३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

‘गाउँमै भेट्यौं सरकार’

समान विकासको अवधारणाअन्तर्गत सिंगो गाउँपालिका पाटन गाउँको विकासमा एकजुट
माधव अर्याल

पाल्पा — दुई वर्षअघिसम्म तिनाउ गाउँपालिका ६ पाटन गाउँसम्म मोबाइल टावरले टिप्दैनथ्यो । यहाँसम्म मोटरबाटो पुगेको थिएन । बिजुली बत्तीको कुरै छाडौं, मट्टीतेल किनेर टुकी बाल्नुपर्ने बाध्यता थियो । खानेपानीको व्यवस्था थिएन । घण्टौं लगाएर पानी लिन जानुपर्थ्याे । 

अहिले यहाँको अवस्था फेरिएको छ । ‘स्थानीय तहको निर्वाचनपछि हामीले हाम्रा जनप्रतिनिधिमार्फत सेवा, सुविधा पाउन थालेका छौं,’ स्थानीय धनबहादुर लम्तरीले भने, ‘यसअघि जनप्रतिनिधि पनि थिएनन् । कसलाई के भनेर विकास माग्ने भन्ने हामीलाई पनि थाहा थिएन ।’


पाटनका जनतालाई आफ्नै गाउँपालिका आउन–जान नै ८ घण्टा लाग्थ्यो । गाउँमा उत्पादन भएका सामग्री बिक्री गर्न पनि समस्या नै थियो । बुटवल बजार जान बिहान ४ बजे नै उठेर हिँड्नुपर्ने बाध्यता थियो । अहिले मस्याम, डुम्रे भएर सवारी साधन चल्न थालेका छन् ।


‘गत वर्ष वडा र गाउँपालिकाको बजेटबाट सडकको पहुँचमा भएका छौं,’ स्थानीय कमला रानाले भनिन्, ‘अहिले फेरि बिजुली बत्तीको पनि सुविधा थपिएको छ ।’ अझै पनि छोटो मोटरबाटो भने खुल्न सकेको छैन । तिनाउ गाउँपालिकाको दुर्गम पाटन र यसका छिमेकी गाउँहरू माझटोल, सुडुङखोला, चापखर्क, दहटोल, अमिलडाँडालगायतमा केही दिनअघिबाट बिजुली बत्ती बल्न थालेको छ ।


वडाबाट पाउने बजेटबाट टोलटोलमा बाटो खन्न सुरु भएको छ । गाउँपालिका र सांसदले दिने पूर्वाधार विकास कार्यक्रममा पनि अनुरोध गरेका छन् । ‘विकासका बारेमा बल्ल बुझ्न थालेका छौं,’ स्थानीय प्रेमबहादुर छहरीले भने, ‘जसले गर्दा वडा र गाउँपालिकामा विकास माग्न जान सजिलो भएको छ ।’ उनीहरूलाई पहिले मोटरबाटो, बिजुली, खानेपानीका विषयमा कहाँ गएर भन्ने हुन्थ्यो ।


अहिले उनीहरू खानेपानीका लागि लिफ्ट योजना चलाउने योजनामा पुगेका छन् । खानेपानी योजनाको काम अगाडि बढाइसकेका छन् । अब पानीको समस्या समाधानका लागि थप बजेट विनियोजन गर्न जनप्रतिनिधिलाई आग्रह गर्ने उनले बताए । वडाध्यक्ष टोमबहादुर पुन मगर पनि दुर्गम र सबै सुविधाबाट टाढा पाटनका बासिन्दाका मागलाई सम्बोधन गर्न अघि सरेका छन् ।


‘यसरी गाउँको समस्या नबुझ्ने हो भने कसरी हामीलाई विश्वास गर्लान्,’ उनले भने, ‘सिंहदरबारको अधिकार गाउँमा आएको अनुभूति दिलाउन कस्सिएर लागेको छु ।’ उनका अनुसार वडालाई गाउँपालिकाले पनि साथ दिएको छ । वडा नम्बर १ कचलका लागि भनेर छुट्याइएको बजेटसमेत दुर्गममा बत्ती बाल्न भनेर यहीं खर्च गरिएको छ ।


गाउँपालिकाले पनि महत्त्व दिएकाले नै सडक, बिजुली र अब खानेपानीको सुविधा दिलाउने योजना बनेको उनले बताए । गाउँपालिकाले पनि सबै सुविधाबाट वञ्चित टोल, गाउँलाई महत्त्व दिने योजना बनाएको अध्यक्ष ओमबहादुर घर्ती मगरले बताए । ‘दुर्गमका गाउँमा पनि सरकार आएको अनुभूति दिलाउन खोजेका छौं,’ उनले भने, ‘सबैलाई एकै खालको सेवा सुविधा पाउने जनताका रूपमा स्थापित गर्ने योजना छ ।’


स्थानीयलाई अब खानेपानी सुविधा दिलाउन योजना बनेको छ । त्यसपछि यहाँ कागती, तरकारी, कोदोलगायतका उत्पादनमा जोड दिने अध्यक्ष घर्तीले बताए । ‘आर्थिक समृद्धि दिलाउने योजना नबनाई स्थानीय सरकारको अनुभूति हुन सक्दैन,’ उनले भने, ‘त्यसैले पनि हामी योजना बनाएर दुर्गमका बासिन्दालाई गाउँमै सेवा सुविधा र आर्थिक आय आर्जनका लागि काम गर्दैछौं ।’


स्थानीय सरकार गठन भएपछि सोही अनुसारको जनतालाई सेवा सुविधा दिने योजनामा आफूहरू रहेको उनले बताए । तिनाउ गाउँपालिकाका अन्य वडाका अध्यक्ष पनि पाटनलाई विकासमा अगाडि बढाउन सहमत भएका छन् । त्यसैले पनि काम गर्न र यहाँ विकास गर्न सहज भएको गाउँपालिकाका प्रवक्ता राजेश श्रेष्ठले बताए ।


उनका अनुसार यसअघि तिनाउ खोलाको मुहान संरक्षणमा सहयोग पुर्‍याएकाले साबिकको दोभान गाविस र बुटवल नगरपालिकाद्वारा सोलार सहयोग गरिएको थियो । अब स्थानीय पनि आय आर्जनका लागि काम गर्ने सोचमा छन् । ‘अब आय आर्जनका लागि तरकारी खेती, अम्रिसो र कागती खेती गर्ने योजना बनेको छ,’ स्थानीय धनी अर्गाली मगरले बताइन् ।


उनका अनुसार स्थानीय तहको निर्वाचनपछि विकासे योजनाले गति लिएकाले पनि सहज भएको हो । ‘गाउँमै सरकार आएको अनुभूति भएको छ,’ उनले भनिन्, ‘अझ धेरै विकासका योजना बनाएर वडा र गाउँपालिकासम्म पुग्ने योजनामा छौं ।’

प्रकाशित : मंसिर १८, २०७५ १०:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?