३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

राजमार्ग अवरोधले यात्रुलाई सास्ती

माधव अर्याल

पाल्पा — यातायातका साधन दैनिक ६ घण्टा बन्द गरेर सिद्धार्थ राजमार्ग मर्मत सुरु भएको छ । राजमार्गअन्तर्गत तानसेन–बुटवल सडक खण्डमा स्तरोन्नतिको काम गर्न डिभिजन सडक कार्यालयले सोमबारदेखि काम सुरु गरेको जनाएको हो । बाटो बन्द गरेर सडक मर्मत गरिँदा यात्रु भने मारमा परेका छन् । 

राजमार्ग अवरोधले यात्रुलाई सास्ती

बुधबारसम्म दिउँसोको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ । बुटवल–तानसेन सडकअन्तर्गत चिडियाखोलादेखि भूतखोला सडकखण्डमा रहेका ठूला ढुंगा फुटाई बाटो सहज बनाउन लागेको कार्यालयले जनाएको छ । तीन दिनमा जोखिम र पहिरोले झारेका ढुंगा हटाउने डिभिजन सडकका इन्जियिनर पवित्रमणि आचार्यले बताए । ‘तीनदिने विशेष अभियानसहित सडक मर्मत गर्न लागेका हौं,’ उनले भने, ‘यसलाई आगामी दिनमा पनि निरन्तरता दिइनेछ ।’


राजमार्गको केराबारीदेखि चिडियाखोलासम्म अत्यावश्यक सवारी साधन मात्र चल्न दिइएको छ । अन्यत्र पूर्ण रूपमा बन्द गरिएको उनले बताए । यसअघि पनि भूतखोलामा पहिरो मर्मतका लागि सवारी सञ्चालनमा रोक लगाएर काम गरेका थिए । त्यसबेलामा काम गर्न नसकेपछि पुन: राजमार्ग बन्द गरेर काम थालेको उनले बताए । वर्षायाममा राजमार्गको सिद्धबाबा क्षेत्र, भूतखोला, दोभान, झुम्सासम्मका विभिन्न स्थानमा पहिरो खसेको छ । भूतखोलामा ५० मिटर सडक भासिएको छ ।


कामको गति सुस्त रहेको स्थानीयको गुनासो छ । ‘दैनिक ६ घण्टा बाटो बन्द हुँदा बाटोभरि जनशक्ति र मेसिन प्रयोग होलान् भनेका थियौं,’ तिनाउ–२ दोभानका चोपलाल गिरीले भने, ‘बाटोका खाल्डाखुल्डी पुरिएला भनेको भूतखोलामा मात्रै काम गरेको देखियो ।’ राजमार्गको झुम्सादेखि चिडियाखोलासम्म ८० प्रतिशत सडकमा कालोपत्रे छैन ।


सामाजिक सञ्जालमा समेत स्थानीयले सडकको कामप्रति आलोचना गरेका छन् । टंक बस्यालले फेसबुकमा लेखेका छन्, ‘सडकको काम कहिले जाला घाम । हजारौं यात्रुलाई दु:ख दिएर भत्ता पकाउने कामबाहेक केही देखिएन । तीन दिनमा भूतखोलाको काम सकिएलाजस्तो छैन । यहाँ त रातको समयमा पनि काम गर्न सकिन्थ्यो ।’


स्थानीय बासिन्दा भने बिग्रेको सडकको स्तरोन्नति हुने र सडकका खाल्डाखुल्डी पुर्ने आशामा थिए । ९ किलोमिटर सडकमा कालोपत्रे उप्किएको ५ वर्ष बितिसक्यो । ‘पहिला पहिरो कारण खसेका ढुंगा हटाउन र भासिएको सडकमा चौडा गराउन लागेका हौं,’ सडकका इन्जिनियर आचार्यले भने, ‘त्यसपछि कालोपत्रे मर्मतको काम पनि हुन्छ ।’ यस क्षेत्रमा ठेकेदारले काम नगर्दा ५ वर्षअघिको ठेक्काको काम पूरा भएको छैन । ‘यस्तो अवस्था भएको वर्षौं बित्दा पनि अझै समस्याको समाधान खोजिएको छैन,’ दोभानका स्थानीय विष्णुप्रसाद पाण्डेयले भने, ‘अहिले पनि काममा त्यति चासो दिएर गरेजस्तो देखिएन ।’


दिउँसोको समयमा सवारी सञ्चालन नहुँदा यात्रुको बिचल्ली भएको छ । गाउँबाट चल्ने सबै यातायातका साधनलाई बाटो बन्दका बारेमा थाहा छैन । सधैं धूलो र पहिरोको सास्ती खेप्दै आएका यात्रुले बिनाकारण बन्दको मार खेप्न बाध्य हुने गरेको गुनासो गरे । बिनाकारण पैसा खर्च गर्ने सरकारी निकायले बाटो बन्द गरेर विकास गर्नुको अर्थ नरहेको बागलुङबाट बुटवल हिँडेका यात्रु रमेशप्रसाद अधिकारीले बताए । ‘सरकारी रकम बालुवामा पानी हालेजस्तै भएको छ,’ उनले भने, ‘यति सुस्तरी काम भएको छ कि तीन दिनमा भूतखोलाको पहिरो मात्र हटाउने भए ।’


वर्षायाममा सडक अवलोकनमा आएका विभागीय मन्त्री रघुवीर महासेठले तीन महिनामा परिवर्तन देख्न सक्ने प्रतिक्रिया दिएका थिए । ६ महिना बित्दा पनि केही काम अघि बढेको छैन ।


‘जनप्रतिनिधि र सांसदले सिद्धबाबा क्षेत्रको सडकलाई मागी खाने भाँडो बनाएका छन्,’ मोटरसाइकल चालक मनोज रानाले भने, ‘चुुनाव जितेपछि रक नेट, कहिले पहाडै कटिङ त कहिले सुरुङ मार्गको नारा ल्याउँछन् अनि चुप लाग्छन् ।’ यस सडक खण्डकमा १० वर्षको अवधिमा २१ बस, ९ ट्रक, १२ कार–जिप र २५ मोटरसाइकल दुर्घटनामा परेको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रकाशित : मंसिर २०, २०७५ ११:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?