१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

राजमार्ग अवरोध

बसको ठक्करले किशोरीको मृत्यु भएपछि पीडित परिवार र स्थानीयद्वारा दुई दिन राजमार्ग ठप्प
कमल पन्थी

बर्दिया — बसको ठक्करबाट सोमबार बिहान किशोरीको मृत्यु भएपछि स्थानीयले दुई दिनदेखि पूर्व–पश्चिम राजमार्गअन्तर्गत ठाकुरबाबा नगरपालिका २ रानीपुरमा अवरोध पुर्‍याएका छन् ।

मंगलबार साँझसम्म सयौं यात्रु अलपत्र परेका छन् भने दर्जनौं गाडी रोकिएका छन् ।


मृतकका आफन्त र स्थानीयले सोमबार १० घण्टा राजमार्ग ठप्प बनाएका थिए । मध्यरात अवरोध हटाउन प्रहरीले लाठीचार्ज गरेको थियो । त्यस क्रममा दुई प्रहरीसहित केही यात्रु घाइते भएका थिए । अवरोध हटाएर राति अलपत्र परेका सवारीका साधन गन्तव्यतर्फ पठाइएको थियो । मंगलबार बिहान गाउँगाउँबाट आएका स्थानीय पुन: राजमार्गमा धर्नामा बसेका छन् ।


महिला र बालबालिकाले सडकमा सुतेर प्रदर्शन गरेको स्थानीय सुदीप अधिकारीले बताए । राति अवरोध हटे पनि बिहानबाट राजमार्ग पुन: ठप्प भएको छ । कालिकोटबाट कैलालीको टीकापुर जाँदै गरेको ना४ख ५३७५ नम्बरको बसले ठक्कर दिँदा एक किशोरीको घटनास्थलमा मृत्यु भएको थियो । ठक्करबाट १४ वर्षीया निर्मला चौधरीको मृत्यु भएपछि स्थानीय र पीडित परिवारले चक्काजाम गरेका थिए । दोषीमाथि

कारबाही र २० लाख रुपैयाँ क्षतिपूर्ति माग गर्दै दुई दिनदेखि उनीहरूले चक्काजाम गरेका हुन् ।

क्षतिपूर्तिका सम्बन्धमा छलफल गर्न सुदूरपश्चिमाञ्चल यातायात समितिका पदाधिकारी नआएपछि स्थानीय र पीडित परिवार आक्रोशित भएका थिए । मंगलबार साँझ केहीबेर चक्काजाम खोलिए पनि सरोकारवालाले वास्ता नगरेपछि स्थानीयले फेरि गाडी रोकेका छन् । दिनभर शव सडकमा राखी विरोध प्रदर्शन गरिएको छ ।


अपराह्न प्रशासनसितको छलफलपछि सुदूरपश्चिमाञ्चल समितिबाहेकका गाडी सञ्चालन गर्न दिने भन्दै शव परीक्षणका लागि नेपालगन्ज लगिएको थियो । बिचल्लीमा परेका यात्रुलाई गन्तव्यतर्फ पुर्‍याउन सोमबार राति प्रहरीले सामान्य बल प्रयोग गरेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए । किशोरी भुरीगाउँस्थित भेरी शिक्षालयमा कक्षा ९ मा अध्ययनरत थिइन् । प्रहरीले बस र चालक कैलाली चुरे गाउँपालिका १ का २५ वर्षीय प्रकाश सिंहलाई नियन्त्रणमा लिएको जनाएको छ ।


क्षतिपूर्तिपछि तनाव अन्त्य

भैरहवा (कास)

पीडित परिवारलाई ५ लाख रुपैयाँ क्षतिपूर्ति र घटनाको सत्यतथ्य सार्वजनिक गर्ने सहमतिपछि भैरहवास्थित सिद्धार्थनगर सिटी अस्पतालमा सोमबार अपराह्नदेखि जारी तनाव अन्त्य भएको छ । हात र कम्मरको जोर्नी भाँचिएपछि उपचार गर्न आएकी तिलोत्तमा नगरपालिका ७ भलवारीकी ६० वर्षीया मनकुमारी रोक्काको शल्यक्रियाका क्रममा मृत्यु भएपछि तनाव भएको थियो ।


मृतकका आफन्तले चिकित्सकको लापरबाहीले मृत्यु भएको दाबी गर्दै घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाहीको माग राख्दै शवसमेत नबुझेर विरोधमा उत्रिएका थिए ।

प्रकाशित : मंसिर ५, २०७५ १२:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?