३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

शल्यक्रिया सेवाले सेवाग्राहीको चाप

सुविधा सम्पन्न बन्दै जिल्ला अस्पताल
नवीन पौडेल

परासी — विशेषज्ञ चिकित्सक आएपछि जिल्ला अस्पताल परासीमा बिरामीको चाप बढेको छ । उपकरण हुँदाहुँदै पनि चिकित्सक नहुँदा रिफर सेन्टरका रूपमा परिचित जिल्ला पृथ्वीचन्द्र अस्पतालमा चिकित्सक आएपछि बिरामीको चाप बढेको हो ।

सामान्य रुघाखोकी र ज्वरोका बिरामीले मात्र सेवा लिँदै आएकामा सुविधा सम्पन्न अप्रेसन थिएटरसँगै गत तीन महिनादेखि शल्यक्रिया सेवा सुचारु भएपछि आमसेवाग्राहीलाई सहज भएको छ ।


जटिल प्रकृतिको सुत्केरी सेवा मात्र होइन अस्पतालमा पहिलोपटक पाठेघरको अप्रेसन पनि सफल भएको अस्पतालले जनाएको छ । गत एक महिनामा एक सयभन्दा बढीले सुत्केरी सेवा र अन्य सेवा लिएको अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. अनन्तकुमार शर्माले बताए । ‘उपकरण हँुदाहँुदै पनि चिकित्सक नहुँदा सेवा प्रवाहमा कठिनाइ भएको थियो,’ उनले भने, ‘दुईजना विशेषज्ञ चिकित्सक थप भएपछि बिरामीको सहज उपचार र अस्पतालमा सेवाग्राहीको संख्या बढेको छ ।’


जनशक्ति नहुँदा यसअघि दिनमा मुस्किलले ५० जना मात्र जाँचका लागि आउने अस्पतालमा अहिले दुई सय जनाभन्दा बढीले ओपीडीको टिकट काट्ने गरेका छन् । अस्पताल प्रदेश सरकारअन्तर्गत आएपछि प्रदेश सरकारले जिल्ला समन्वय समितिका प्रमुख शिवशंकर रायको अध्यक्षतामा तदर्थ अस्पताल विकास समिति गठन गरेको छ । ‘जिल्ला अस्पताल हुँदाहुँदै सामान्य रोगका लागि पनि अन्यत्र जानुपर्ने बाध्यता हटाउन सुधारको प्रयास गरिएको हो,’ अध्यक्ष रायले भने, ‘उपलब्ध स्रोत र साधनले भ्याएसम्म बाहिर रिफर नगर्ने र गर्नैपर्ने अवस्था आए पनि तथ्यांक राखेर मात्र पठाउन थालिएको छ ।’


विशेषज्ञ डाक्टर उपलब्ध भएपछि आकस्मिक कक्षमा पनि बिरामीको चाप बढेको छ । यसअघि आकस्मिक कक्षमा आउने बिरामीलाई स्वास्थ्यकर्मीले सोधपुछ कक्षबाट नै उपचार हुन सक्दैन भन्दै अन्यत्र रिफर गर्दै आएका थिए । तर, अहिले बिरामीलाई आईसीयूबाहेक अन्य सेवाका लागि बाहिर रिफर गर्नुपर्ने अवस्था छैन ।


अस्पताल प्रशासनले अहिले अस्पतालमा आउने कुनै पनि बिरामीको भर्ना गरी रजिस्ट्रेसन गरिने तर रिफर वा डिस्चार्ज गर्न पर्दा मेडिकल अधिकृतको उपस्थितिमा मात्र रिफर गर्न पाउने नियम बनाएको छ । ५१ शय्याको अस्पतालमा अहिले ३१ शय्या छन् । भर्खरै मात्र १६ शय्या थप गरिएको हो ।


न्युरोनेटर केयर युनिट जडान

सरकारी अस्पतालको सुविधा गुणस्तरीय हुँदैन भन्ने सोचाइलाई परिवर्तन गर्दै यस अस्पतालले

आफ्नो व्यवस्थापकीय क्षेत्रमा पनि पर्याप्त सुधार गरेको छ ।


उपकरण भएर पनि दक्ष जनक्ति नहँुदा रोकिएका सेवा अहिले सुचारु भएका छन् । पहिलो पटक यहाँ नवजात शिशुको उपचारमा प्रयोग हुने आवश्यक उपकरण जडान गरिएको छ । शल्यक्रिया सेवा सुरु भएसँगै ग्रामीण क्षेत्रबाट सुत्केरी सेवाका लागि आउने बिरामीको संख्या बढेपछि उपकरण जडान गरिएको हो ।


अस्पतालमा पहिलो पटक स्पेसल न्युरोनेटर केयर युनिट पनि सञ्चालनमा ल्याइएको अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट शर्माले बताए । ‘अप्रेसनमार्फत सुत्केरी सेवा भएका अस्पतालमा यो उपकरण अनिवार्य भए पनि स्रोत अभावमा हामीले जडान गर्न सकेका थिएनौं,’ उनले भने, ‘यो सेवाले आईसीयूजस्तै विशेष तरिकाले उपचार गर्न सकिने भएकाले नवजात शिशुका लागि यो प्रभावकारी सेवा हुनेछ ।’


नवजात शिशुसम्बन्धी सामान्य समस्या अब यहीं उपचार गर्न सकिने भएपछि यहाँका सेवाग्राही बढी लाभान्वित हुनेछन् । यसअघि सामान्य सुत्केरी सेवा मात्र हुँदा अप्रेसन गर्नुपर्ने बिरामीलाई अन्यत्र पठाउनुपर्ने बाध्यता थियो । नयाँ व्यवस्थापनले चिकित्सक भर्ना गरेर अप्रेसनमार्फत सुत्केरी सेवा सुचारु गरे पनि नवजात शिशुका लागि भने उपचार गर्ने उपकरण अभाव थियो ।


आमा र शिशु दुवैलाई स्वस्थ राख्नका लागि न्युरोनेटर केयर युनिट सञ्चालनमा आएपछि सेवाग्राहीलाई जिल्लाबाहिर जानुपर्ने बाध्यता हटेको छ । ‘सुत्केरी सेवा सुचारु भएपछि आमाको स्वास्थ्य ठीक भए पनि बच्चा बिरामी भएमा नवजात शिशु लिएर अन्यत्र जानुपर्ने बाध्यता थियो,’ हकुहीका रामअवतार चौधरीले भने, ‘नि:शुल्क सुत्केरी सेवासँगै न्यूनतम रकममा बच्चाका लागि विशेष उपचार कक्ष भएपछि हामीजस्ता विपन्न परिवारलाई धेरै सहज भएको छ ।’


युनिसेफ नेपालको सहयोगमा परिवार कल्याण महाशाखाले सो उपकरण उपलब्ध गराएको हो । करिब २० लाख रुपैयाँ पर्ने २ सेट यस्ता उपकरण जडान गरिएका छन् ।

प्रकाशित : मंसिर १७, २०७५ ११:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?