कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०४

बजेट खर्च नभएपछि मुख्यमन्त्री असन्तुष्ट

जे जस्तो छ, त्यसबाटै कार्यान्वयन सुरु गर्नुस् : मुख्यमन्त्री
घनश्याम गौतम

रूपन्देही — बजेट कार्यान्वयन गर्ने संरचना अभावले प्रदेश ५ सरकारको पहिलो चौमासिकमा पुँजीगततर्फ ९ प्रतिशत मात्र बजेट खर्च भएको छ ।

बजेट खर्च नभएपछि मुख्यमन्त्री असन्तुष्ट

मुख्यमन्त्री कार्यालयसहित ७ मन्त्रालयमध्ये भौतिक पूर्वाधार विकास, सामाजिक विकास र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको खर्च प्रतिशत शून्य पाइएको छ । बजेट खर्च गर्न नसकेपछि मुख्यमन्त्री शंकर पोखरेलले सबै मन्त्रालयको कार्य प्रगतिप्रति असन्तुष्टि जनाएका छन् ।


मुख्यमन्त्री कार्यालयले पहिलो चौमासिकको प्रगति विवरणसहित आइतबारदेखि मन्त्रालयगत समीक्षा गरेको थियो । समीक्षामा सम्बन्धित मन्त्रालयका मन्त्री, सचिव, उपसचिवसहितको उपस्थिति छ । साउन पहिलो साता सबै मन्त्रालयलाई वार्षिक कार्ययोजना तयार गर्न निर्देशन दिएका मुख्यमन्त्री पोखरेलले साउन दोस्रो साता कार्ययोजनामाथि छलफल गरेका थिए ।


त्यही कार्ययोजना अनुसार पहिलो चौमासिकमा प्रगति हुन नसकेपछि मुख्यमन्त्री असन्तुष्ट बनेका हुन् । सबै मन्त्रालयको प्रगति समीक्षामा आफैं उपस्थित भएका मुख्यमन्त्री पोखरेलले मन्त्री र कर्मचारीप्रति तीव्र असन्तुष्टि व्यक्त गरेको स्रोतले बतायो ।


समीक्षामा मन्त्री र कर्मचारीले पूर्वाधार संरचना, कर्मचारी, कानुन र कार्यविधि अभावले बजेट कार्यान्वयन हुन नसकेको तर्क गरेका छन् । ‘मुख्यमन्त्रीले मन्त्रालयहरूले पेस गरेको कार्ययोजनामा धेरै नै असन्तुष्टि व्यक्त गर्नुभएको छ,’ मुख्यमन्त्री कार्यालयका एक उपसचिवले भने, ‘बजेट खर्च गर्न नसक्नु मन्त्री र कर्मचारीको बहानाबाजी मात्र भएको उहाँको टिप्पणी थियो ।’


पूर्वाधार र जनशक्ति अभावका नाममा अलमल नगर्नसमेत निर्देशन दिएको उनले बताए । असारमै २८ अर्ब ९ करोडको बजेट पारित गरेको सरकारले पहिलो चौमासिकमा ९ प्रतिशत मात्र पुँजीगत बजेट खर्च गरेको छ । चालु खर्च पनि १५ प्रतिशत मात्र छ । प्रदेश ५ लेखा नियन्त्रक कार्यालयका प्रमुख दीपक ज्ञवालीका अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पुँजीगततर्फ २६ लाख ६९ हजार, आर्थिक मामिला तथा योजना मन्त्रालयले ७ लाख ५३ हजार रुपैयाँ मात्र खर्च गरेका छन् ।


दुवै मन्त्रालयको नेतृत्व मुख्यमन्त्री पोखरेलले सम्हाल्दै आएका छन् । त्यस्तै आन्तरिक मामिलाले ९५ लाख, उद्योग, पर्यटन, वन तथा वातावरणले ४ लाख ३३ हजार रुपैयाँ खर्च गरेका छन् । सबैभन्दा धेरै १३ अर्ब बजेट रहेको भौतिक पूर्वाधार विकास मन्त्रालयले अहिलेसम्म पुँजीगततर्फ शून्य बजेट खर्च गरेको छ । सामाजिक विकास र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको पुँजीगत बजेट पनि शून्य प्रतिशत छ । चालुतर्फ भने भौतिकले १ करोड २७ लाख, सामाजिक विकासले १ करोड ४९ लाख र भूमि व्यवस्थाले १ करोड २२ लाख खर्च गरेका छन् ।


सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले भने सरकारले सबै मन्त्रालयको समीक्षा गरेको र अबको १५ दिनभित्र नै बजेट कार्यान्वयनमा जाने गरी मुख्यमन्त्रीले निर्देशन दिएको बताए । केही जटिलता भए पनि काम अघि बढ्ने उनको दाबी छ । ‘सबै मन्त्रालयलाई अबको १५ दिनभित्र बजेट कार्यान्वयनमा लैजाने गरी निर्देशन भएको छ,’ उनले भने, ‘अब सरकार कुनै कुराले अलमलमा पर्दैन ।’


मुख्यमन्त्री पोखरेलले सबै मन्त्रालयलाई अबको १५ दिनभित्र सबै संयन्त्र तयार गर्न निर्देशन दिएका छन् । मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले संगठन संरचनाको अभाव टार्न तत्कालका लागि डिभिजनको काम निर्देशनालयले गर्ने, निर्देशनालय पनि नभए मन्त्रालयले गर्ने र कर्मचारी अभावलाई भएकै कर्मचारीबाट व्यवस्थापन गर्ने गरी निर्देशन दिएको बताए । त्यस्तै मुख्यमन्त्रीले ठूला योजनाको डीपीआर तयार गर्ने काम मन्त्री र सचिवकै प्रत्यक्ष निगरानीमा गर्न/गराउन पनि निर्देशन

दिएका छन् ।


सरकारले पहिलो चौमासिकमा सबै तयारी गरेकाले दोस्रो चौमासिकको सुरुबाटै बजेट कार्यान्वयनमा जाने गरी तयारी भइरहेको प्रदेश योजना आयोगका उपाध्यक्ष डाक्टर प्रकाशकुमार श्रेष्ठले बताए । उनले पहिलो चौमासिकमा बजेट कार्यान्वयन सम्भव नभएकाले दोस्रो चौमासिकबाट तयारी गरिएको दाबी गरे । ‘पहिलो चौमासिक योजना बनाउने र दोस्रो चौमासिकबाट कार्यान्वयनमा लैजाने हो,’ उनले भने, ‘त्यसैले, सरकारले अब बजेट कार्यान्वयनको तयारी गरेको छ ।’ मंसिर महिनाभरि ठेक्का/टेन्डर

आह्वानका प्रक्रिया सुरु हुने उनले बताए ।

प्रकाशित : मंसिर ५, २०७५ १२:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?