कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

कमल दहमा पर्यटन महोत्सव

हरि गौतम

रुकुमपूर्व — जिल्लाकै मुख्य पर्यटकीय स्थल हो, कमल दह । सिस्ने गाउँपालिका–५ रुकुमकोटस्थित कमल दहछेउमै पर्यटन महोत्सव आयोजना गरिएको छ । रुकुमपूर्व छुट्टै जिल्ला बनेपछि पहिलोपटक पर्यटन तथा सांस्कृतिक महोत्सव आयोजना गरिएको हो । 

कमल दहमा पर्यटन महोत्सव

मंगलबार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले महोत्सवको उद्घाटन गरे । महोत्सवको पहिलो दिन जिल्लाका स्थानीय विभिन्न झाँकी प्रस्तुत गरिएको थियो । ‘महोत्सवले जिल्लाको विकासमा योगदान पुर्‍याउनेछ,’ मन्त्री पोखरेलले भने, ‘प्रचारप्रसारमार्फत पर्यटन प्रवद्र्धन र व्यापारमार्फत आर्थिक विकासमा टेवा पुग्ने विश्वास लिएको छु ।’


जिल्लाको पर्यटकीय क्षेत्रको प्रवद्र्धन र सांस्कृतिक सम्पदाको प्रचारका लागि महोत्सव आयोजना गरिएको आयोजक संस्था रुकुमपूर्व चेम्बर अफ कमर्सका अध्यक्ष दिलीप थापाले बताए । ‘प्रदेश ५ को एक मात्र हिमाली जिल्लाको पर्यटकीय क्षेत्रको प्रचारप्रसार गरेर पर्यटक भित्र्याउन यसो गरिएको हो,’ उनले भने, ‘जिल्लाको विकासमा टेवा पुर्‍याउने लक्ष्य राखेर महोत्सव आयोजना गरिएको छ ।’


यस जिल्लाका विशेषता तथा हेर्नलायक र घुम्नलायक ठाउँ एवं परम्परा र रीतिरिवाजका बारेमा जानकारी गराउने उद्देश्यले महोत्सव आयोजना गरिएको उनले बताए । ‘जिल्लामा भएका पर्यटकीय, धार्मिक, ऐतिहासिक, चालचलन, वेशभूषाको प्रचारप्रसार र त्यसको अध्ययनमा सहयोग पुर्‍याउने हाम्रो उद्देश्य हो,’ अध्यक्ष थापाले भने ।


महोत्सव आगामी पुस ५ गतेसम्म चल्नेछ । जिल्लाभित्रका सबै पर्यटकीय क्षेत्रका बारेमा जानकारी दिइनुका साथै स्टलहरूमा जिल्लाको पहिचान झल्काउने तस्बिरहरू राखिएको छ । महोत्सवमा स्थानीयले तयार गरेका कम्बलदेखि स्थानीय खानाको समेत प्रवद्र्धन गर्ने गरी स्टल निर्माण गरिएको आयोजक समितिले जनाएको छ । स्टलमा राखिएका स्थानीय उत्पादनको प्रदर्शनीका साथै बिक्री वितरण पनि गरिने अध्यक्ष थापाले बताए ।


मध्यपहाडी लोकमार्गका कारण जिल्ला आउ–जाउ गर्न सजिलो भएकाले सकेसम्म जिल्लाबाहिरका सर्वसाधारणलाई महोत्सवमा ल्याउन प्रयास गरिने जनाइएको छ । छिमेकी जिल्ला रुकुमपश्चिम, रोल्पा, बागलुङ, पोखरा, सल्यान, दाङ, जाजरकोट, काठमाडौंसमेतबाट पर्यटक आउने अपेक्षा गरिएको आयोजक समितिले जनाएको छ ।


५२ पोखरी ५३ टाकुरीको जिल्लामा हिमाल, हिमताल, पोखरी प्रशस्त छन् । यसका साथै बहुमूल्य जडीबुटी यार्चा पाइने बुकीसमेत यही जिल्लामा पर्छ । सिस्ने हिमाल, देउराली ओडार, सप्तऋषि धारा तथा तातोपानी पनि महोत्सव स्थलबाट नजिकै पर्छन् । जिल्लाको पुथाउत्तरगंगा गाउँपालिकामा मात्रै ६ हजार मिटरभन्दा बढी उचाइका ६ हिमाल छन् । रुकुमकोट आसपासका अधिकांश पर्यटकीय स्थलमा सर्वसाधारण पुग्ने गरी कार्यक्रम बनाइएको छ ।

प्रकाशित : मंसिर २६, २०७५ १०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?