जनप्रतिनिधिलाई कानुनी जटिलता
पाल्पा — माथागढी गाउँपालिकाका धेरै वडामा सचिव छैनन् । ८ मध्ये ३ वडामा मात्र सचिव छन् । कार्यरत सचिव पनि सरुवा हुने र अवकाश पाउने भएपछि जटिलता थपिएको छ ।
प्रमुख प्रशासकीय अधिकृत दीपक नेपालीले वडामा अन्य काम जनप्रतिनिधिले गरे पनि पन्जिकाधिकारीको काममा भने सचिव नै खटाएको बताए ।
एक जनालाई दुई वडाको जिम्मेवारी दिएर पनि काम नरोकेको उनले बताए । वडासचिव नहुँदा जनप्रतिनिधिलाई कानुनी अड्चन आउने गुनासो छ ।
‘जनताले कर्मचारीलाई जटिल विषयमा कुरा नै भन्दैनन् जस्तै लाग्न थालेको छ,’ माथागढी ६ का वडाध्यक्ष रनबहादुर खाम्चाले भने, ‘भोट तपाईंलाई दिएको हो, समस्याको समाधान पनि तपाईंले नै गरिदिनुपर्छ भन्दै हामीकहाँ नै आउने गर्छन् ।’ तर, जनप्रतिनिधिले कुन काम गर्न मिल्छ/मिल्दैन भन्ने कुराको जानकारी आममतदातामा नरहेको उनले बताए ।
कानुनी जटिलताले गर्दा कतिपय काम गर्न नसकेको गुनासो न्यायिक समितिका सदस्यसमेत रहेका उनले बताए । जिल्ला अदालतले ‘समुदायसमक्ष अदालत’ र जिल्ला सरकारी वकिल कार्यालयले ‘समुदायमा सरकारी वकिल’ कार्यक्रम लिएर माथागढीको केन्द्र झडेवामा पुग्दा जिल्ला न्यायाधीश र सरकारी वकिलसमक्ष जनप्रतिनिधिले आफ्ना जटिलता खोलेका हुन् ।
कर्मचारीलाई भन्दा बढी नै जटिल मुद्दा जनप्रतिनिधिलाई आउने गरेको वडाध्यक्ष खाम्चाले बताए । ‘एक जना गाउँका भाइले भारतीय महिला बिहे गरेर आएका छन्,’ उनले भने, ‘हामीले त्यस समस्याका बारेमा कर्मचारीलाई बुझ्दा अदालत गएर बुझ्नुस् भने । यसको समाधान के हुन्छ ?’
भारतीय महिला बिहे गरेर उसको बच्चासमेत भइसकेको अवस्थामा नागरिकता दिन नसकेको उनले सुनाए । जवाफमा जिल्ला न्यायाधीश शंकरराज बरालले भने, ‘यसलाई कर्मचारीले नै सल्ट्याउन सक्ने अवस्था हुन्छ । भारतीय नागरिकता त्यागेको र दूतावासबाट कागजपत्र झिकाएपछि नागरिकता दिन सकिन्छ ।’
वडा नम्बर ५ का वडाध्यक्ष बेलबहादुर ढेंगाले काम गर्ने क्रममा धेरै कानुनी जटिलता आउने गरेको सुनाए । उनले पनि गाउँमा रुकुमका घरज्वाइँ बसेकालाई बिहे दर्ता र जन्मदर्ता गराउन नसकेको समस्या राखे । उनले यस्ता समस्या समाधान गर्न नसकेर अड्किनु परेको सुनाए ।
गाउँपालिका उपाध्यक्ष निर्मला भट्टराईले कानुनको विद्यार्थी नभएकाले मुद्दा मिलाउनलाई समस्या हुने बताइन् । ‘अहिलेसम्म परेका मुद्दाको मिलापत्र गरिएको छ,’ उनले भनिन्, ‘जटिल खालका समस्यासमेत लिएर आउने भएकाले उनीहरूलाई प्रहरी र अदालतमा पठाउने गरेका छौं ।’ अर्का वडाध्यक्ष जनक रिजेलले मेलमिलाप गराउन भएको समस्या, मुद्दामा साक्षी बस्न मिल्ने/नमिल्ने विषयमा जिज्ञासा राखे । उनले सार्वजनिक मुद्दाका विषयमा समेत धेरैलाई जानकारी नभएको बताए ।
वडा नम्बर ४ का वडाध्यक्ष मधु पराजुलीले बाबुबिनाको बच्चा लिएर जन्मदर्ता गराउन आउँदा समस्या परेको सुनाए । ‘अहिले जन्मदर्ता गर्दा भोलि नागरिकता कसरी दिने ?’ उनले भने, ‘अब यसलाई हामीले केही गर्न सकेको अवस्था छैन ।’
माथागढी गाउँ कार्यपालिका सदस्य सावित्रा ज्ञवाली पन्थीले पीडित महिलाका विषयमा मुद्दा मामिला गर्ने खर्च नभए कसरी गर्ने भन्ने विषयमा जिज्ञासा राखिन् । वडा नम्बर १ की सदस्य विद्या सिंजालीले वडामा आइपर्ने कानुनी जटिलतालाई समाधान गर्न निकै समस्या हुने गरेको सुनाइन् ।
वडा नम्बर १ का अध्यक्ष शिवप्रसाद घिमिरेले नागरिकताका विषयमा धेरै अलमल भइरहनुपर्ने अवस्था आएको बताए । माथागढी गाउँपालिका अध्यक्ष सन्तोष थापामगरले न्यायिक समितिमा कानुनी जटिलता आउने गरे पनि त्यसका लागि प्रहरी र अदालतमा सोधेर मात्र काम गर्ने गरेको बताए ।
जिल्ला न्यायाधीश बरालले परम्परागत कानुनबाहेक पनि नयाँ कानुनलाई समेटेर अहिले संहिता आएकाले यसका विषयमा जानकारी लिन आग्रह गरे । मुलुकी अपराध संहिता अन्तर्गत मुलुकी अपराध संहिता, मुलुकी फौजदारी कार्यविधि, कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐन रहेको उनले जानकारी गराए ।
मुलुकी अपराध संहिता अन्तर्राष्ट्रिय फौजदारी न्याय प्रणालीमा आधारित रहेको बताए । ऐनले विवाहित पुरुषले अर्को बिहे गरे त्यस्तो विवाह स्वत: बदर हुनुका साथै कारबाहीको भागीदार हुने व्यवस्था पनि गरेको जानकारी गराए ।
जिल्ला सरकारी वकिल कार्यालयका सहायक जिल्ला न्यायाधिवक्ता ऋषिकेशव बस्यालले मुलुकी देवानी र फौजदारी संहिताका विषयमा जानकारी गराए । उनले सरकारी वकिलले सरकारवादी मुद्दाका विषयमा अभियोजन दर्ता गर्ने बताए ।
जिल्ला अदालतका स्रेस्तेदार कृष्णमुरारी सिग्देलले न्याय निरुपण गर्ने काममा अदालत र सरकारी वकिल कार्यालय एकअर्काको पूरक हुने बताए । अदालतले प्रदान गर्ने सबै सेवासुविधा र कानुनी ज्ञानबारे जानकारी दिन आफूहरू गाउँ आएको उनले बताए ।
समुदायलाई अदालतको ज्ञान दिने कार्यक्रम अन्तर्गत जनतासँग निकट हुँदै जनतामा अदालतप्रतिको आस्था र विश्वास बढाउन जनताको घरदैलोमा आएको तहसिलदार भेषराज खनालले बताए । अधिवक्ता नारायण ज्ञवाली र वैतनिक कानुन व्यवसायी गीता शर्माले अदालती प्रक्रिया, मुद्दाको प्रवेश प्रक्रिया, अदालत र कानुन व्यवसायीबीचको सम्बन्ध, महिला अधिकार र कानुनी उपचारका विषयमा जानकारी गराए ।
कार्यक्रममा जनप्रतिनिधि, महिला सदस्य, शिक्षक, विद्यार्थी, संघसंस्थाका प्रतिनिधि सहभागी थिए । उनीहरूले गाउँघरमा आइपर्ने समस्याका विषयमा जिज्ञासा राखेका थिए ।
प्रकाशित : मंसिर २३, २०७५ १०:२५