१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

घरेलु हिंसाले महिलामा मानसिक रोग

८० प्रतिशत महिला कुनै न कुनै घरेलु हिंसाका कारण मानसिक समस्यामा : चिकित्सक
अमृता अनमोल

बुटवल — रूपन्देहीको तिलोत्तमा नगरपालिका, योगीकुटीकी ३२ वर्षीया राधा पाण्डेको छिनछिनमा बेस्सरी टाउको दुख्छ । उतिउति खेरै पिसाबले च्यापेजस्तो हुन्छ । कतिबेला करकरी शरीर दुख्छ । राति निद्रा लाग्दैन ।

समस्या बढ्दै गएपछि उनी उपचारका लागि क्रिमसन अस्पताल, मणिग्राम गइन् । चिकित्सकले घरायसी तनाव र दबाबका कारण मानसिक समस्या देखिएको बताए ।


अन्य उपचारको साटो मानसिक स्वास्थ्य राम्रो बनाउन औषधि दिए । ‘२ महिना भयो नियमित त्यही औषधि खाँदैछु,’ राधाले भनिन्, ‘डाक्टरले भने अनुसार अन्य काम पनि गर्न थालेपछि केही सुधारको अनुभव भएको छ ।’ राधा शिक्षण पेसामा संलग्न थिइन् ।


सामान्य परिवारमा जन्मेकी उनको २ वर्षअघि धनी परिवारमा बिहे भयो । बिहेलगत्तै जागिर छोडनु पर्‍यो । जागिर मात्रै होइन, पढ्दै गरेको एमएडको कक्षा लिनसमेत परिवारले रोक लगायो । यसपछि नै राधालाई मानसिक समस्या सुरु भएको हो । राधाको मानसिक समस्या हटाउन चिकित्सकले अहिले उनीसँगै उनका पति दीपकलाई समेत नियमित परामर्श दिएका छन् ।


बुटवल, दीपनगरकी ३० वर्षीया माया विकलाई नराम्री भन्दै पतिले बिहेलगत्तैदेखि बेवास्ता गर्न थाले । धेरै समय माइतीमा बसिन् । पति लिन आउलान् भन्ने आशामा बसेकी उनका पतिले दोस्रो घरजम गरे । माइतीले पनि राम्रो व्यवहार गरेनन् ।


यही पिरलोले उनी एक्लै टोलाउन थालिन् । विस्तारै पुरुष देख्दा डराउने र बेहोस हुने भइन् । यिनै माया ६ महिनायता मानसिक रोगको उपचारमा छन् । ‘मनमा धेरै तनाव लिंदा मनोबल गिर्दो रहेछ । त्यसले मानसिक समस्या निम्त्याएछ,’ मायाले भनिन्, ‘उपचार सुरु भएपछि आत्मबल बढाउँदै गएकी छु ।’


पछिल्लो समयमा रूपन्देहीमा मानसिक समस्या बोकेर उपचारमा जाने महिला बढेका छन् । छारेरोग, दिक्दारीपन, चिन्ता र विकृत तनाव मानसिक रोगका लक्षण हुन् । मानसिक रोग विशेषज्ञ डा. मनोज ढुंगानाका अनुसार अधिकांश महिलामा घरेलु हिंसाका कारण मानसिक समस्या देखिएको छ । ‘दैनिक ५० जना बिरामी चेकजाँच गर्दा ३० जना बिरामी महिला हुन्छन्,’ उनले भने, ‘त्यसमध्ये ८० प्रतिशत महिला कुनै न कुनै घरेलु हिंसाका कारण मानसिक समस्या लिएर आएका हुन्छन् ।’


घरपरिवार तथा आफन्तबाट हुने शारीरिक र मानसिक हिंसा घरेलु हिंसा हो । पारिवारिक हिंसा, तनाव, आर्थिक अभाव, पति–पत्नीबीचको मनमुटाव, कुरीतिलगायतले महिला बढी मानसिक रोगी बनेका छन् । त्यसमध्येकी हुन्, बुटवल–९ मिलनचोककी सम्झना पौडेल ।


पतिले आफूले रोजेकी युवतीलाई बिहे गर्ने भन्दै पटक–पटक शारीरिक यातना दिन थालेपछि उनले अनौठो क्रियाकलाप गर्न थालिन् । सम्झनाका भनाइमा कतिबेला भूतजस्तै आकृति देखिन्थ्यो ।


त्यस्तो देख्दा मन आत्तिने, डराउने र शरीर घोचेको जस्तो हुन्थ्यो । कतिबेला चिच्याउँथिन् त कतिबेला बेहोस हुन्थिन् । यसपछि उपचारका लागि परिवारले युनिभर्सल मेडिकल कलेज भैरहवा पुर्‍याए । उपचारमा संलग्न चिकित्सकले उनलाई पनि हिंसाका कारण मानसिक समस्या भएको बताए । नियमित ६ महिना मानसिक औषधि र परामर्श लिएकी उनी अहिले भने सामान्य अवस्थामा छन् । ‘विक्षिप्त अवस्थामै पुग्न आँटेकी थिएँ,’ सम्झनाले भनिन्, ‘नियमित औषधि र परामर्शमा रहेकाले समयमै रिकभर भयो ।’


मानसिक रोग परामर्शकर्ता अमृता लामा आफ्ना इच्छा दबाउन पर्ने, कसैप्रति चाहिनेभन्दा बढी आशा वा अपेक्षा राख्दा त्यो पूरा नहुँदा पनि महिलामा मानसिक स्वास्थ्य समस्या बढै्द गएको बताउँछिन् । ‘महिलाहरू खुलेर आफ्ना समस्या राख्न नसक्ने, क्षमताभन्दा बढी शारीरिक र मानसिक जिम्मेवारी बोक्नुपर्ने कारणले पनि मानसिक समस्याबाट ग्रस्त छन्,’ उनले भनिन्, ‘मानसिक रोग हो भनेर उपचारमा ढिलाइ गर्ने र नियमितता नदिँदा अर्को समस्या थपिएको छ ।’


मानसिक रोगका लक्षण बेलैमा चिन्ने, घरपरिवारमा लैंगिक समानता कायम राख्ने र महिला हिंसा हुने गतिविधि रोक्ने हो भने मात्रै महिलामा देखिएको बढ्दो मानसिक समस्या रोक्न सकिने डा. ढुंगानाले बताए । ‘मानसिक रोग निको पार्न बिरामी मात्रै होइन, घरपरिवारकै ठूलो भूमिका हुन्छ,’ उनले भने, ‘मानसिक रोगलाई लाजको रूपमा लिनु हुन्न । औषधिसँगै शारीरिक व्यायाम र खानपानमा पनि उत्तिकै ध्यान दिनुपर्छ ।’

प्रकाशित : मंसिर १९, २०७५ १३:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?