स्कुलमा हाजिर लगाउँछन् अभिभावक

रोल्पा — त्रिवेणी गाउँपालिकाको नेर्पा जुगारस्थित जनजागृति माविको व्यवस्थापन समिति फेरिएसँगै विद्यालयको पढाइ र बाहिरी वातावरण सुधार्न पहल थालिएको छ । विद्यार्थी र शिक्षकसँगै समिति पदाधिकारी पनि विद्यालयमा दैनिक हाजिर गर्छन् । 

जुगार गाविसका पूर्वअध्यक्ष मित्रलाल घर्तीमगर समिति अध्यक्षमा निर्वाचित भएपछि शिक्षक, अभिभावक र विद्यार्थीलाई सक्रिय बनाउँदै दिनमा १२ घण्टाभन्दा बढी समय खटिने गरेका छन् । ‘आउँदो २ महिनाभित्र विद्यालयको वातावरण सुधारेरै देखाउँछु,’ उनले भने । उनी दोस्रोपटक व्यवस्थापन समिति अध्यक्षमा चुनिएका हुन् ।


‘विद्यालयको शैक्षिक अवस्था सुधार योजनामा काम गर्ने चाहना थियो,’ उनले भने, ‘गाउँपालिका र अभिभावकको चाहना पनि त्यही भएकाले अध्यक्ष भएको हुँ ।’ विद्यालय छेउमा भाडामा बस्दै आएका उनी बिनापारिश्रमिक बिहान ६ बजेदेखि नै विद्यालयको शैक्षिक सुधारको काममा खट्दै आएका छन् ।


विद्यालयमा कार्यरत शिक्षक र विद्यार्थीले जसरी व्यवस्थापन समितिका पदाधिकारीले पनि दैनिक हाजिरी गर्छन् । ‘उहाँको खटाइले राम्रो प्रतिफल दिने देखिएको छ,’ विद्यालयका स्रोत व्यक्ति रेगम जीसीले भने, ‘उहाँको अध्यक्षमा कार्यरत समितिले विद्यालयको शैक्षिक वातावरण फेरिएको छ ।’


अध्यक्ष घर्तीमगरले आफ्नो कार्यकालमा भौतिक र शैक्षिक अवस्था सुधार्ने गरी कार्य गर्दै आएका छन् । गाउँ शिक्षा समितिले उनलाई ६ महिनाका लागि अध्यक्षको जिम्मेवारी दिएको हो । स्रोत व्यक्ति जीसी पूरै अवधिका लागि उनलाई नै अध्यक्षको जिम्मेवारी दिएमा विद्यालयको अवस्था सुध्रने बताउँछन् ।


विद्यार्थी र शिक्षकका आनीबानी सुधार गर्नेदेखि अभिभावकसँगको अन्तरक्रियालाई निरन्तरता दिएको देख्दा शैक्षिक सुधार चाँडै हुनेमा स्रोत व्यक्ति जीसी आशावादी छन् । विद्यालयमा नयाँ योजनासहित शिक्षक जीवराज भण्डारीलाई प्रधानाध्यापकमा नियुक्त गरिएको छ ।


पञ्चायतकालमा स्थापना गरिएको उक्त विद्यालयको शैक्षिक अवस्था २०५५/५६ मा खस्किएको हो । तत्कालीन माओवादीले ०५२ देखि थालेको सशस्त्र द्वन्द्वको अवधिदेखि उक्त विद्यालयको शैक्षिक अवस्था ध्वस्त भएको स्थानीय बताउँछन् ।


त्यसअघिसम्म उक्त विद्यालयको शैक्षिक, खेलकुद तथा अतिरिक्त क्रियाकलाप जिल्लाभर चर्चा हुन्थ्यो । स्थानीयदेखि राष्ट्रिय तहका खेलकुद, शैक्षिक एवं अन्य गतिविधिमा भाग लिँदा उक्त अवधिमा विद्यालयले सम्मान र पदक पाउँदै आएको थियो ।


अहिले करिब ७ सय विद्यार्थी अध्ययनरत उक्त विद्यालयले ०६० पछि स्थानीय तथा जिल्लामा सञ्चालित कुनै पनि प्रतियोगितामा सफलता प्राप्त गरेको छैन । विद्यालयमा पुस्तकालय, प्रयोगशाला निर्माण गर्ने योजना छ । जनप्रतिनिधिले सहयोग गरेकामा व्यवस्थापन समिति झन् सक्रिय हुने अध्यक्ष घर्तीमगरको धारणा छ ।


अध्यक्ष घर्तीले आफैंले अध्ययन गरेको विद्यालयको व्यवस्थापन सुधार्न व्यक्तिगत काम र परिवारसँगको बसाइँ छाडेर लागेको बताए । ‘शिशु कक्षादेखि अध्ययन गरेको विद्यालय भएकाले सकेजति यस विद्यालयको विकासमा लाग्ने सोच बनाएको छु,’ उनले भने । आफूसँगै उक्त विद्यालयमा अध्ययन गरेका पूर्वविद्यार्थी शान्तकुमार वली गाउँपालिकाको अध्यक्ष भएकाले काम गर्न सहज भएको उनले बताए । गाउँ शिक्षा समितिको संयोजकमा गाउँपालिका अध्यक्ष छन् ।


गत स्थानीय तहको निर्वाचनमा ‘साहसी उम्मेदवारलाई जिताउनुपर्छ’ भन्ने नारा लिएर प्रचारमा निस्केका घर्तीमगरले आफ्नै साथी अध्यक्षमा निर्वाचित भएपछि विकासको ढोका खोल्न सकिने दाबी गरेका हुन् ।

माओवादी द्वन्द्वताका ‘सुरक्षित’ हुन बाँके झरेका उनी शान्ति प्रक्रियापछि भने जन्मगाउँ नै फर्केका थिए ।


जुगारको जरीबाङमा जन्मेका ५० वर्षीय घर्तीमगरले भने, ‘छोराछोरी हुर्किसके । अब जनताका लागि काम गर्छु ।’ उनले विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुनुअघिदेखि नै गाउँपालिका अध्यक्ष वलीलाई योजना निर्माण र कार्यान्वयनमा सघाउँदै आएका थिए । ‘विकास योजनाबारे गम्भीर चासो दिने व्यक्तिको सहयोग पाउँदा निकै खुसी लागेको छ,’ अध्यक्ष वलीले भने, ‘गाउँको विकासमा उहाँको सहयोग धेरै छ ।’

प्रकाशित : मंसिर २६, २०७५ १०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?