कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ठेकी बनाउने एक्ला मिस्त्री

माधव अर्याल

पाल्पा — काठको ठेकी बनाउने (कुद्ने) ५६ वर्षीय देउबहादुर सुनारलाई अहिले कामले फुर्सद छैन । तिनाउ गाउँपालिका–२ तीनहलेका उनलाई काठका सामग्री कुद्न भ्याइ–नभ्याइ भएको हो ।

ठेकी बनाउने एक्ला मिस्त्री

विगत ३० वर्षदेखि काठका ठेकालगायत अन्य सामग्री बनाएरै उनले परिवार धान्दै आएका छन् । जिल्लामै आफू मात्र यस्तो काम जानेको मिस्त्री भएको उनको दाबी छ ।


बिहान उठेदेखि रात नपरुन्जेलसम्म काठका ठेका कुद्नमै व्यस्त हुन्छन् । लोपोन्मुख काठका ठेका, काठकै माने, हर्पे, गिलास, आरी बनाउन उनले जानेका छन् । उनले मासिक कम्तीमा ३५ हजार यही कामबाट कमाउने बताए । साथमा ३/४ जनालाई रोजगारीसमेत दिएका छन् । ‘काठका सामग्री कुद्नलाई मैले मात्र सक्दिनँ,’ उनले भने, ‘त्यसैले अरू कामदार सहयोगी पनि लिएर हिँडनुपर्छ ।’


तिनाउको तीनहले, ओखलढुंगामा दलित बस्ती छ । विपन्न परिवार जंगलको बीच भागमा बसोबास गर्छन् । उनीहरूको आम्दानीको स्रोत यस्तै कामबाट हुने गरेको छ । सुनारका बुबाले उनलाई काम सिकाएका थिए । बुबाको मृत्यु भइसकेको छ । ‘बुबाले ठेका मात्र बनाउने गर्नुहुन्थ्यो,’ उनले भने, ‘अहिले मैले सबै सामग्री बनाउने गर्छु ।’ उनका अनुसार परिवारलाई पालनपोषणका लागि यही पेसा सहयोगी बनेको छ ।


गाउँघरमा परम्परागत रूपमा दही जमाउन ठेका प्रयोग गरिन्थ्यो । घ्यू राख्न पनि माना, हर्पे नै प्रयोग हुने गथ्र्याे । दुग्धजन्य पदार्थ राख्नका लागि काठकै सामग्री बढी प्रयोग हुन्थे । त्यसैका साना सामग्री ठेका, ठेकी, माने, आरी, गौवा, ढेउवा, गिलासलगायतका काठबाट बनाइन्थ्यो । भैंसी पाल्ने चलन कमी हुँदै गए पनि अझै पनि गाउँमा काठका ठेकाठेकी बिक्री हुने उनले बताए ।


अधिकांश गाउँमा यस्ता सामग्री बनाउन बोलाउने गर्छन् । घरमै बनाएर बिक्री गर्नसमेत हिँड्छन् । ‘समूहबाट काठ पाएँ भने घरमै बनाउने गर्छु,’ उनले भने, ‘बाहिर गएँ भने एक माना अट्ने ठेकीको ज्याला ३ सय रुपैयाँ लिन्छु ।’ गाउँमा काठ छ भने बोलाएपछि जाने गर्छन् ।


दैनिक उनले १ हजार ५ सय रुपैयाँ ज्याला लिने गरेको बताए । ‘बुबाले सिकाएको पेसालाई निरन्तरता दिएको छु,’ उनले भने, ‘काम नपाएर बस्नु परेको छैन ।’ घरमा फुर्सदको समयमा उनले परिवारको सहयोगमा ठेकाठेकी बनाएर बस्छन् । उनका अनुसार नयाँ पुस्ताले सीप सिक्न खोज्दैनन् । विदेश जाने मोह बढी छ । त्यसैले परम्परा नै लोप हुन लागेकामा उनलाई पनि चिन्ता छ । ‘म मरें भने यहाँ होइन, पाल्पा जिल्लामै कोही मिस्त्री छैन,’ उनले भने, ‘त्यसैले यस्तो सीप बाँड्न स्थानीय सरकार चनाखो हुनुपर्छ ।’


एउटा ठेकाको मूल्य २ हजारदेखि ५ हजार रुपैयाँसम्म पर्ने गरेको छ । उनले वार्षिक एक सयभन्दा बढी ठेका बनाउने गरेको बताए । छिमेकी गाउँ लग्दुवा, छतिवन, ओखलढुंगा, ओढारखोलालगायतमा गएर गाउँभरका लागि ठेका कुदेको सुनारले सुनाए । गिठी, कटहर र विजयसालको काठबाट निर्माण गरिएका ठेका पुस्तौंसम्म टिकाउ हुन्छन् । यस्ता काठको माग बढ्दो छ ।


घरमै बसेर आफ्नै सीपमा रमाउने गरेको उनले बताए । उनले चलाएको व्यवसायलाई जीवितै राख्नुपर्ने तिनाउ गाउँपालिका–२ दोभानका वडाध्यक्ष राजेश श्रेष्ठले बताए । उनले यही पेसालाई निरन्तरता दिनका लागि तालिम चलाउन वडा कार्यालय तयार रहेको बताए । ‘हाम्रो वडामा रहेको सीपलाई अझ विस्तार गर्ने योजना छ,’ उनले भने, ‘यस्तो काम गराउन निकै मुस्किल पर्ने अवस्था आउने देखेको छु ।’

प्रकाशित : मंसिर २५, २०७५ १०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?