घोराहीमा फोहोरबाट ग्यास

दाङ — फोहोर व्यवस्थापन सबैभन्दा ठूलो समस्या देखिन्छ । घरआँगन, बजार सबैतिर फोहोरकै समस्या छ । अर्कोतिर चुलोमा ग्यास बाल्न पनि त्यत्तिकै समस्या । भनेका बेला ग्यास नपाइने ।

घोराहीमा फोहोरबाट ग्यास

अब घोराही उपमहानगरपालिकाले भने फालिएको फोहोरबाट ग्यास उत्पादन गर्ने तयारी थालेको छ । अब फोहोर व्यवस्थापनसँगै जिल्लामै ग्यास उत्पादन पनि हुने भएको छ ।


यसबाट नगर सफा हुनुका साथै ऊर्जाको अभाव पूर्ति हुने अपेक्षा गरिएको छ । एक वर्षभित्रै ग्यास उत्पादन गर्ने गरी उपमहानगरपालिकाले नेपाल ऊर्जा विकास कम्पनी प्रालिलाई २० वर्षका लागि जिम्मेवारी सुम्पिएको छ । दुई वर्षको गृहकार्यपछि उपमहानगरपालिका, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र ललितपुर र नेपाल ऊर्जा विकास कम्पनी प्रालि काठमाडौंबीच सोमबार त्रिपक्षीय सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।


२० करोड रुपैयाँको लागतमा ग्यास उद्योग स्थापना हुने नगर प्रमुख नरुलाल चौधरीले बताए । ६० प्रतिशत निजी कम्पनी र ४० प्रतिशत विश्व बैंकको लगानी रहेको छ । घोराही १६ करौती डाँडामा रहेको ल्यान्डफिल साइटमै ग्यास उद्योग स्थापना हुन लागेको उनले बताए । ‘अब तत्काल निर्माणको प्रक्रिया थालेर एक वर्षभित्रै ग्यास उत्पादन सुरु हुन्छ,’ प्रमुख चौधरीले भने, ‘घोराही क्षेत्रबाट उत्पादन भएका कुहिने फोहोरबाट दैनिक १ हजार ३ सय किलो ग्यास र ६ टन प्रांगारिक मल उत्पादन हुनेछ ।’


उत्पादन थालेको ५ वर्षसम्म घोराही उपमहानगरपालिकाले फोहोर संकलन तथा ढुवानी गर्ने र २० वर्षपछि कम्पनीले चालू अवस्थामा हस्तान्तरण गर्ने सम्झौता भएको छ । त्यसैगरी उत्पादनपछि कूल उत्पादनको १ प्रतिशत रोयल्टी रकम कम्पनीले नगरलाई बुझाउनुपर्ने छ भने ५ वर्षपछि छलफलका आधारमा थप व्यवस्था निर्धारण गर्ने सम्झौता भएको छ ।


नगरका तर्फबाट प्रमुख नरुलाल चौधरी, ग्यास उत्पादन कम्पनीका तर्फबाट नेपाल ऊर्जा विकास कम्पनी प्रालिका निर्देशक श्रीराम अधिकारी र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका तर्फबाट कार्यक्रम व्यवस्थापक प्रकाश आर्यालले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।


सम्झौतापत्रमा घोराही उपमहानगरपालिका उपप्रमुख सीता सिग्देल न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत सन्तबहादुर सुनार र सिनियर डिभिजनल इन्जिनियर युवराज पौडेल तथा कम्पनीका तर्फबाट ऊर्जा विकास कम्पनी प्रालिका प्रबन्धक फूलराज चौधरी र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका व्यवसाय विकास अधिकृत दीपक पौडेलले पनि हस्ताक्षर गरेका छन् ।

प्रकाशित : मंसिर ५, २०७५ १२:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?