रानीमहलमा वातावरणमैत्री पार्क
पाल्पा — तत्कालीन खड्गशमशेरले रानी तेजकुमारीको सम्झनामा रानीमहल बनाए । १ सय २५ वर्षअघि निर्माण भएको यसलाइ पूरातत्त्व विभागले १० वर्षका लागि तानसेन नगरपालिकालाई हस्तान्तरण गरेको छ ।
स्थानीय सरकार मातहत आएपछि यसको विकास र प्रचारमा प्रदेश सरकारले चासो दिएको छ । प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरी र पर्यटन, उद्योग, वन तथा वातावरण मन्त्री लीला गिरीले त्यहीं पुगेर अवलोकन गरे ।
प्रदेश सांसद नारायण आचार्य र वीरबहादुर रानाले पर्यटकीय क्षेत्र बनाउन सरकारको ध्यानाकर्षण गराएका थिए । त्यसपछि मन्त्रीद्वयले स्थलगत अनुगमन गरेका हुन् । प्रदेश सांसद, जिल्ला समन्वय समितिका प्रमुख, स्थानीय बासिन्दा, जनप्रतिनिधिसँगको अन्तरक्रियामा मन्त्री गिरीले यसै वर्ष रानीमहलमा वातावरणमैत्री पार्क बनाउन २० लाख रुपैयाँ विनियोजन भएको जनाए ।
यसको प्रचारप्रसार सरकारले गर्ने विश्वास दिलाए । आगामी वर्षको बजेटमा गुरुयोजना निर्माणलाई प्राथमिकतामा दिने बताए । चालू आर्थिक वर्षमै वातावरणमैत्री पार्क निर्माण हुने बताए । ‘यसै वर्ष पार्कको निर्माणकार्य सम्पन्न हुनेछ,’ उनले भने, ‘लुम्बिनीपछिको आकर्षणको केन्द्र बनाउने हाम्रो पहल हुनेछ ।’
अहिले सडक निर्माण अलपत्र छ । तानसेन–रानीमहल पर्यटकीय सडक अन्तर्गत बजेट विनियोजन हुँदै आएको थियो । अघिल्लो आर्थिक वर्षसम्म डिभिजन सडकले संघीय बजेटबाट काम गर्दै आएको हो । यस वर्ष यहाँ पुग्ने सडक प्रदेश मातहत आएको छ । सडकले निर्माण व्यवसायीलाई अघिल्लो वर्षको बिल भुक्तानी गर्न सकेको छैन ।
प्रदेश सांसद आचार्यले भौतिक पूर्वाधारमन्त्री चौधरीलाई यस विषयमा जानकारी गराएको बताए । पर्यटनको सम्भावना, सडक पहुँच लगायतका विषयमा जानकारी गराउन अन्तरक्रिया गरेको उनले बताए । ‘प्रदेश सरकारको आगामी नीति तथा कार्यक्रम र बजेटमा प्राथमिकतामा परोस् भन्ने हाम्रो चाहना हो,’ आचार्यले भने, ‘त्यसैले पनि मन्त्रीहरूलाई अवलोकन गर्न आग्रह गरेका हौं ।’
यहाँसम्म पुग्ने १३ मध्ये ७ किलोमिटर सडक कालोपत्रे भएको छ । ६ किलोमिटर स्तरोन्नति हुन सकेको छैन । ठेक्का लागे पनि विभिन्न बहाना बनाएर ठेकेदारले काम सकेको छैन । यहाँ पुग्ने सडक स्तरोन्नति नभएकाले उल्लेख्य पर्यटक पुग्न नसकेका हुन् । रूरू क्षेत्र रिडी हुँदै रानीमहल पुग्ने कालीगण्डकी कोरिडोरतर्फ १ किलोमिटर क्षेत्र सडक अवरोध छ । करिडोरको ट्रयाकसमेत खुलेको छैन ।
रानीमहललाई स्याङ्जासँग जोड्ने पक्की पुलको काम पूरा भएको छैन । करिडोर सडकको ठेकेदारको लापरबाहीले काम पूरा नभएको हो । ‘यही क्षेत्रमा काम गर्ने ठेकेदारले लापरबाही गर्दा कोही बोलेको छैन,’ स्थानीय लीला भट्टराईले भने, ‘करिडोर खुल्ने हो भने राम्दी र रिडीबाट रानीमहल आउन सक्ने थिए ।’
मर्मतपछि अहिले रानीमहल आकर्षक छ । रानीमहल क्षेत्रमा कालीगण्डकी नदी उत्तरतर्फ बग्ने भएकाले उत्तरवाहिनी पनि भनिन्छ । इतिहासविद् निर्मल श्रेष्ठका अनुसार उत्तरवाहिनीको धार्मिक महत्त्व अधिक हुन्छ । महल विशाल चट्टानमाथि बनेको छ । रानीमहल दरबारको बायाँतर्फको शीत्तलपाटी गण्डकीबाटै उठाइएको छ । दरबार परिसरमा फोहोराका लागि कुँदिएका ढुङ्गाले निर्मित दुईवटा पोखरी छन् । दाहिनेतर्फ पहरा दिने स्थल छ ।
खुड्किलोको बायाँतर्फ एउटै किसिमका शिव र गङ्गाका मन्दिर छन् । युयानीशैलीमा बेलायती इन्जिनियरको डिजाइनमा बनेको इतिहासविद् श्रेष्ठले बताए । दरबार परिसरमा बगैंचा छ । दुई पोखरीले महल आकर्षक देखिन्छ । दरबारको मूलढोकाबाट कुँदिएको ढुङ्गा र इँटाबाट बनाइएका खुड्किला छन् । पहिले प्रसिद्ध मुक्तिनाथ तीर्थ जाने मुख्यद्वार हो । यहाँ तीर्थालुहरूलाई बस्ने सुविधासहितका पौवासमेत छन् ।
प्रकाशित : मंसिर ८, २०७५ ०९:५७