महिनावारी हुँदा विद्यालय जाँदैनन् छात्रा

वीरेन्द्र केसी

अर्घाखाँची — महिनावारी भएपछि तीन दिनसम्म घरभित्र नपस्ने र चार दिनसम्म कापी–किताब छुन नहुने अन्धविश्वासले यहाँका छात्राको पढाइ प्रभावित हुने गरेको छ ।

नयाँ पुस्तामा यस्तो संस्कार हटे पनि पुरानामा बाँकी रहेकाले महिनावारीका बेला दोस्रो व्यक्तिलाई छुँदा पाप लाग्छ भन्ने चलन छ ।


नरपानीकी सविना केसी महिनावारी भएको तीन दिनसम्म घरबाहिर सुत्छिन् र चार दिनपछि नुहाएर बल्ल घरभित्र पस्छिन् । चार दिनसम्म उनको पढाइ छुट्छ । ‘कसैसँग छोइनु हुँदैन, पाप लाग्छ भन्छन्,’ उनले भनिन्, ‘तीन दिनसम्म घरमै बस्नुपर्ने बाध्यताले पढाइ पनि छुटछ ।’


विद्यालय जानेले पनि खुलेर भन्न सक्ने वातावरण नहुँदा पढाइ प्रभावित हुने गरेको छ । ‘म त पढ्न आउँछु,’ सतिनेटाकी सीता घमले भनिन्, ‘अरू बेलाजस्तो जाँगर हुँदैन,’ उनले भनिन्, ‘मिन्स भएको भन्न अप्ठ्यारो हुने भएकाले टाउको दुखेको भन्दै ढाँट्नुपर्छ ।’ महिनावारी भएकी छु भन्दा केटा साथीले जिस्क्याउने

उनले बताइन् ।


गोल्डेन गेट इन्टरनेसनल कलेज काठमाडौंमा कक्षा १२ मा अध्ययनरत ईशा पौडेल आफूले पढेको स्कुल शिवमदन मावि सतिनेटमा बेग्लै प्रस्तुत भइन् । बाबु गोविन्दराजलाई प्रमुख अतिथि, आमा सावित्रा र अंकल गणेशराजलाई विशेष अतिथि बनाएर उनले महिनावारीका बारेमा ज्ञानवद्र्धक कुराको प्रशिक्षण र छात्रालाई प्याड वितरण गरिन् ।


इन्ट्रयाक्ट क्लब अफ गोल्डेन गेट कलेजकी प्रेसिडेन्ड्समेत रहेकी ईशाले महिनावारी हुँदा हुने समस्या र प्याड प्रयोग गर्ने तरिकाबारे शिक्षा दिइन् । स्कुलका २ सय ५० जना छात्रालाई पाँच सयभन्दा बढी प्याड आफ्नै लगानीमा वितरण गरिन् ।


‘महिनावारी महिलामा हुने प्राकृतिक प्रक्रिया हो,’ उनले भनिन्, ‘पाप लाग्छ भनेर केही छुनु हुँदैन भन्ने भ्रम अब हटाउनूस् । सफा रहने र स्वास्थ्यको ख्याल गर्नुपर्छ ।’ पसलमा प्याड किन्न जाँदा साहूजीसँग माग्न लजाउने र किनेपछि पत्रिकाले बेरेर लुकाएर घरमा ल्याएर प्रयोग गर्ने चलन हटाउनुपर्ने उनले बताइन् । महिनावारी, सुत्केरी र गर्भावस्थालाई सबै दिदीबहिनीले पवित्र समयका रूपमा लिनुपर्ने उनको सुझाव थियो । विद्यालयका प्रअ राजेन्द्र पौडेलले केही महिनादेखि छात्रालाई नि:शुल्क प्याड वितरण गरेको बताए । ‘धेरै छात्रा प्याड माग्नै लजाउने गर्थे,’ उनले भने, ‘अहिले बानी पर्दैछ ।’


स्वास्थ्यकर्मीका अनुसार महिनावारी भएको चार दिनसम्म स्तन, तल्लो पेट, ढाड दुख्ने र शरीर थकित हुने गर्छ । यस्तो बेलामा पोषिलो र प्रोटिनयुक्त खानुपर्छ । आराम चाहिन्छ । बाबु गोविन्दराजले महिनावारी हुँदा महिलामा हुने समस्यालाई सहज बनाउन अब सबैले सहयोग गर्नुपर्ने बताए । ‘सरकारले वडाबाटै नि:शुल्क प्याड बाँड्ने र आवश्यक स्वास्थ्य शिक्षा दिनुपर्छ,’ उनले भने । ईशाका अंकल गणेशराज जनस्वास्थ्य अधिकृत हुन् । उनले प्याड लगाउने तरिका सिकाए ।

प्रकाशित : मंसिर २०, २०७५ ११:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?