‘एक डोको मकै र दुई पाथी गहुँ’

वीरेन्द्र केसी

अर्घाखाँची — भूमिकास्थान नगरपालिका–३ ठूलाखर्कका विष्णु परियार ५४ वर्षका भए । बाल्यकालदेखि कपडा सिलाउने काम गर्दै आएका छन् । पेसा व्यावसायिक छैन । बालिघरे हो । वर्ष दिन कपडा सिलाएबापत उनले एक डोको मकै, दुई/तीन पाथी मकै र धान पाउँछन् ।

‘एक डोको मकै र दुई पाथी गहुँ’

विवाह र पूजापाठ भएमा मीठो खानेकुरा खान पाइन्छ । अन्न नहुनेले एक हजार रुपैयाँ दिन्छन् । दसैं, तिहारमा मगरले मदिरा र क्षत्री, बाहुनले घिउ, सेल रोटी र चामल दिन्छन् । उनी ८० घरका कपडा सिलाउँछन् ।


‘सानै उमेरदेखि कपडा सिलाइरहेको छु,’ उनले भने,‘ ‘सबैका घरमा मेसिन, कैंची, आइरन बोकेर जान्छु, दिन बितेको पत्तै हुँदैन ।’ तीज, दसैं र तिहारमा नयाँ कपडा सिलाउँछन् । अरू बेला फाटेका कपडा गाँस्ने, टालो हाल्ने, सिरक, डसना र सिरानी सिउने काम हुन्छ । सदरमुकाम र गाउँका बजारमा पसल खोलेर पैसा लिएर कपडा सिलाउँछन् । ‘आम्दानी राम्रै गर्छन् भन्ने सुनेको छु तर मैले व्यापार भन्दा पनि पुख्र्याैली पेसा धानेको हुँ,’ उनले भने, ‘बुबाले ८० घरमै सिलाउनुहुन्थ्यो, मैले पनि सिलाइरहेको छु ।’ केही अप्ठेरो परे सबैले सहयोग गर्छन् । ऋण दिन्छन् ।


बाबुबाजेले गरेको पुख्र्याैली पेसा छाड्न हुँदैन भनेकाले जीवन चलाउन धौ–धौ भए पनि धर्म नछाडेको उनले बताए । १६ वर्षको उमेरमा मागी विवाह गरे । सन्तान नजन्मिएपछि बिहे गरेको ४ वर्षपछि श्रीमतीले अर्कैसँग विवाह गरिन् । ‘त्यसपछि फेरि विवाह गर्ने मन भएन, अहिले एक्लै घरमा बसेको छु,’ उनले भने ।


कृष्ण परियारले ६० घरमा कपडा सिलाउँथे । एक छोरा कतार र अर्का छोरा घरमै छन् । बीचमा बिरामी परे । उपचार गर्दा ऋण लाग्यो । मेसिन बेचे । फेरि मेसिन किन्न पैसा भएन । ‘अहिले यत्तिकै बसेको छु,’ उनले भने, ‘कपडा सिलाउने त मन छ तर के गर्ने मेसिन किन्न पैसा भएन ।’ उनका अनुसार नयाँ पुस्ता धेरैले काम छाडिसकेको तर पुराना सबैले पुख्र्याैली पेसा धानेका छन् । मानबहादुर परियार ५२ वर्षका भए । ६१ घरमा कपडा सिलाएर जीविका चलाएका छन् ।


६ छोरी र एक छोरा छन् । कान्छी छोरीको मात्रै बिहे गर्न बाँकी छ । छोरा नेपाल प्रहरीमा जागिरे छन् । उनले पनि कपडा सिलाउन जानेका छन् । बिदामा घर आएका बेला कपडा सिलाउन सघाउँछन् ।

‘वर्ष दिन कपडा सिलाएर खानै पुग्दैन तर के गर्ने पुख्र्यौली पेसा सम्हाल्नतिर लागियो,’ उनले भने, ‘जिन्दगी घर–घरमा मेसिन बोकेर डुल्दै कपडा सिलाउँदैमा बित्यो । पुख्र्यौली पेसा धान्यांै, पैसा भएन ।’ सबैका घरमा फरक–फरक खानाको स्वाद चाख्न पाइन्छ ।


कसैकोमा धेरै परिकार खान दिन्छन् । केही घरमा भने सामान्य दिन्छन् । तीज, दसंै, तिहारजस्ता चाडपर्वमा नयाँ कपडा सिलाउन भ्याइनभ्याइ हुन्छ ।


गोविन्द परियार प्रत्येक वर्ष दसैं आउनुअघि कपडा सिलाएका घरमा पुग्छन् । घिउ, चामल, पिठो, तेल उठाएर घरमा ल्याइ दसैं मनाउँछन् । ‘सबैका घरमा मेसिनको भारी बोकेर पुग्ने हो,’ उनले भने, ‘वर्षमा दुई डोका मकै र चार पाथी गहुँ कसैले घरमा ल्याइदिन्नन् ।’


पुख्र्यौली पेसा छाडन नसक्दा जीवनभर सित्तैमा श्रम बेच्नु परिरहेको उनले बताए । बाबुबाजेका पालामा जस्तो हाम्रो जीवन धान्न सकिएन, बर्सेनि बढ्दो महँगीले गर्दा बालीघरे प्रथामा गुजारा चलाउनै सकस छ, पूरै जीवन यसमै वितेकाले काम गर्न सक्दासम्म निरन्तरता दिने उनले बताए ।

प्रकाशित : मंसिर २२, २०७५ १०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?