३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

बागलुङ सीमासम्मै कालोपत्रे

हरि गौतम

रुकुमपूर्व — मध्यपहाडी लोकमार्गअन्तर्गत भूमे गाउँपालिका १ को तुकुबाङखोलादेखि पूर्व बागलुङ जिल्लाको सीमासम्मको १३ किलोमिटर सडक खण्ड कालोपत्रेको तयारी अन्तिम चरणमा पुगेको छ ।

बागलुङ सीमासम्मै कालोपत्रे

तुकुबाङखोलादेखि पश्चिमतर्फको किमुबोटसम्मको १६ किलोमिटर खण्डमा कालोपत्रेका लागि बेस निर्माणको काम भइरहेको छ ।


चन्द्रा एन्ड वसन्त निर्माण कम्पनीले उक्त खण्डका लागि ग्राबेल सकेर कालोपत्रेका लागि बेस बनाउँदै छ । किमुबोटदेखि पश्चिमतर्फ रुकुम पश्चिम मुसीकोट नगरपालिकाको रिनदहसम्मको ३६ किलोमिटर सडक ग्राबेल गर्न धमाधम कटिङ, नाली निर्माण, ग्याबिन जाली हाल्ने काम भइरहेको छ ।


कालिका प्यासाफिक जेभीले उक्त खण्ड ग्राबेलका लागि काम गरिरहेको छ । किमुबोटदेखि रुकुमकोटसम्म १६ किलोमिटर लामो एउटा र रुकुमकोटदेखि रिनदहसम्मको २० किलोमिटर अर्को खण्ड छ । यो खण्डको कालोपत्रेसम्मको ठेक्का भइसकेको छ । रिनदहदेखि पश्चिमतर्फ शीलतपोखरीसम्मको १४ किलोमिटर सडक पनि कालोपत्रेको तयारी भइरहेको छ ।


एक वर्षअघि कालिका कन्स्ट्रक्सन कम्पनीले ग्राबेल गरिसकेको उक्त खण्ड कालोपत्रेका लागि तयारी छ । सोही सडकको हासिबाङदेखि चौरजहारी नगरपालिकाको भेरी पुलसम्मको ३२.५ किलोमिटर सडक खण्डमा ग्राबेलको काम चलिरहेको छ ।


दिवा–चन्द्रा एन्ड वसन्त जेभीले यो खण्ड ग्राबेलको काम गरिरहेको छ । यसमा २ खण्ड बनाएर काम भइरहेको छ । हासिबाङदेखि चाइनाबगरसम्म १६.५ किलोमिटर र चाइनाबगरदेखि चौरजहारी भेरीपुलसम्म १६ किलोमिटर लामो खण्डमा ग्राबेलको काम भइरहेको छ ।


मध्यपहाडी लोकमार्ग रुकुमपूर्व र रुकुमपश्चिम गरी १ सय २३.५ किलोमिटर लामो छ । यी दुई जिल्लामा पर्ने मध्यपहाडी लोकमार्गलाई ८ खण्डमा विभाजन गरेर स्तरोन्नतिको काम भइरहेको छ । ८ मध्ये ७ खण्डको कालोपत्रे गर्नेसम्मको ठेक्का लागेर काम भइरहेको छ भने एउटा खण्डको कालोपत्रेको ठेक्का लागेको छैन ।


रुकुमपश्चिम मुसीकोट नगरपालिकामा पर्ने सेरीगाउँदेखि हासिबाङसम्मको १२ किलोमिटर सडकको कालोपत्रे गर्ने ठेक्का लाग्न बाँकी छ । कालोपत्रे ठेक्का लागिसकेको रुकुमपूर्वका २ खण्ड र रुकुम पश्चिमको एउटा खण्डको निर्माण सक्ने सम्झौता एक वर्षको मात्रै छ ।


समयमै स्तरोन्नतिको काम सकेपछि यस क्षेत्रका सर्वसाधारणको दैनिकी धेरै सजिलो हुने भूमे गाउँपालिका अध्यक्ष रामसुर बुढामगरले बताए ।

प्रकाशित : मंसिर २४, २०७५ १०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?