मौरीपालन तालिममा अनियमितता

६ दिनको हाजिर, ४ दिनको तालिम

दाङ — मौरीपालक महासंघ केन्द्रीय समितिले किसानका नाममा निकासा भएको रकम दुरुपयोग गरेको छ । घोराही उपमहानगरपालिकामा ६ दिनसम्म संचालन गर्नुपर्ने मौरीपालन सम्बन्धी तालिममा यस्तो अनियमितता देखिएको हो ।

आयोजकले ४ दिन तालिम चलाएका थिए । त्यसमा सहभागीलाई ६ दिनको हस्ताक्षर गर्न लगाएको पाइयो । दातृ संस्था जीआईजेडको सहयोगमा सञ्चालन गरिएको तालिम तोकिएको भन्दा कम समय सञ्चालन गरिएको सहभागीले गुनासो गरे ।


‘६ दिनको हाजिर गर्न लगाइयो । ६ दिनकै प्रमाणपत्र दिइयो तर तालिम चार दिनमा सकियो,’ घोराही १५ की उमा देवकोटाले भनिन्, ‘यस्तो अनियमितताले हाम्रो मन दुखेको छ । किसानका नाममा आएको रकम यसरी हिनामिना गर्न कहाँ पाइन्छ ?’ गत मंसिर २२ देखि २७ सम्म तालिम सञ्चालन गरिएको कागजात तयार गरिएको छ ।


उक्त कार्यक्रम भने २५ गते समापन गरिएको थियो । स्थानीय मनकामना होटलमा २२ जना किसानलाई सहभागी गराएर एड्भान्स मौरीपालन तालिम सञ्चालन गरिएको थियो । ४ दिनमा तालिम समापन गराएर बिल, भर्पाई भने ६ दिनको बनाएर लगिएको छ ।


किसानका नाममा आएको बजेट दुरुपयोग भएको भन्दै मौरीपालक संघ प्रदेश, जिल्ला र घोराही उपमहानगर समितिले आपत्ति प्रकट गरेका छन् । महासंघको प्रदेश ५ का प्रदेश अध्यक्ष रामहरि शर्मा, जिल्ला अध्यक्ष विष्णुराज श्रेष्ठ र उपमहानगर समिति अध्यक्ष तीर्थराज अधिकारीले प्रेस विज्ञप्ति जारी गरी अनियमितताको छानबिन गर्न माग गरेका छन् ।


‘किसानलाई पूर्ण ज्ञाण नदिएर ठग्न कहाँ पाइन्छ ? नक्कली कागजात बनाएर अनियमितता गरेकोमा हाम्रो आपत्ति छ,’ प्रदेश अध्यक्ष शर्माले भने, ‘यसले हामीलाई दु:खी बनाएको छ । किसानका नाममा आएको रकम किसानकै लागि खर्च हुनुपर्छ ।’


पूरा समय तालिम नदिएर बनावटी कागजात बनाउनेलाई तत्काल कारबाही हुनुपर्ने जिल्ला अध्यक्ष श्रेष्ठले बताए । ‘सहभागीले पूरै सिक्न पाएनन् । चार दिनको मात्र तालिम चलाएर, त्यही अनुसारका कागजात हुनुपथ्र्यो । कागजात सबै ६ दिनको बनाएर चार दिनमा तालिम सक्नु कहाँसम्मको गैरजिम्मेवारपन हो,’ उनले भने, ‘यसमा गम्भीर छानबिन गरिनुपर्छ । गलत काम गर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्छ ।’


तालिमको संयोजन गरिरहेका मौरीपालक महासंघ केन्द्रीय कार्यालय प्रमुख ठाकुर दवाडीले प्रशिक्षक र आफ्नो काम परेका कारण तालिम छोट्याउनुपरेको बताए । सहभागीकै सहमतिमा ४ दिनमा तालिम सकिएको र बाँकी दुई दिन फेरि गर्न सकिने उनले बताए ।


चार दिनको तालिममा ६ दिनको हाजिर गराएको कुरा उनले स्वीकार गरे । ‘सहभागीलाई के गर्ने भनेर सोधेका थियौं । ६ दिनको नै हाजिर गर्न तयार छौं भनेपछि गरायौं । छुटेको दुई दिनको तालिम फेरि सञ्चालन गर्छौं,’ उनले भने, ‘हामी किसानलाई दिनुपर्ने पूर्ण ज्ञान दिन तयार छौं । अहिले अलि हतारमा फर्कनुपरेकाले समस्या भएको हो । केन्द्रीय र स्थानीय प्रशिक्षक पनि व्यस्त भएकाले पूरा समय दिन कठिन भयो ।’


महासंघका केन्द्रीय अध्यक्ष शिवप्रसाद पौडेलले दैनिक ८ घण्टाको तालिमलाई १२ घण्टा चलाएर छिटो सकेको भन्ने जानकारी आएको र केही कमजोरी भएर सच्याउने बताए । उनी पनि तालिम समापनमा सहभागी भएका थिए ।


‘आवश्यक विषयवस्तु सकियो भनेकाले मैले पनि ठिक छ भनें । यदि बाँकी रहेछ भने फेरि थप दुई दिन तालिम दिइन्छ,’ उनले भने, ‘सबैलाई मह काढ्ने बेला भएकाले पनि अलि हतार भएको हो । अब काम सकेर छिट्टै थप तालिम गर्न सकिन्छ ।’

प्रकाशित : मंसिर २७, २०७५ ११:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?