उनले मह निकाल्न झन्झटिलो हुने भएकाले आलोपालो मह काढ्ने गरेको बताए । ‘आलोपालो गर्दै मह काढ्न थालेको झन्डै १० दिन भो,’ खड्काले भने, ‘हिजोआज मह काढ्न भ्याइनभ्याइ छ ।’ जंगलमा ५० प्रतिशत मात्र चिउरी फुलेकाले अझै दुई–चार पटकसम्म मह निस्कने आफूहरूले अनुमान गरेको उनले बताए ।


मौरी चराउन ल्याएदेखि पानी नपरेकाले धेरै राम्रो मह उत्पादन भएको अर्का किसान कमानसिङ गयलमगरले बताए । ‘मौरी पाल्न थालेको ५ वर्ष भो,’ उनले भने, ‘यसपालिजस्तो राम्रो मह अरू वर्ष उत्पादन भएको थिएन ।’ उनले सबै चाका रसले भरिभराउ भएको बताए । तिहार मानेलगत्तैबाट मह काढ्नमा व्यस्त रहेको उनले बताए ।


मौरीलाई अरिङगालले नोक्सान नगरेकाले मौरी पनि राम्रो फैलिएका छन् । ‘राम्रो उत्पादन छ,’ उनले भने, ‘अब कहाँ बिक्री गर्ने भन्ने समस्या भएको छ ।’ उनले यसपालि धेरै मह उत्पादन भएकाले बजार खोज्न केही मिहिनेत गर्नपर्ने बताए ।


कात्तिक/मंसिरमा पानी नपर्दा मह उत्पादन राम्रो हुने किसानहरूको अनुभव छ । चिउरीको रस पानीले नबगाउँदा मौरीले मह राम्रो उत्पादन गर्ने किसानहरू बताउँछन् ।


असोजको अन्तिम सातादेखि मौरी चराउन बारा, चितवन र पर्साका दर्जनौं किसान प्यूठान उकालो लागेका छन् । उनीहरू मंसिरभरि प्यूठान रहनेछन् ।

प्रकाशित : मंसिर ४, २०७५ १०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?