विद्यालयलाई पुस्तकालय जिम्मा

विद्यालयमा पुस्तकालय सञ्चालन भएपछि अभिभावकको आकर्षण र पहुँच बढ्दै
माधव अर्याल

पाल्पा — जिल्लाका विभिन्न स्थानमा रहेका १ सय ६१ पुस्तकालय सामुदायिक विद्यालयलाई हस्तान्तरण गरिएको छ । बालबालिकामा पढ्ने बानीको विकास गर्न आधारभूत र माध्यमिक विद्यालयमा त्यस्ता पुस्तकालय सञ्चालन गरिएका छन् ।

सन् २०१५ मा सञ्चालन गरिएको कार्यक्रमअन्तर्गत २५ वटा हस्तान्तरण भइरहेका छन् । यसअघि २०१४ का २५ विद्यालयमा पुस्तकालय हस्तान्तरण गरिएका थिए । सन् २००८ मा ३०, २००९ मा ४१ र २०१० मा ४० वटा पुस्तकालय यसअघि हस्तान्तरण भइसकेका थिए ।


गैरसरकारी संस्था रुम टू रिड र पछौटेपन उन्मूलन समाज (बेस) को प्राविधिक सहयोगमा स्थापना भएका ती पुस्तकालय विद्यालयमा हस्तान्तरण भएका हुन् । साबिकको जिल्ला शिक्षा कार्यालयको समन्वयमा स्थापना गरेका पुस्तकालय पूर्ण रूपमा विद्यालयलाई हस्तान्तरण गरिएको रुम टू रिडका कार्यक्रम अधिकृत राधाकृष्ण हुमागार्इंले बताए । ‘अहिलेसम्म स्थापना भएका पुस्तकालय विद्यालयलाई हस्तान्तरण गरिएको छ,’ उनले भने, ‘हामीले सरकारको एक विद्यालय एक पुस्तकालय कार्यक्रमलाई नै सहयोग गरेका हौं ।’


रुम टू रिड र बेसको अहिले पनि थप २५ विद्यालयमा पुस्तकालय कार्यक्रम चलिरहेको छ । पुस्तकालयसँगै कक्षा १ र २ मा साक्षरता कार्यक्रमका लागि भवन निर्माणमा समेत सहयोग गरेको छ । ‘कतिपय विद्यालयमा भवन निर्माणमा सहयोग गरिएको छ,’ उनले भने, ‘जसले गर्दा दिगो व्यवस्थापनमा सहयोग पुगेको छ ।’ उनले प्रतिविद्यालय कम्तीमा ५ वर्षीय दिगोपनाको योजना बनेको बताए ।


अहिलेसम्म जिल्लामा ४९ वटा भवन निर्माणमा सहयोग गरेको उनले बताए । भुसालडाँडा माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक सुन्दरप्रसाद श्रेष्ठले पुस्तकालय विद्यालयको एक अभिन्न अंग बनेको बताए । यसको सञ्चालन प्रक्रियामा अभ्यस्त बनिसकेको हुनाले हस्तान्तरणपछि विद्यालयले सञ्चालन गर्न सक्नेमा कुनै द्विविधा नरहेको उनले बताए । ५० हजारको कोष रहेको छ ।


त्यसबाहेक विद्यार्थीले जन्मदिनको अवसरमा पुस्तकालयलाई गरेको सहयोग ११ हजार रहेको उनले बताए । ‘शिक्षकको एक दिन बराबरको तलब दिने योजना छ,’ उनले भने, ‘विद्यार्थीमा विभिन्न प्रतियोगिता गराउने र मकैको झोत्ती उठाएर भए पनि दिगोपना ल्याइने योजना बनाइएको छ ।’


उनले विद्यार्थीमा पढ्ने बानीको विकास भइसकेको र पुस्तकालय एक अभिन्न अंग बनिसकेको बताए । विद्यार्थी भूमिका ढकालले सबै विद्यार्थीको लगाव पुस्तकालयमा बसेको बताइन् । उनले कहिलेकाहीं पुस्तकालय शिक्षकको अभावमा विद्यार्थी नै अग्रसर भएर सञ्चालन गर्ने गरेको बताइन् ।


‘हामी सबैले जन्मदिनका दिन सक्दो सहयोग पुस्तकालयलाई गर्ने गरेका छौं,’ उनले भनिन् । विद्यालयमा २ हजार ५ सयदेखि ४ हजार ५ सयसम्म पुस्तक छन् । ४ हजार पुस्तक रुम टू रिड र बेस नेपालले प्रदान गरेका हुन् । त्यसमा समुदाय, विद्यालय, संघसंस्थाले समेत थप्ने गरेको बेसका साक्षरता प्रशिक्षक भूपाल आलेले बताए ।


बेसले सन् २००८ देखि २०१२ सम्म पुस्तकालय स्थापना कार्यक्रम चलाएको थियो । सन् २०१४ देखि पुस्तकालय कार्यक्रमका साथै जिल्लामा एकीकृत साक्षरता कक्षा चलाएको छ । जसमा कक्षा १ र २ मा नेपाली भाषाको पठन सीप सुधार्न सहयोगी बनेको आलेले बताए ।


विद्यालयलाई पुस्तकबाहेक ३५ थान काठका सामग्री, २२ थान पोस्टर प्रदान गरिएको छ । अन्य सामग्री विद्यालय आफैंले तयार गरेर पुस्तकालय सजाउने गर्छन् । हरेक विद्यालयमा कम्तीमा ६५ हजार बराबरको फर्निचर प्रदान गरिएको छ । पुस्तकालयले दिगोपनाका लागि आफ्नै कोष स्थापना गरेका छन् ।


विद्यालयमा पुस्तकालय सञ्चालन गर्न साधारण, आजीवन र विशिष्ठ सदस्य गराउने गरेको भुसालडाँडा माविकी प्रधानाध्यापक कमलादेवी खातीले बताइन् । पुस्तकालय हस्तान्तरणपश्चात् दिगो बनाउन ५ वर्षे पुस्तकालय सुधार योजना निर्माण गरिएको छ । सोही योजनाका आधारमा निरन्तर अगाडि बढ्ने उनले बताइन् ।


पुस्तकालयका लागि सामुदायिक वन उपभोक्ता समूह, स्थानीय तह, सहयोगी संघसंस्था, अभिभावक र विद्यार्थीले सघाएका छन् । ‘पुस्तकालय स्थापनापछि शिक्षक र विद्यार्थीको पढ्ने बानीको विकास भएको छ,’ खातीले भनिन्, ‘छुट्टी हुनासाथ मैदान दगुर्ने विद्यार्थीलाई पुस्तकालय जाने बानी परेको छ ।’


यस जिल्लामा पहिलोपटक तत्कालीन लक्ष्मी निमावि दर्छामा पुस्तकालय खुलेको हो । शिक्षक र विद्यार्थीमा पढ्ने बानीको विकास भएको छ भने शैक्षिक सामग्री प्रयोग गर्न थालेका छन् । पुस्तकालय विद्यालयमा सञ्चालन भएपछि अभिभावकको आकर्षण र पहुँच बढेको दाबी विद्यालयहरूको छ ।


बेस नेपालले कक्षा १ र २ मा नेपाली भाषा शिक्षकका लागि शैक्षणिक तालिम, पुस्तकालय व्यवस्थापन, पठन क्रियाकलाप, फर्निचर, कार्पेट, कोठा व्यवस्थापनलगायतमा सहयोग गर्ने गरेको छ । विद्यार्थीमा पढ्ने बानीको विकास गर्ने, शिक्षकहरूमा शैक्षिक सामग्रीको प्रयोगमा वृद्धि गर्ने र समुदायको पहुँच पुर्‍याउने मुख्य उद्देश्यका साथ पुस्तकालय स्थापना तथा सञ्चालन गरिएको बेस नेपालका प्रमुख कार्यकारी अधिकृत शालिकराम पाण्डेयले बताए ।

प्रकाशित : मंसिर २६, २०७५ १०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?