कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

डिजे बजाउन अनुमति अनिवार्य

ठाकुरसिंह थारू

नेपालगन्ज — पछिल्लो समय विवाह, जन्मदिनलगायतका खुसियालीमा डिजे बजाउन प्रतिस्पर्धा चल्छ । धार्मिक स्थलबाट निस्किने ध्वनिको समस्या छँदैछ । त्यसमाथि डिजेको चर्को आवाजले छिमेकी र आसपासका सर्वसाधारणको रातको निद्रा खोसेको छ ।

नेपालगन्जमा विवाहका समयमा सडकमै डिजे बजाएर नाच्ने चलन छ । चर्को ध्वनिले निदाउनै मुस्किल भएको भन्दै स्थानीयले प्रशासन गुहारेका छन् । जिल्ला प्रशासनले ध्वनि नियन्त्रणको विकल्प खोज्न स्थानीय सरकारका प्रमुख, सुरक्षा अधिकारी, धार्मिक गुरु, राजनीतिक दलका नेतालगायत सरोकारवालाहरूसँग छलफल गरेको छ ।


नेपालगन्ज उपमहानगरपालिका भित्र विवाह, व्रतबन्ध, जन्मदिन, धार्मिक पूजा, भण्डारालगायतका कार्यक्रममा डिजे बजाउन अनुमति लिनुपर्ने निर्णय गरिएको छ । नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशमशेर राणाले रातिको समयमा बज्ने चर्को डिजे र लाउडस्पिकरका कारण सुत्नै नसक्ने अवस्था आएकाले यस्तो निर्णय गरिएको बताए ।


‘डिजे र लाउडस्पिकरको आवाज नियन्त्रण गर्न नीति ल्याउन आवश्यक भइसक्यो । तत्कालका लागि सम्बन्धित वडा कार्यालयबाट डिजे बजाउने अनुमति लिनुपर्ने व्यवस्था मिलाएका छौं,’ उनले भने, ‘चर्को ध्वनिका कारण नेपालगन्जवासी निकै पीडित छन् ।’ उनले ९ बजेपछि रातभरिका लागि डिजे, लाउडस्पिकर बजाउन नपाउने गरी नीति ल्याउन आवश्यक रहेको बताए ।


नेपालगन्जमा विवाह, जन्मदिनमा डिजे बजाएर खुसियाली मनाउँछन् । रातभरि चल्ने विवाह पार्टीमा बज्ने डिजेले सर्वसाधारणको स्वास्थ्यमा समेत प्रतिकूल असर पार्न थालेको भन्दै नियन्त्रणका लागि पहल सुरु गरिएको हो । नेपालगन्जमा सयौं धार्मिक स्थल छन् । त्यहाँबाट पनि ध्वनि प्रदूषण हुने गरेको छ ।


धार्मिक स्थलमा बज्ने चर्को लाउडस्पिकरको ध्वनि नियन्त्रणका लागि धर्म गुरुहरूसँग आग्रह गरिएको छ । ‘धार्मिक स्थलमा पूजापाठ गर्दा केही समयका लागि लाउडस्पिकर प्रयोग गरिन्छ । तर, निकै चर्को आवाज समस्या हुने गरेको छ,’ डा. राणाको आग्रह छ, ‘धर्म गुरुहरूले पनि ध्वनि नियन्त्रणका लागि मातहतका धार्मिक स्थलका अगुवाहरूलाई सुझाव दिनूस् ।’


बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले नेपालगन्जमा चर्को ध्वनिको समस्या रहेको बताए । उनले आफ्नो घरमा रमाइलो गर्दा अरूलाई दु:ख दिन नपाइने जनाए । ‘डिजे बजाएर अरूलाई प्रभावित गर्न पाइँदैन । त्यसका लागि निश्चित समय अवधि तोक्न आवश्यक छ,’ उनले भने, ‘रातभरि चर्को आवाजमा डिजे बजाउनेलाई कारबाहीको दायरामा ल्याउँछौं ।’


बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) अरुण पौडेलले सबैको सहयोग पाए ध्वनि प्रदूषण नियन्त्रण हुन सक्ने बताए । उनले ध्वनि नियन्त्रणका लागि स्थानीय सरकारले ल्याएको नीतिअनुसार काम गर्ने जनाए । ‘धार्मिक केन्द्रबाहेक अन्य क्रियाकलापमा पनि ध्वनि प्रदूषण भइरहेको छ । त्यसलाई रोक्न सबै लागौं,’ उनले भने ।


धार्मिक तथा सामाजिक सद्भाव मञ्चका मौलाना अब्दुल जब्बर मञ्जरी, वागेश्वरी मन्दिरका जयराज आचार्य, गुरु नानक सिंह समाजका उत्तमसिंह सोडीलगायतका धार्मिक गुरुले मातहतका धार्मिक स्थलका गुरुहरूलाई चर्को आवाजमा लाउडस्पिकर नबजाउन आग्रह गर्ने प्रतिबद्धता जनाए ।


यसअघि बढदो ध्वनि प्रदूषण नियन्त्रण गर्न बाँके प्रहरीले नेपालगन्ज उपमहानगरभित्र हर्न बजाउने सवारी चालकलाई ५ सयदेखि १ हजार ५ सय रुपैयाँसम्म जरिवाना गर्न सक्ने नीति ल्याएको छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६४ अनुसार हर्न बजाउनेलाई ट्राफिक प्रहरीले ५ सय देखि १ हजार ५ सय रुपैयाँसम्म जरिवाना गर्न सक्ने कानुनी व्यवस्था छ ।


प्राविधिकहरूका अनुसार ध्वनि प्रदूषण ७० डेसिबलभन्दा बढी हुनुहुन्न । कलकारखाना रहेको क्षेत्रमा ८० डेसिबल ध्वनि हुन्छ । यस मात्राको ध्वनिले मानिसको ज्यानसमेत जान सक्ने विशेषज्ञहरूको चेतावनी छ । नेपालगन्जमा साना–ठूला गरी हजारौं सवारीसाधन सञ्चालनमा छन् । तर, डेसिबल यकिन गरिएको छैन ।


ध्वनि प्रदूषणका कारण मुलुकमा १४ प्रतिशत मानिसमा बहिरोपनको समस्या देखिएको अध्ययनले देखाएको छ । ध्वनि प्रदूषणले बहिरोपनको समस्या बढेपछि ‘नो हर्न’ अभियान सुरु गरिएको प्रहरीको दाबी छ ।

प्रकाशित : मंसिर २०, २०७५ ११:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?