१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

गौमुखीका सबै घरमा जस्तापाता

गिरुप्रसाद भण्डारी

प्यूठान — गौमुखी गाउँपालिका–३ रजबाराका नीमबहादुर मल्ल केही दिनमै जस्तापाताले घर छाउने तयारीमा छन् । गाउँपालिकाले नि:शुल्क जस्तापाता वितरण गरेपछि उनी खरको छानोबाट मुक्ति पाउन लागेका हुन् ।

गौमुखीका सबै घरमा जस्तापाता

२० वर्षअघि निर्माण गरेको एकतले घरका छानामा जस्ता टल्किने भएपछि उस्तै दंग छन् ।


‘हरेक वर्ष घर छाउनुपर्ने झन्झट हट्ने भो,’ उनले भने, ‘पानी चुहिने समस्या अब नहोला ।’ गाउँपालिकाबाट आएका प्राविधिकले लागत अनुमान गरेपछि जस्तापाता ल्याएको मल्लले बताए । ‘एक–दुई दिनमा छाउने योजना बनाएको छु,’ उनले भने, ‘गाउँका धनीमानीले मात्र ढुंगा र जस्तापाताले छाएका थिए । यस अभियानले हाम्रा घर पनि बदलिने भए । निकै खुसी छौं ।’


जस्तापाता पाउने खबर सुनेपछि एक साताअघि नै खर हटाएर छाउने तयारी अवस्थामा घर राखेको स्थानीय कुलबहादुर मल्लले बताए । ‘जस्ताले छाउने भनेर खरको छानो हटाएर तयारी राखेको छु,’ उनले भने, ‘तुरुन्तै छाउने काम सुरु गर्छु ।’ चुहिने, आगलागी हुने, हरेक वर्ष छाउनुपर्ने झन्झट हट्ने आशाले स्थानीय हर्षित भएको उनले सुनाए ।


खरका छाना जस्तापातामा बदल्ने योजनाअनुसार गौमुखी गाउँपालिकाले रजबाराबाट जस्तापाता वितरणको काम थालेको हो । यो अभियानले सबै स्थानीय हर्षित भएको रजबाराका सामाजिक अगुवा गोबर्धन थापाले बताए । ‘यहाँका खरका छाना जस्तापातामा बदलिने कुराले सबै खुसी छांै,’ थापाले भने, ‘कत्तिको दिगो र बलियो हुन्छ, त्यो भने हेर्न बाँकी छ ।’


उनले स्थानीय सामुदायिक वनबाट काठसमेत सहयोग भएको सुनाए । ठेक्कामार्फत ५ करोड २८ लाख ४४ रुपैयाँ बराबरको जस्तापाता खरिद गरिएको गाउँपालिकाका अध्यक्ष विष्णुकुमार गिरीले बताए । हुलास स्टिलको २६ गेज ४० एमएमको जस्तापाता ल्याइएको उनले सुनाए ।


‘रजबारामा मात्र ५ सय ५ खरले छाएका घर रहेछन्,’ जस्तापाता वितरण कार्यक्रममा रजबारा पुगेका गिरीले भने, ‘सबैलाई पुग्ने गरी जस्तापाता गाउँमै ल्याइसकिएको छ । केही दिनमै खरले छाएका गौमुखीका सबै घर जस्तामा बदलिनेछन् ।’


निर्वाचित भएको पहिलो वर्ष सडक निर्माणमा अधिकांश बजेट खर्च गरे पनि अपेक्षाअनुसारको उपलब्धि हासिल नभएको उनले बताए । ‘यसपालि सडकको बजेट कटाएँ,’ उनले भने, ‘खरका छाना हटाउने कार्यक्रमका लागि प्राथमिकता दिएर बजेट छुट्याएको छु ।’


खरका छाना विस्थापन कार्यक्रमले स्थानीयलाई हरेक वर्ष घर छाउने झन्झट हट्ने र खर किन्न लाग्ने रुपैयाँ बचत हुने गिरीले बताए । गाउँपालिकाभरका १ हजार ६ सय ३३ घरलाई जस्तापाता वितरण गर्नुपर्ने तथ्यांकअनुसार बजेटको व्यवस्था गरेर जस्तापाता वितरण गर्न थालेको प्रमुख प्रशासकीय अधिकृत प्रेमचन्द्र अर्यालले बताए ।


‘सबैका घरमा प्राविधिक पुगेर स्टिमेट गरेअनुसारको जस्तापाता आएको छ,’ उनले भने, ‘घरको नापअनुसारका पाता आइसकेका छन् ।’ वडाध्यक्षको संयोजकत्वमा गठन भएको समितिमार्फत जस्तापाता वडाहरूबाट वितरण हुने अर्यालले बताए ।

प्रकाशित : मंसिर २६, २०७५ १०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?