कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रोकिएन बालिका बलात्कार घटना

प्रहरीका अनुसार बालिका बलात्कारका अधिकांश घटनामा परिवारका सदस्य, चिनजानका व्यक्ति, आफन्त तथा छिमेकी संलग्न हुने गरेका छन् ।
अमृता अनमोल

बुटवल — रुपन्देहीको देवदहमा गत शुक्रबार ५ वर्षीया बालिका बलात्कृत भइन् । रक्तश्रावले गम्भीर उनको लुम्बिनी अञ्चल अस्पतालमा उपचार भइरहेको छ । पाठेघरको भित्री भागमा चोट लागेकाले निको हुन समय लाग्ने उपचारमा संलग्न चिकित्सकले बताए । 

बलात्कारमा संलग्न आरोपमा प्रहरीले सुरुवातमा ६ जनालाई प्रकाउ गरेको थियो । तीमध्ये प्रत्यक्ष संलग्न रहेको आरोपमा देवदह नगरपालिका ७, का १८ वर्षीय जीवन खत्रीविरुद्ध मुद्दा दर्ता गरिएको इलाका

प्रहरी बुटवलका निरीक्षक ऋषिराम घर्ती मगरले बताए ।


गत तिहारका दिन आफन्तसित रमाइरहेका बेला रोहिणी गाउँपालिकाकी तीन वर्षीया जबरजस्तीको सिकार भइन् । खेल्न घरमा आएकी उनलाई चकलेटको प्रलोभन देखाएर छिमेकी दाजु पर्नेले करणी गरेको प्रहरीले जनायो ।


दिउँसो बालिका चिच्याएपछि हेर्न जाँदा वीभत्स अवस्थामा फेला परेकी थिइन् । उक्त घटनामा संलग्न आरोपी १९ वर्षीय सुशान्त भनिने डिलाराज सिग्देल अहिले हिरासतमा छन् । अबोध बालिका करणी तथा यौन हिंसाको सिकार भएका उजुरी पछिल्लो समय जिल्लामा बढिरहेका छन् । सार्वजनिक क्षेत्र मात्र होइन, बालिका घरभित्रै असुरक्षित बन्दै गएका छन् ।


गत भदौमा कञ्चन गाउँपालिकामा मामाघरमा सुतेकी ७ वर्षीया बालिकामाथि छिमेकी तथा मामाका साथी २० वर्षीय विक पुनले जबरजस्ती गरे । राति बालिका चिच्याएपछि परिवारले थाहा पाए । पक्राउ परेका पुनविरुद्ध जबरजस्ती करणी मुद्दा चलिरहेको छ ।


बालिका बलत्कारमा परिवारका सदस्य, चिनजानका व्यक्ति, आफन्त तथा छिमेकी संलग्न पाइएको छ । बाबु, हजुरबुवा, काका, दाजु तथा नातेदार हिंसाका आरोपमा पक्राउ परेका छन् । अपराधमा संलग्नमा युवादेखि र वृद्धसम्म छन् ।


बालिकालाई फकाउन र लोभ्याउन सहज हुने भएकाले यौन दुव्र्यवहार बढेको अनुसन्धानमा संलग्नले बताए । चालु आर्थिक वर्षमा जिल्ला प्रहरीमा ३८ वटा बलात्कार विरुद्धका उजुरी दर्ता भएका छन् । त्यसमध्ये धेरै बालिका छन् । ७ वर्ष मुनिका बालिका ५ जना छन् ।


उजुरीमध्ये २७ वटा घटना अदालत पठाइएको छ । गत वर्ष ६७ वटा बलत्कारका घटना दर्ता भएका थिए । त्यसमा ४१ बालिका थिए । नाबालिका १० जना थिए । अघिल्लो वर्ष १५ जना नाबालिक बलत्कारको निसानामा परेका थिए ।


बालिका यौन दुव्र्यवहारविरुद्ध उजुरी धेरै आए पनि न्याय पाउने बालिका भने कम छन् । प्रहरीको महिला तथा बालबालिका सेवा केन्द्रकी प्रहरी सहायक निरीक्षक मीनाकुमारी आचार्यले धेरै घटनामा बालिकालाई पीडकले प्रलोभन देखाएर बयान फेर्न लगाउँदा समस्या पर्ने बताइन् । कतिपयमा घरपरिवारले बालिकाको भविष्य र


आफ्नो इज्जत जोगाउन भन्दै घटना लुकाउने गरेका छन् । आफन्तबाटै यौन हिंसा हुने, प्रमाण लुकाउने, घरपरिवार तथा प्रत्यक्षदर्शी पीडितको सट्टा पीडकको पक्षमा लाग्दा पनि प्रहरीलाई अनुसन्धानमा झमेला पर्ने गरेको छ ।


प्रहरी अनुसन्धानमा बालिका वा उनको परिवारसँग नजिक भएको, मादक पदार्थको प्रयोग गर्ने र घरमा यौन सन्तुष्ट नभएका धेरै व्यक्ति बलात्कारमा संलग्न भएका छन् । सानो कुरामा लोभिने र घटनाबारे सही सूचना दिन नसक्ने भएकाले सहजै उम्किन सक्ने सोचले पनि बालिकामाथि बलात्कार भएका छन् ।

प्रहरी नायब उपरीक्षक कुमोद ढुंगेलले बालिकालाई फकाउन, लोभ्याउन र धम्क्याउन सहज हुने, प्रतिकार गर्न नसक्ने र यौन हिंसाको हाउभाउ नबुझ्ने भएकाले उनीहरूमाथि धेरै यौन हिंसा हुने गरेको बताए । धेरैजसो घटनामा किशोरावस्थामा प्रवेश गर्न लागेका बालिकाहरूलाई माया गरेको बहानामा र रमाइलोको प्रलोभनमा यौन हिंसा गरेको भेटिएको छ ।


बाहिरी वातावरणमा घुलमेल नभएका, मातृत्व नपाएका वा घरमा आमा नहुने र विद्यालय नजाने बालिकाहरू बढी बलात्कारको निसानामा परेका छन् । नाबालिकामाथिका यौन हिंसा र बलात्कारले समाजको छवि समेत धमिलिएको छ ।


प्रजनन अंगको विकास नभइसकेका बलात्कारमा पर्ने धेरैजसो बालिका शारीरिक तथा मानसिक रूपमा विक्षिप्त हुने गरेका छन् । यसले बालिकाको वर्तमान मात्रै होइन, भविष्य पनि संकटमय बनाएको छ । लुम्बिनी अञ्चल अस्पताल बुटवलका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. श्रीधर आचार्य बलात्कारले संक्रमण भएका बालबालिकाको असर पछिसम्म रहने बताए ।


अधिवक्ता मीना पाण्डे पन्तले परिवारले बालिकाको भविष्य र पारिवारिक इज्जत जोगाउन भन्दै घटना लुकाउँदा पनि पीडकको मनोबल बढेको बताइन् ।

प्रकाशित : मंसिर २७, २०७५ ११:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?