गाउँमै नागरिकता

बाँके / रुकुमपूर्व — बाँके र पूर्वी रुकुुमका घरदैलोमा नागरिकता वितरण गर्ने उद्देश्यले आयोजित घुम्ती शिविरबाट सयौं लाभान्वित भएका छन् । ती जिल्ला प्रशासन कार्यालयले गाउँमै पुगेर मापदण्ड पुगेका व्यक्तिलाइ नागरिकता प्रदान गर्नुका साथै आधारभूत सरकारी सेवा उपलब्ध गराइरहेका छन् । 

गाउँमै नागरिकता

बाँकेको नरैनापुर गाउँपालिकामा एक सातामा ९ सयभन्दा बढीले नागरिकता पाएका छन् । जिल्ला प्रशासनले त्यस क्षेत्रमा एक साताका लागि नागिरकता शिविर राखेको हो । त्यहाँबाट सदरमुकाम नेपालगन्ज आउजाउ गर्न दुई दिन लाग्ने भएकाले सर्वसाधारण नागरिकताबाट वञ्चित थिए ।


त्यहाँ रहेको इलाका प्रशासनमा कर्मचारी बस्न नमानेपछि कार्यालय प्रमुखविहीन छ । प्रमुख जिल्ला अधिकारी मदन भुजेलले विकट क्षेत्रका सर्वसाधारणलाई सरकारी सेवा दिन घुम्ती शिविर आयोजना गरेको बताए । उनका अनुसार नागरिकता वितरणका साथै आँखा, कानलगायतका स्वास्थ्य सेवा उपलब्ध गराइएको छ ।


नेपालगन्जमा रहेका सरकारी कार्यालयले दिने सेवा गाउँमै पाएपछि नरैनापुर पालिकाका सर्वसाधारण हर्षित भएका छन् । उनीहरूले नागरिकता वितरणका लागि स्थायी रूपमा इलाका प्रशासन कार्यालय राख्न आग्रह गरेका छन् ।


प्रमुख जिल्ला अधिकारी भुजेलले तत्कालका लागि शिविर राखिएको र स्थायी रूपमा राख्नका लागि पहल गर्ने बताए । ‘हामी जतिसक्दो धेरै सरकारी सेवा नरैनापुरमा राख्न चाहन्छौं,’ उनले भने, ‘इलाका प्रशासन कार्यालयको प्रमुखको व्यवस्थापन गर्न सकिए स्थायी रूपमै राख्न सकिन्छ ।’ इलाका प्रशासन कार्यालय प्रमुखविहीन हुँदै आएका कारण नागरिकताका लागि नेपालगन्ज आउनुपर्ने बाध्यता छ ।


नरैनापुर गाउँपालिकाका प्रमुख इस्तियाक अहमद शाहले शिविरमार्फत सर्वसाधारणले गाउँमै सरकारी सेवा पाएको बताए । तर, यस्ता सेवा स्थायी रूपमै पालिकास्तरबाटै उपलब्ध गराउनुपर्ने उनको जोड छ । बिजुली, सडक, सञ्चारको सुविधा नभएका कारण सरकारी कर्मचारी त्यस क्षेत्रमा बस्न मान्दैनन् ।


पालिकाले सरकारी कर्मचारीका लागि आधुनिक भवन निर्माण गरेको छ । सोलार र जेनेरेटरमार्फत बिजुलीको व्यवस्था गरेको छ । तर, सडक नहुँदा आउजाउ गर्न कठिन हुने हुँदा कर्मचारी जान मान्दैनन् । ‘हाल केही विकास भएको छ । यसअघि अझ विकट थियो,’ पालिका प्रमुख शाहले भने, ‘नरैनापुर पालिकामा सरकारी कर्मचारी बस्ने गरी सुविधा उपलब्ध गराउने प्रयासमा छौं ।’


रुकुमपूर्बमा पनि

रुकुमपूर्वको भूमे गाउँपालिका–६ महतकी ८० वर्षीया प्रवासी बुढाले गत शनिबार पहिलो पल्ट नागरिकता पाइन् । ८० वर्षसम्म नागरिकताविहीन उनले गाउँमै नागरिकता प्राप्त गरिन् । त्यसअघि गत असोज २७ गते भूमे गाउँपालिका १ लकुमकी फुर्कु गुरुङले ८० वर्षको उमेरमा नागरिकता प्राप्त गरिन् ।


उनले पनि गाउँमै नागरिकता पाएकी हुन् । घरआँगनमै नागरिकता पाउनेमा ७५ वर्षीया मनखना घर्ती पनि छिन् । यसरी घरदैलोमै नागरिकता लिने बुढा, गुरुङ र घर्ती मात्रै छैनन् । नागरिकता लिन टाढा जानुपर्नेलगायतका कारणले लामो उमेरसम्म नागरिकता नलिएका उनीहरूजस्तै धेरैले पछिल्लो पटक घरआँगनमै नागरिकता पाइरहेका छन् ।


विभिन्न कारणले नागरिकता लिनबाट वञ्चितका लागि पछिल्लो समय घरआँगनमा नागरिकता वितरण गर्न थालिएको छ । ‘यत्रो उमेरसम्म नागरिकता नलिएरै बसें, अब पनि नागरिकता लिँदैनथें होला,’ बुढाले भनिन्, ‘घरनजिकैबाट नागरिकता पाइएपछि जीवनको उत्तराद्र्धमा पनि नेपाली नागरिक बन्न पाएँ । ज्यादै खुसी लागेको छ ।’ गाउँमै पुगेर नागरिकता दिन मिल्ने भएका कारण आफू नागरिक बनेको बताइन् ।


गाउँगाउँमा सिंहदरबारको रूपमा उनले यसैलाई अथ्र्याएकी छन् । सबै कागजपत्र मिलाएर नागरिकता वितरण गर्नु जनताको सेवा गर्नु भएको उनको भनाइ छ । ८० वर्षमै नागरिकता पाएकी गुरुङले नेपाली नागरिक बनेर मरिने भइयो भनेर खुसी लागेको बताइन् ।


लामो समयसम्म नागरिकता लिन नपाउँदा खिन्न भएकी उनी गाउँबाटै नागरिकता पाएपछि दंग छन् । ‘नागरिकता नपाएरै मर्छु कि भन्ने पिर थियो, अब त्यसो हुने छैन, ८० वर्षमा भए पनि म नेपाली नागरिक बनें, अब सरकारप्रति मेरो केही गुनासो रहेन,’ गुरुङले भनिन् ।


सदरमुकाम पुग्न नसकेका, आफन्त वा सरसहयोगी नभएका कारण नागरिकता लिनबाट वञ्चितहरूका लागि पछिल्लो समय जिल्ला प्रशासन कार्यालयले गाउँ–गाउँ पुगेर नागरिकता वितरण गरिरहेको छ । जिल्ला समन्वय समिति र स्थानीय तहको सहयोगमा जिल्लाका विभिन्न ठाउँमा नागरिकता वितरण शिविरमार्फत नागरिकता वितरण गरिएको छ । हरेक शनिबार र सार्वजनिक बिदाको दिन पारेर प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा नागरिकता वितरण गर्न गाउँ पस्ने गरेका छन् ।

प्रकाशित : मंसिर २१, २०७५ १०:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?