२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

शिक्षक सुधार्दै नगरपालिका

अमृता अनमोल

बुटवल — स्थानीय सरकार संचालन ऐनले विद्यालय तहको शिक्षाको जिम्मेवारी स्थानीय तहलाई दिएको छ । यही अधिकार उपयोग गर्दै गत शैक्षिक सत्रमा रूपन्देहीको सैनामैना नगरपालिकाले कक्षा ८ को परीक्षा संचालन गर्‍यो । उक्त परीक्षामा सामुदायिक विद्यालयबाट ३५ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भए ।

संस्थागत विद्यालयका पनि ४० प्रतिशत विद्यार्थी फेल भए । नगर शिक्षा समितिले प्रधानाध्यापकको बैठक बोलायो । ‘ग्रेस नम्बर’ दिएर अधिकांशलाई कक्षा ९ पठाउने र यसपछि विद्यालय सुधारमा कडाइ गर्ने घोषणा गर्‍यो ।


विद्यालय सुधार अभियान अन्तर्गत सैनामैनामा अहिले शैक्षिक र व्यवस्थापकीय सुधारका काम अघि बढेका छन् । त्यसमा विद्यार्थी होइन, शिक्षक सुधारका अभियान चलेका छन् । ‘शिक्षकले नै मिहिनेत नगर्दा सामुदायिक विद्यालयमा गुणस्तर खस्किएको पुष्टि भयो,’ नगरपालिका प्रमुख चित्रबहादुर कार्कीले भने, ‘यसैले शिक्षाको स्तर सुधार्न शिक्षक सुधार अभियान चलाएका हौं ।’


सामुदायिक विद्यालयलाई राजनीति र आरामको थलो बनाउने शिक्षकको बानी हटाउन सुधारका कार्यक्रम चलेका छन् । यसले शिक्षक स्टाफ रुममा बसेर कक्षा खाली छोडने प्रवृत्ति घटेको छ । विद्यालय छोडेर निजी वा सांगठनिक काममा जाने बानी पनि कम भएको छ ।


शिक्षकले आफूले गर्ने कामको वार्षिक कार्ययोजना बनाउनु पर्ने नियम बनेको छ । यो योजनामा पुग्न दैनिक पाठयोजना बनाउनु पर्छ । कुनै पनि पिरियड विद्यालयले खाली गर्न नपाउने नियम छ । ‘शिक्षकले अल्छी गरे विद्यार्थी पनि अल्छी हुँदा रै’छन् । योजनाविहीन कक्षा र उपलब्धिविहीन पढाइले विद्यार्थी जिज्ञासु र मिहिनेती नहुँदा रहेछन्,’ नगरप्रमुख कार्कीले भने, ‘यसैले दैनिक पाठयोजना बनाएर मात्रै शिक्षक कक्षामा पस्ने बनाएका हौं ।’


पाठ योजना तथा कक्षा क्रियाकलापलगायत शिक्षकका दैनिक गतिविधिको निगरानी विद्यालयका प्रधानाध्यापकले गरेका छन् । शिक्षकहरूसँग कार्यसम्पादन करार गरेर विद्यालय सुधारको काम गरेका छन् । सामुदायिक छाडेर निजी विद्यालय पुगेका विद्यार्थीलाई पुन: सामुदायिकमै फर्काउने योजना बनाएका छन् ।


प्रधानाध्यापकको निगरानी व्यवस्थापन समिति र नगर शिक्षा समितिले गर्ने गरेका छन् । कक्षा ८ मात्रै कमजोर होइन, नगरका विद्यालयमा पास हुने विद्यार्थीको प्रतिशत नै ४५ छ । शैक्षिक स्तर सुधारेर चालु शैक्षिक सत्रमा कम्तीमा ६० प्रतिशत विद्यार्थी उत्तीर्ण गराउने नगरपालिकाको लक्ष्य छ ।


शैक्षिक गुणस्तर सुधार्ने उपाय पत्ता लगाउन सैनामैनाले विज्ञहरूसित छलफल तथा परामर्शसमेत गरेको थियो । विज्ञहरूले बालमैत्री र प्रविधिमैत्री अध्यापन गराउने सुझाव दिएपछि नगरपालिकाले अहिले विद्यालयलाई प्रविधिमैत्री बनाएको छ । यसका लागि नगरका १८ वटा विद्यालयमा १ सय ३ सेट प्रोजेक्टर र ल्यापटप उपलब्ध गराइएको छ ।


नगर शिक्षा अधिकृत धनिश्वर पन्थीका अनुसार सबै विद्यालयका शिक्षकलाई कम्प्युटर चलाउने तालिम दिइएको छ । नेपाली टाइप, पावरप्वाइन्ट, स्लाइड, इन्टरनेटमा अध्यापन सामग्री कसरी खोज्ने विषयमा तालिम लिएका छन् । अहिलेसम्म २ सय ४१ शिक्षकमध्ये १ सय १५ जनाले तालिम लिएका छन् । तालिम लिएका शिक्षकले चालु शैक्षिक सत्रमा कम्तीमा ३ कक्षा प्रोजेक्टरको प्रयोगबाट पढाउनु पर्ने नियम छ ।


आगामी शैक्षिक सत्रमा यो नियममा थप कडाइ गर्ने योजना छ । रामापुर माविका प्रधानाध्यापक कृष्णप्रसाद पौडेलले प्रविधिको प्रयोगले सिकाइ उपलब्धि बढै र अध्यापन सहज हुँदै गएको बताए ।

शिक्षकहरू पाठ योजना लिएर प्रविधिमैत्री पढाइमा लाग्दा विद्यार्थी पनि जिज्ञासु र मिहिनेती बनेका छन् ।


कक्षा छोड्ने विद्यार्थी नियमित हुन थालेका छन् । ‘सरहरूले किताब वा बोर्ड हेरेर पढाउनुभन्दा प्रोजेक्टरबाट पढाउँदा निकै रमाइलो लाग्छ । छिटो बुझिन्छ,’ रामापुर माविकी विद्यार्थी अनिता शर्माले भनिन्, ‘बुझेको कुरा पनि झट्ट बिर्सिंदैन ।’ शिक्षक सुधार अभियानले विद्यार्थीमा आएको सुधारले अभिभावक खुसी छन् । ‘शिक्षकलाई पढाउनु पर्छ र बालबालिकालाई पढ्नु पर्छ भन्ने भावना बढेको छ,’ पश्चिम पर्रोहा माविमा आफ्ना २ छोरी पढाएका अभिभावक हरि भट्टराईले भने, ‘बिनाकारण स्कुल छुट्टी हुने क्रम पनि घटेको छ ।’


शिक्षक सुधार अभियानमा नगरपालिकाले शैक्षिक सुधारका लागि शिक्षकलाई समेत सुविधा थपेको छ । यसअघि दैनिक ७ देखि ८ कक्षा लिने शिक्षकलाई ५ कक्षा पढाए पुग्ने नियम बनाइएको छ ।

अधिकांश विद्यालयमा आधारभूत तहमा ३५ बराबर १ शिक्षक र माध्यमिकमा ४० बराबर १ शिक्षक व्यवस्था गरिएको छ ।


शैक्षिक सुधारका लागि नगरपालिकाले प्राथमिक तहको दरबन्दी र कम शैक्षिक योग्यता भएका प्रधानाध्यापक परिवर्तन गर्ने योजना बनाएको छ । विद्यार्थी संख्या निकै कम भएका विद्यालयलाई नजिकको विद्यालयमा गाभेको छ । यो योजना अन्तर्गत गएको शैक्षिक सत्रमा ६ वटा विद्यालय गाभिएको र चार विद्यालयको तह घटाएको नगरपालिकाले जनाएको छ ।


सुरुआतमा नगरपालिकाले शिक्षक सुधार अभियान थाल्दा कतिपय विद्यालयका शिक्षक विरोधमा उत्रिएका थिए । अभियानले विद्यालयमा सुधार देखिंदै गएपछि भने विरोध गर्ने नै सुधार अभियानमा लागेको नगरप्रमुख कार्कीले बताए ।

प्रकाशित : मंसिर १३, २०७५ ०९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?