२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

बर्दघाट औद्योगिक मेला : स्थानीय उत्पादनमा आकर्षण

नवीन पौडेल

परासी — पश्चिम नवलपरासीको बर्दघाटमा सञ्चालन भइरहेको कृषि, पर्यटन तथा औद्योगिक मेलामा स्थानीय उत्पादनमा अवलोकनकर्ताको आकर्षण देखिएको छ ।

बर्दघाट औद्योगिक मेला : स्थानीय उत्पादनमा आकर्षण

ठूला कम्पनीका मालसामानभन्दा स्थानीय हस्तकला र घरेलु उद्योगका उत्पादनमा अवलोकनकर्ताले चासो दिएका छन् ।


बर्दघाट ९ मा रहेको विशाल बहुउदेश्यीय सहकारी संस्था लिमिटेडले कागजको कप उत्पादन गर्दै आइरहेको छ । स्थानीय उद्योग र कागजका कपको फाइदाबारे अधिकांश उपभोक्ता जानकार थिएनन् । मेलामा स्टल राखेपछि कागजका कपले धेरैको ध्यान खिचेको छ ।


मेला अवलोकनका लागि बिहीबार सपरिवार पुगेका रमेश लुइँटेलको ध्यान सहकारीको स्टलले तान्यो । वातावरणमैत्री कागजको कप देखेपछि उनलाई सहकारी उत्पादनमुखी काममा लागेकामा खुसी लाग्यो । ‘प्लास्टिकको कपमा चिया तथा तातो पदार्थ पिउनु हानिकारक मानिन्छ,’ उनले भने, ‘आफ्नै ठाउँमा वातावरणमैत्री कप उत्पादन हुँदा खुसी लागेको छ । यस्ता उत्पादन प्रयोग गरेर प्रोत्साहन गर्नुपर्छ ।’ कप उत्पादन गर्ने सहकारीलाई यस्तो मेला उत्पादनको बजारीकरण र प्रचारप्रसारका लागि राम्रो अवसर भएको छ ।


बुटवलबाट मेलामा अचार बेच्न आइपुगेका केशव ज्ञवालीको स्टलले धेरै ग्राहक आकर्षित गरिरहेको छ । स्टलमा रहेका खुर्सानीका अचारमा अवलोकनकर्ताले बढी चासो दिने गरेका छन् । अचार बनाउने तालिमका प्रशिक्षक रहेका उनलाई स्थानीयले अचार बनाउने तरिका सोध्ने र आफूहरूले पनि सिकाउने गरेको ज्ञवालीले बताए । मसला राख्ने, तेलको मात्रा र तरिकाबारे जिज्ञासा राख्ने गरेका छन् । ‘खुर्सानी, लसुन, लप्सी र मिक्स अचारले सबैको ध्यान खिचेको छ,’ उनले भने, ‘महिलाले अचार किन्ने र बनाउने तरिका सिक्न खोज्छन् ।’


स्थानीय कलासंस्कृति, विभिन्न जातजातिको मौलिक परिकारमा बढी घुइँचो लागेको छ । ठूला कम्पनीका विभिन्न माध्यमले विज्ञापन देखेका आधारमा जानकारी पाइए पनि हस्तकला, कुटिर उद्योगबाट उत्पादन हुने वस्तुको बजारीकरण नहुँदा अधिकांशलाई पत्तो हुँदैन । फुर्सदको समयमा घरमै बसेर पनि सामान उत्पादन गरेर आम्दानी लिन सकिन्छ भन्नेबारे जानकारी नभएकालाई यस्ता मेला तथा महोत्सव जानकारीको अवसर हुने थलोका रूपमा विकास भएको छ ।


‘ठूला कम्पनीका सामान मात्र राखेर पुँजी बाहिर पठाउनुभन्दा स्थानीय उत्पादन र कृषिलाई प्राथमिकतामा राखेका छौं,’ मेलाका संयोजक मीनराज शर्माले भने, ‘अवलोकनकर्ताको पनि स्थानीय उत्पादनमा बढी घुइँचो देखेका छाैं ।’


मंसिर ११ गतेसम्म चल्ने मेलामा बाल उद्यान, कृषि प्रदर्शनी र व्यापारिक स्टलहरू राखिएको छ । झन्डै २ सय व्यापारिक स्टल रहेको मेलामा करिब २ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा छ । शैक्षिक, स्वास्थ्य, बैंक, होटल तथा रेस्टुराँ, बाल उद्यान र विभिन्न सांगीतिक प्रस्तुति दैनिक हुने गर्छन् ।

प्रकाशित : मंसिर ७, २०७५ ०९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?