कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

नमुना पर्यटकीय गन्तव्य बन्दै मौलाकोट

दाङ — यहाँस्थित घोराही उपमहानगरपालिका–१३ स्थित मौलाकोट गाउँलाई नमुना पर्यटकीय गन्तव्य घोषणा गरिएको छ । स्थानीय युवाको पहलमा विकट क्षेत्रमा रहेको गाउँलाई विकाससँग जोड्न नमुना ग्राम कार्यक्रम थालिएको हो ।

प्राकृतिक सुन्दरता, ऐतिहासिक धार्मिक स्थल रहेको, हिमाल अवलोकन र दाङ उपत्यका हेर्न सकिने भएकाले नयाँ गन्तव्यका रूपमा विकास गर्न लागेको मौलाकोट जेसिज ग्रामका संयोजक माधव केसीले बताए । नियमित र दीर्घकालीन योजनाका साथ काम गरिने उनले बताए ।


त्यहाँ भ्यु टावर, होमस्टेजस्ता संरचना तयार गरेर पर्यटक आकर्षित गरिने उनले बताए । ‘उपमहानगरको सुन्दर र रमणीय स्थल हो । यहाँ शिक्षा, स्वास्थ्य र आयआर्जनको अवस्था कमजोर छ,’ उनले भने, ‘यहाँको पर्यटन विकास गरी स्थानीयलाई उत्पादनसँग जोड्न थालेका छौं ।’ घोराहीको उत्तरी पहाडी भेगमा रहेको मौलाकोटबाट उत्तरमा हिमाल र दक्षिणमा तराईको फाँट हेर्न सकिन्छ ।


प्राकृतिक रूपमा सुन्दर भए पनि विकासमा पछि परेका कारण पर्यटकीय ग्राममार्फत विकासको गति दिन सकिने स्थानीयको विश्वास छ । दीर्घकालीन रूपमा आधारभूत आवश्यकता पूर्ति गर्न स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारसँग समन्वय गरेर काम गरिने केसीले बताए । मौलाकोटमा पुग्न पर्यटकीय तथा धार्मिक क्षेत्र बाह्रकुने, ज्यामिरे दह हुँदै पैदल मार्ग प्रयोग गर्ने गरी पनि योजना बनाइरहेको उनले बताए ।


‘ज्यामिरे र बाह्रकुने दह मौलाकोट मुनि पर्छन् । त्यहाँ डुंगाबाट शयर गर्दै रमाउने र वनभोज खाने व्यवस्था छ,’ उनले भने, ‘त्यहाँबाट थोरै माथि उक्लिएपछि मौलाकोटको सुन्दरता देख्न पाइन्छ । स्वच्छ र सफा हावापानी भएको उच्च पहाडी क्षेत्र भएकाले लामो समय रमाउन सकिन्छ ।’ स्थानीय खानाका परिकारको स्वाद लिँदै कला संस्कृतिमा रमाउन सकिने व्यवस्था पनि मिलाइने उनले जानकारी दिए ।


मौलाकोट जेसिज ग्रामको उद्घाटन गर्दै प्रदेशसभा सदस्य अमरबहादुर डाँगीले विकट बस्तीका रूपमा रहेका मौलाकोट र बुढाकोट गाउँलाई एकीकृत रूपमा विकाससँग जोड्न आवश्यक रहेको बताए । विकासका दृष्टिले पछाडि परेका गाउँठाउँको विकासमा युवाहरू जोडिनु निकै उदाहरणीय काम भएको उनले बताए ।


‘युवाहरूको सकारात्मक गतिशीलता अहिलेको आवश्यकता हो । मौलाकोट र बुढाकोटको विकासमा युवाहरूको सक्रियता प्रोत्साहनयोग्य छ,’ उनले भने, ‘युवाहरू यस्तै सिर्जनशील काममा जोडिनुपर्छ । काममा मात्रै नभएर सोच र सिर्जनामा पनि युवा हुनुपर्छ ।’


शिक्षा, स्वास्थ्य, सरसफाइजस्ता कार्यक्रमहरूमा जोड दिएर पर्यटकीय गाउँ बनाइने मौलाकोट नमुना ग्रामको संयोजन गरिरहेको त्रिभुवन नगर जेसिजका अध्यक्ष लालमणि भण्डारीले बताए । प्राकृतिक रूपमा उत्कृष्ट भएर पनि मौलाकोटमा कच्ची सडक पुगे पनि नियमित यातायात नचलेको, विद्युत् सुविधा नभएको र उच्च शिक्षाको समस्या भइरहेको स्थानीय वडा नम्बर १३ का सदस्य हरिबहादुर घर्तीले बताए ।


‘प्रकृतिले सुन्दरता दिए पनि राज्यले ध्यान दिन सकेन । यहाँको विकास सुस्त छ । नगरपालिका कार्यालय पुग्न पनि घण्टौं पैदल हिँड्नुपर्छ,’ उनले भने, ‘अब पर्यटकीय केन्द्र बन्न थालेपछि सबैको ध्यान आकर्षित हुनेमा आशावादी छौं । नगरको एउटा नमुना गाउँ बन्नेछ ।’ नमुना ग्रामको काम थालिएदेखि मौलाकोटमा घोराही बजारबाट साहित्यकार, कलाकार र अन्य पर्यटनप्रेमीहरू नियमित आउने र कार्यक्रम गर्ने गरेको उनले बताए ।

प्रकाशित : मंसिर २५, २०७५ १०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?