१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

दररेट पेस गर्न निर्देशन

ठाकुरसिंह थारु

नेपालगन्ज — स्वास्थ्य जाँचमा मनपरी शुल्क लिएको गुनासोपछि जिल्ला जनस्वास्थ्य कार्यालयले सरोकारवालाहरूलाई लिखित दररेट पेस गर्न निर्देशन दिएको छ ।

बाँकेमा सञ्चालनमा रहेका सबै स्वास्थ्य केन्द्रले सर्वसाधारणसँग हाल लिने गरेको शुल्क रेट मागेको हो ।

यहाँका सरकारी तथा निजी अस्पताल, पोलिक्लिनिक, डाइग्नोस्टिक सेन्टर तथा डेन्टल क्लिनिकले ल्याबलगायतका जाँचमा ३/४ गुणा बढी शुल्क लिने गरेको पाइएको छ । जिल्ला जनस्वास्थ्यले जाँच शुल्कमा एकरूपता कायम गर्न सबैसँग रेट मागेको हो ।


‘ल्याब, एक्सरेलगायतका जाँचमा मनपरी शुल्क लिएको गुनासोपछि पहिलो चरणमा सर्वपक्षीय छलफल गरिसकेका छौं । दोस्रो चरणमा उनीहरूले लिने गरेको शुल्कबारे लिखित माग गरेका छौं,’ जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत रामबहादुर चन्दले भने, ‘उपलब्ध भएपछि दररेटमा एकरूपता कायम गर्न फेरि छलफल गर्ने छौं ।’ बाँकेमा सरकारी तथा निजी गरी १७ अस्पताल छन् ।


पोलिक्लिनिक १२, प्याथोलोजी तथा डाइग्नोस्टिक ४०, स्वास्थ्य क्लिनिक ५७, एक्सरे ६, भिडियो एक्सरे ५, आँखा अस्पताल ३, दाँत क्लिनिक ११, फिजियो केयर २ गरी १ सय ५३ स्वास्थ्य केन्द्र छन् ।

ठूला अस्पातलहरूका आफ्नै ल्याब, एक्सरे सेवा सञ्चालनमा छन् ।


सरकारीमा पनि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले लिने गरेको ल्याबलगायतका जाँच शुल्क महँगो लिने गरिएको छ । स्वास्थ्य जाँचमा एकरूपता गर्न एक समिति पनि गठन भएको छ । जिल्ला जनस्वास्थ्य, जिल्ला प्रशासन, ल्याब एसोसिएसन, उद्योग वाणिज्य संघ र उपभोक्ता अधिकार संरक्षण मञ्चलगायतको सयुक्त सहभागिता रहने गरी समिति बनाइएको हो ।


उक्त समितिले ल्याब, अस्पताल, पोलिक्लिनिकहरूमा पुगेर शुल्कबारे अध्ययन गरिनेछ । ल्याब, एक्सरेलगायतका जाँच शुल्कमा एकरूपता ल्याउन बाँकेमा यो पहिलो प्रयास हो । यद्यपि, सरोकारवालाहरूले भने राष्ट्रिय प्रयोगशालाले लिने गरेको शुल्क अनुरूप काम गर्न नसक्ने अडान राख्दै आएका छन् । ‘राष्ट्रिय प्रयोगशालाले लिने गरेकै शुल्क लिनुपर्छ भन्ने हाम्रो जोड होइन । तर, कम्तीमा पनि सबै ठाउँमा एकरूपता कायम गर्ने प्रयास हो,’ जनस्वास्थ्य अधिकृत चन्द भने, ‘एकरूपता कायम भयो भने सर्वसाधारण ठगीमा पर्ने सम्भावना कम हुनेछ ।’


त्यस्तै स्वास्थ्य केन्द्रहरूमा स्वास्थ्य जाँचका लागि लिने शुल्कबारे बडापत्र राख्नुपर्ने सुझाव दिइएको छ । बडापत्रमा शुल्क निर्धारणको सार्वजनिक सूचनाले पनि सर्वसाधारणलाई ठगीबाट जोगाउने विश्वास गरिएको छ ।


बाँकेका निजी स्वास्थ्य केन्द्रले शुल्क निर्धारण नगर्दा उपभोक्ता र सञ्चालकबीच विवाद हुँदै आएको छ । त्यस्तै कमिसनको लोभमा चिकित्सहरूले आवश्यकताभन्दा बढी स्वास्थ्य जाँच गराउन बाध्य पार्ने गरेको आरोप छ ।

प्रकाशित : मंसिर २४, २०७५ १०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?