कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

किशोरीको मृत्यु : परिवारद्वारा छानबिन माग

कमल पन्थी

बर्दिया — एक महिनाअघि राजापुर नगरपालिका–४ लठुवा सामुदायिक वनमा मृत फेला परेकी किशोरीको घटना छानबिन गर्न परिवारले माग गरेका छन् ।

किशोरीको मृत्यु : परिवारद्वारा छानबिन माग

गत कात्तिक १२ गते रूखमा झुन्डिएको अवस्थामा शव फेला परेको घटना रहस्यमय भएको दाबी गर्दैै आफन्तले सत्यतथ्य जाँच गर्न उच्चस्तरीय छानबिन माग गरेका हुन् ।


बाख्रा चराउन गएकी १४ वर्षीया प्रमिला चौधरी झुन्डिएको अवस्थामा फेला परेकी थिइन् । बालिका घर नफर्किएपछि प्रहरी र स्थानीयले खोजी गर्ने क्रममा सामुदायिक वनमा झुन्डिएको अवस्थामा शव फेला परेको थियो ।


वननजिकै कर्णाली नदी भएकाले छिमेकी अरुण, संजोक र जीवन थारू नुहाउन गएका थिए । आमा वेदान्तीले खाना खाएर बिहान बाख्रा चराउन गएकी छोरी साँझसम्म नफर्केपछि खोजी गरेकी थिइन् । ‘राति ८ बजेसम्म जंगल र नदी आसपास खोजियो,’ उनले भनिन्, ‘घटनास्थलनजिक भारतीय जंगल भएकाले हात्तीको डरले रातभर खोज्न सकेनौं ।’


अर्को दिन बिहान १० बजे झुन्डिएको अवस्थामा शव फेला परेको आफन्तले बताए । झुन्डिएको स्थानदेखि करिब एक सय मिटर दूरीमा चप्पल फेला पर्नु, शरीरको पछाडि लुगामा माटो लाग्नु, कपडा च्यातिएको, मुखमा चोट र रगत देखिनुले बलात्कारपछि हत्या भएको शंका लागेको आमा वेदान्तीले बताइन् ।


बाख्रा चराउन गएकी प्रमिलासित बिहान साढे ११ बजे भेट भएको छिमेकी अरुणले बताए । ‘कर्णालीमा पौडी खेलेर फर्किंदा भने उनलाई देखेनौं,’ उनले भने । मुक्तकमैया परिवारमा हुर्किएकी प्रमिला स्थानीय अमर सहिद दशरथ चन्द माविमा कक्षा ८ मा पढ्थिन् । ‘यस वर्ष फस्ट हुन्छु भन्थी,’ दिदी शर्मिलाले सुनाइन् ।


आफन्ती राजकुमारीले बलात्कारपछि हत्या भएको दाबी गरिन् । ‘उच्च स्तरीय छानबिन समिति गठन गरी सत्यतथ्य बाहिर ल्याउनुपर्छ ।’ घटनालगत्तै केही संघसंस्थाले बलात्कारपछि हत्या भएको भन्दै विरोध जनाएका थिए । प्रहरीले झुन्डिएर मृत्यु भएको दाबी गरेको छ ।


राजापुर प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक नभएकाले शवको परीक्षण कैलालीको टीकापुरमा भएको थियो । इलाका प्रहरी राजापुरका डीएसपी तिलक भारतीले बलात्कार भएर हत्या भएको कुनै प्रमाण नदेखिएको बताए । ‘घटनास्थलमा प्रमिलाले महिनावारी हुँदा लगाइएको प्याड सुरक्षित अवस्थामा भेटियो,’ उनले भने, ‘टीकापुर अस्पतालका चिकित्सक नवराज शर्माले गरेको शव परीक्षणमा झुन्डिएर मृत्यु भएको प्रतिवेदन सुरक्षित रहेको छ ।’


घटनालगत्तै प्रहरीले स्थानीय ५/६ जनासँग सोधपुछ गरेको जनाएको छ । यो क्रम अझै जारी रहेको प्रहरीले जनायो । डीएसपी भारतीले गत कात्तिक १६ गते प्रमिलाको रगत लागेका कपडा, महिनावारी हुँदा लगाइएको पेन्टी, प्याड र झुन्डिएको रूखको पात परीक्षणका लागि विधि विज्ञान प्रयोगशाला, काठमाडौं पठाएको जानकारी दिए । ‘परीक्षण भइसकेकाले चाँडै रिपोर्ट आउनासाथ कारण सार्वजनिक गर्छौं,’ भारतीले भने, ‘अनुसन्धानमा कुनै कसर बाँकी राखिएको छैन ।’

प्रकाशित : मंसिर २४, २०७५ १०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?