३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

विकासले फेरिँदै बस्ती

वीरेन्द्र केसी

अर्घाखाँची — जिल्लाको गोखुङ्गाका थमबहादुर घम नागरिकता बनाउन हिंडेरै सदरमुकाम आएका थिए । पैदल सन्धिखर्क आउन ६ घण्टा समय लाग्थ्यो । पैदल यात्राका लागि सहज सडक थिएन । अहिले अवस्था फेरियो ।

सदरमुकाम र घरनजिकै बनेको छ । करिब एक घण्टामा सदरमुकाम आउजाउ सम्भव भएको छ । यातायातका साधन संचालनले सर्वसाधारणको दैनिकी बदलियो ।


नागरिकता बनाउन जाँदा भोगेको कष्ट बिर्सेका छैनन् । ‘आधा बाटो जाँदा चप्पलको तुना छिनेर खाली खुट्टा हिँडेंको थिए,’ उनले भने, ‘बीचमा काँडा बिझेर दु:ख पाइयो, घर फर्केपछि दुई दिनसम्म खुट्टा दुख्यो । नुनपानी र घ्युले मालिस गरेपछि निको भयो ।’ अहिले घर अगाडि मोटरबाटो छ । सुरुमा गैती, कोदालो र घनले बाटो खन्दा हातमा ठेला परेका थिए ।


महिनौंसम्म घरबाट रोटी, आटो, मिठो खानेकुरा बोकेर जाने दिनभर ढुंगा फुटाल्ने र बेलुका थकित भएर फर्किएको उनले बताए । ‘बाटो खन्न कम्ती दु:ख भएन,’ उनले भने, ‘लामो दूरी भएकाले धेरै समय लाग्यो । सुरुमा ट्रयाक्टर आयो, त्यसपछि जिप र अहिले ट्याक्सी आए ।’ त्यतिबेला जस्तो गैती बोकेर बाटो खन्न कोही जाँदैनन् । दिनभरमा नभ्याइने काम अहिले डोजरले छिनभरमा भ्याइदिन्छ ।


पोखरा–अर्घाखाँची–सुर्खेत सडकले धेरैजसो गोखुंगा छोएको छ । पहिले सडक बनाउन बजेट माग गर्दै सदरमुकाम धाउनुपथ्र्याे । नयाँ संरचना बनेपछि गाउँपालिका र वडामा गएर माग्न सजिलो भएको उनले बताए । मालारानी गाउँपालिका ९, गोखुंगा प्युठानको झिमरुक र मल्लरानी गाउँपालिकासँग सीमा जोडिएको छ ।


सन्धिखर्कबाट हंसपुरको रतनमारेसम्म सालझण्डी–सन्धिखर्क–डोरपाटन सडकले छोएको छ । मालारानीको केन्द्र खनदहबाट रतनमारे हुँदै ठाढुंगा, गोखुंगा भएर पोखरा–सुर्खेत सडक निर्माण भएको छ । डबल कटिङ सडक अब ग्राभेल हुँदैछ । ‘दशकभित्रै यति धेरै विकास भएको देख्न पाइयो, विकास भएको देख्दा खुसी लाग्छ,’ वडा सदस्य जुना घिमिरेले भनिन् । सदरमुकामबाट सामान बोकेर दुई दिनमा भरियाले पुर्‍याउँथे ।


आवश्यक परेका बेला सामान पुर्‍याउन सकस थियो । सिमेदेउरालीमा उनको किराना र होटल पसल छ । मुख्यबाटो फराकिलो छ । ट्रक, बस र जिप चल्छन् । टोलसम्म जिप र ट्याक्सी जान्छन् । अरू जान नसक्ने साँघुरो बाटोमा ट्याक्सी जान्छन् । बिरामी परेर सदरमुकाम जानुपरे मोबाइलबाट फोन गरेर

ट्याक्सीलाई बोलाउँछौं, पौने घण्टामै घरअगाडि आइपुग्छ, ठाढुंगाकी गीता पन्थीले भनिन् ।


अहिले हातमा मोबाइल, घरमा बिजुलीबत्ती, टिभी, ल्यापटप, इन्टरनेट सुविधा छ । गाडी सुविधा र खानेपानी सबै छ । ‘वडा र पालिका कार्यालय गएपछि विकास योजना माग्न सकिन्छ । सहरमा भन्दा गाउँमै आनन्द छ, त्यसैले मैले यतै घर बनाएँ,’ उनले भनिन् । पौने घण्टामा गाडीबाट सदरमुकाम पुगिन्छ । जतिबेला पनि ट्याक्सी घरमै आइपुग्छन् किन महँगोमा घडेरी किनेर सहर जानुपरो ? सदरमुकाममा घडेरी किन्ने पैसाले यहाँ राम्रै घर बन्छ, उनले भनिन् ।


सहरमा तराईको तरकारी ताजा हुँदैन, विषादी हुन्छ, यहाँ त आफ्नै हातले उब्जाएर खान पाइने उनले बताइन् । अर्गानिक खान पाइन्छ । छोराछोरी पढाउन नजिकै बोर्डिङ स्कुल छ । पढाइमा राम्रो अंक ल्याउँछन् । गाउँमा जस्तो स्वच्छ हावापानी, ताजा खानेकुरा, मेलमिलाप र अप्ठेरो पर्दा एकजुट भएर पाइने सहयोग सहरमा पाइँदैन, उनले भनिन् ।


गाउँमा एउटा पक्की घर बनाउने, दुहुनो भैसी, तरकारी खेतीका लागि करेसाबारीमा खेती गरेकी छन् । फरक यति हो, सहरमा जोडिएका ठूला घर हुन्छन्, गाउँमा हुँदैनन्, उनले भनिन् । गोखुंगा

सिमेदेउराली बजारमा प्युठानका गाउँबाट समेत सामान किन्न आउँछन् । अग्लो डाँडो भएकाले आन्तरिक पर्यटकीय स्थलको रूपमा चिनिंदै छ । यहाँ चिसो हुने भएकाले गर्मी सिजनमा आन्तरिक पर्यटक बस्न र घुम्न आउन थालेका छन्, वडाध्यक्ष फनबहादुर घमले भने ।


गोखुंगाको राँगामारेमा दुर्गाभगवती मन्दिर छ । यहाँ दसैंको चर्तुदशीका दिन ठूलो सरायजात्रा लाग्छ । अर्घाखाँची, प्यूठान र गुल्मीका हजारौं भक्तजन आएर दर्शन गर्छन् । बामरुकको नृसिंहस्थान मन्दिरमा आन्तरिक पर्यटक बढ्दो छन् । बामरुकमा ४ वर्ष अघिसम्म गाडी जाँदैनथे । जिपसहित साना गाडी लिएर दैनिक आन्तरिक पर्यटक दर्शनका लागि जान्छन् ।


मन्दिरमा आएका पर्यटकलाई बसाल्न यहाँ लमजुङको घले गाउँ शैलीका ४ वटा होमस्टेको निर्माण भइरहेको मालारानी गाउँपालिकाका अध्यक्ष बालकृष्ण आचार्यले बताए । ‘केही महिलाअघि हामी घले गाउँ पुगेर अध्ययन गर्‍र्यौं,’ उनले भने, ‘पाहुनालाई स्वागत गर्ने र बसाल्ने तरिका सिकेर आएपछि त्यही स्टाइलको होमस्टे बन्दैछन् ।’ यहाँ आउने पाहुनालाई स्थानीय उत्पादन खुवाउने, परम्परागत संस्कृतिका नृत्य देखाउने तयारी भइरहेको आचार्यले बताए ।


गाडी नचल्दा र सञ्चार सुविधा नपुग्दासम्म विकट गाउँ भनेर चिनिन्थ्यो । यातायात, सञ्चार सेवा पुगेपछि सर्वसाधारणको आनिबानी फेरिएको छ । सरकारी कामका लागि एक दिनमा सदरमुकाम पुगेर फर्किन भ्याइँदैनथ्यो । बाँगी देउरालीमा डेढ घण्टा हिँडेर चामल, नुन तेल किन्न जानुपथ्र्याे । अहिले गाउँमै जिपले ल्याइदिन्छ । सिंचाइ सुविधा छ । उत्पादन राम्रो हुन्छ । गाडीबाटै तरकारी सन्धिखर्क पठाएपछि अहिले पैसा भित्रिएको छ । विकास तीव्र रूपमा भइरहेको छ । सुविधाले गाउँको मुहार फेरिंदैछ, बामरुकका स्थानीय दलबहादुर भट्टराईले भने ।


बामरुकसँग जोडिएको बाँगी गाउँबाट पैदल यात्रामा सन्धिखर्क आउन साढे २ घण्टा लाग्थ्यो । अहिले गाडीमा २० मिनेट लाग्छ । दूध, तरकारी र खसीबोका बजारमा ल्याई बिक्री गर्न सजिलो भएको छ । रतनमारेबाट घेरको लेक हुँदै खनदहसम्म द्वन्द्वको बेला तत्कालीन माओवादीका सेनाले मोटरबाटो निर्माण गरेका थिए ।


पत्थर र जंगल सहितको लेक छ । यहाँ मालारानी मन्दिर छ । मन्दिरअगाडिबाट मोटरबाटो छ । पोखरा–सुर्खेत सडक यही जोडियो । मालारानीलाई धार्मिक पर्यटकीय स्थल बनाउन गाउँपालिकाले गुरुयोजना बनाएर काम गरिरहेको प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र मरासिनीले बताए ।

प्रकाशित : मंसिर २३, २०७५ १०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?