१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

जलविद्युत्‌‌का नहर मर्मत भएनन्

गिरुप्रसाद भण्डारी

प्यूठान — प्रत्येक वर्षायाममा नहर बगाउने समस्याले प्यूठानको गौमुखी गाउँपालिका–३ रजबारामा सञ्चालनमा रहेका लघु जलविद्युत् आयोजना संकटमा पर्ने गरेका छन् ।

१७ किलोवाटको तिखाचुली, ४० किलोवाटको खराखोला र ७ किलोवाटको सिरुङखोला आयोजनाको नहर पहिरोले बगाएको छ । त्यसको मर्मत नहुँदा गाउँपालिकाको ३ नम्बर वडाका ९ सयभन्दा बढी उपभोक्ता प्रभावित भएका छन् । हरेक घरले २ हजार ५ सय रुपैयाँ चन्दा उठाएर निर्माण गरेका आयोजना बन्द हुने अवस्थमा पुगेको स्थानीय जोगेन्द्र मल्लले बताए ।


तीनवटै आयोजनाका नहर बगाउँदा कतै प्लास्टिक राखेर काम चलाइएको छ । केही ठाउँमा जस्तापाता राखेर सञ्चालनमा गरिएको मल्लले बताए । स्थानीयले काम चलाउ बनाएका छन् । पक्की नबनाएकाले संरचना लथालिंग हुन थालेका छन् ।


०६८ सालमा १ करोड १० लाख २५ हजार खर्चमा निर्माण भएको १७ किलोवाट क्षमताको तिखाचुलीको नहर गतवर्ष साउनमा आएको पहिरोले बगाएको थियो । त्यसपछि संंकटमा परेको उपभोक्ता समिति अध्यक्ष मानबहादुर थापाले बताए । स्थानीयले जस्तापाताको कुलो बनाएर जेनतेन सञ्चालनमा ल्याएका छन् । जस्तापातामा खिया लागेर पानी चुहिन थालेकाले बन्द हुने अवस्थामा पुगेको उनले बताए ।


उपभोक्ताबाट चन्दा उठाएर मर्मत गर्न सम्भव नभएको उनले बताए । ‘जस्तापातामार्फत कामचलाउ गरेका छांै,’ उनले भने, ‘खिया लागेर जस्तापाता पनि चुहिने भइसकेका छन् केही दिनपछि आयोजना बन्द हुन्छ ।’ करिब दुई सय मिटर नहर बगाएको छ ।


नहरमा ५४ वटा जस्तापाता लगाएर पानी सञ्चालन गरिएको थापाले बताए । तिखाचुलीबाट साबिकको रजबारा गाविसका ५, ६ र ९ नम्बर वडाका ३ सय ३५ घरधुरीले विद्युत् उपयोग गर्ने गर्दै आएका छन् । बागलुङसित जोडिएको रजबारामा विद्युत् प्राविधिको प्रसारण लाइन पुगेको छैन ।


गुल्मीको मदाने गाउँपालिकाको अग्लुङफेदी भएर लाइन विस्तार गर्न अझै ३/४ वर्ष लाग्ने स्थानीयको भनाइ छ ।


महिनौं श्रमदान गरेर निर्माण गरेका आयोजना संकटमा पर्न थालेपछि अन्धकारमा बस्नुपर्ने भन्दै गाउले चिन्तित बनेका छन् । लघुजलविद्युत् मर्मतमा स्थानीय सरकारले खासै ध्यान नदिएको रजबारामा सामाजिक अगुवा गोवर्धन थापाले गुनासो गरे । स्थानीय खोलामा पानी प्रशस्त रहेको छ । दीर्घकालीन रूपमा नहर निर्माण गर्न नसकिएकाले समस्या भइरहेको थापाले बताए ।


‘लाइन विस्तार गरेका पोलहरूसमेत जीर्ण भइसकेका छन्,’ थापाले भने, ‘मर्मतका लागि स्थानीय सरकारमा धेरै पटक माग गर्‍यौं । कतैबाट सुनुवाइ भएन ।’ आयोजना बन्द भएपछि ४ वटा कुटानी पिसानी मिल, फोटोकपी, दर्जनांै कुखुरापालक किसान, विद्यार्थीलाई पठनपाठानमा समस्या हुने थापाले बताए । ‘आयोजना बन्द हुने अवस्थामा पुगेको छ,’ थापाले भने, ‘सरकाले समृद्धिको कुरा गरिरहँदा रजबारावासी अन्धकारमा फस्दै छाैं।’


स्थानीयले न्यूनतम ८० रुपैयाँ मासिक शुल्क उठाउने गरेका छन् । यो रुपैयाँ मर्मत र कर्मचारीलाई तलबमा खर्च हुने थापाले बताए । ‘कतैबाट अलि ठूलो रकम नआएसम्म दिगो समधान हुनेवाला छैन,’ थापाले भने, ‘तर, हामी दुर्गमवासीको कुरा कसले सुन्ने ?’


रजबाराको लघुजलविद्युत् आयोजनाको नहर भत्केको कुरा गाउँपालिकामा जानकारी आएको प्रमुख प्रशासकीय अधिकृत प्रेमचन्द्र अर्यालले बताए । मर्मतका लागि दुईवटा योजनालाई १ लाख ७५ हजार र एउटालाई दुई लाख रुपैयाँ बजेट विनियोजन गरेको बताए ।


‘आयोजना मर्मत गर्नका लागि टेन्डर निकालेका छाैं,’ उने भने, ‘केही समयमै मर्मतको काम सुरु हुन्छ ।’ चिखाचुली लघुजलविद्युत् आयोजना वैकल्पिक ऊर्जाको ३५ लाख, साबिकको जिल्ला विकास समितिको ६ लाख, साबिकको गाविसको २ लाख ५० हजार, गरिबी निवारण कोष, टिकुरी सक्रिय युवा समूह ८ लाख २ हजार र स्थानीयको २९ लाख श्रमदानमा आयोजना निर्माण सम्पन्न भएको थियो ।


खराखोला लघुजलविद्युत् झन्डै दुई करोड र सिरुङखोला डेढ करोडभन्दा बढी लागतमा निर्माण भएको वडाध्यक्ष तथा खराखोला लघुजलविद्युत् आयोजनाका अध्यक्ष जंगबहादुर पुनले बताए ।

प्रकाशित : मंसिर २८, २०७५ १०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?