कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

प्रभावकारी भएन प्लास्टिकमुक्त अभियान

पाल्पा — तानसेन नगरपालिकाका विभिन्न स्थानबाट ५ बोरा प्लास्टिक बरामद गरिएको छ । तानसेन नगरपालिकाले वन तथा वातावरण व्यवस्थापन संयोजक तथा कार्यपालिका सदस्य भीमबहादुर कुमालको संयोजकत्वमा गरेको अनुगमनमा ती प्लास्टिक बरामद भएका हुन् ।

प्रभावकारी भएन प्लास्टिकमुक्त अभियान

नगरपालिकाले २०७० जेठ २२ देखि नगरभित्र प्लास्टिक झोला निषेध गरेको थियो । तर, अनुगमनको अभावले गर्दा जतासुकै प्लास्टिकका झोला प्रयोग हुँदै आएको छ ।


मिसन अस्पताल, बर्तुङ, प्रभास क्षेत्रमा नगरपालिकाले अनुगमन गर्दा ३ सय किलोभन्दा बढी प्लास्टिक झोला बरामद भएको संयोजक कुमालले बताए । ‘केही दिनभित्र बजार क्षेत्रमा पनि अनुगमन सुरु हुन्छ,’ उनले भने, ‘अहिले ग्रामीण बजारमा के कस्तो अवस्था छ भनेर अनुगमन गरेको हो ।’


पछिल्लो समय तानसेन बजारमा प्लास्टिकजन्य झोला खुलेआम बिक्री हुँदै आएको थियो । तानसेन प्लास्टिकमुक्त सहर भए पनि अनुगमन नहुँदा जथाभावी प्रयोग र बिक्री भएको छ । ५ वर्षअघि नै तानसेन नगरपालिका, उद्योग वाणिज्य संघ, टोल विकास संस्थालगायतको पहलमा प्लास्टिक झोलामुक्त सहर घोषणा गरिएको थियो । तानसेनलाई सुन्दर र स्वच्छ नगर बनाउने उद्देश्य अनुरूप प्लास्टिक झोलामुक्त सहर घोषणा गरिए पनि प्लास्टिक नियन्त्रण हुन भने सकेको थिएन ।


तानसेन नगरपालिकाले पूर्ण रूपमा प्लास्टिकमुक्त सहर बनाउने प्रयास गरेको जनाएको छ । तर, स्थानीय व्यापारीहरूले लुकीछिपी प्लास्टिक झोला बिक्री रोकेनन् । पछिल्लो समय डम्पिङ साइड प्लास्टिकले भरिएको छ ।


नगरपालिकाले बजारमा प्लास्टिक झोला प्रयोग गरे/नगरेको अनुगमन र नियमन नगर्दा झन् बढेको स्थानीय केशव अधिकारीले बताए । ‘जतासुकै प्लास्टिकको झोला भेटिन्छन्,’ उनले भने, ‘घोषणा गरेपछि त्यसको अनुगमन र नियमन गर्नुपर्ने थियो तर भएन ।’ बजारमा प्लास्टिकका झोला जथाभावी रूपमा बिक्री भइरहेकै छन् ।


नगर प्रहरी प्रमुख जयप्रकाश उप्रेतीले पहिलो चरणमा ग्रामीण क्षेत्रमा अनुगमन गरेको बताए । ‘यति धेरै प्लास्टिकका झोला बरामद होला भनेर कल्पना पनि थिएन,’ उनले भने, ‘जतासुकै प्रयोग गरिएको रहेछ । बजार क्षेत्रमा पनि अनुगमन छिटो गर्नुपर्ने देखियो ।’ विभिन्न क्षेत्रबाट बरामद गरिएका प्लास्टिकजन्य झोला नष्ट गरिएको सरसफाइ शाखा प्रमुख शंकर भण्डारीले बताए ।


नगरपालिकाले निषेध गरेका प्लास्टिक बिक्री वितरण र प्रयोग गरी नियम उल्लंघन गर्नेहरूलाई पहिलोपटक त्यत्तिकै छाडिएको उनले बताए । ‘पहिलोपटकलाई सचेत गराई छाडिएको छ,’ उनले भने, ‘आगामी दिनमा गल्ती गरे जरिवाना नै गर्ने योजना छ ।’

प्रकाशित : मंसिर २४, २०७५ १०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?