कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सामुदायिक वनद्वारा विजयसाल संरक्षण

माधव अर्याल

पाल्पा — तिनाउ गाउँपालिका–२ दोभानस्थित सातपत्रे सामुदायिक वनले लोपोन्मुख वनस्पति विजयसाल संरक्षण गरेर उपभोक्ताको आयआर्जन बढाउन थालेको छ ।

सामुदायिक वनद्वारा विजयसाल संरक्षण

यस्तो वनस्पति संरक्षणले विज्ञानका अध्ययनकर्ता, पर्यटक र विजयसाल व्यवसायीलाई वनतर्फ आकर्षित गर्न सकिने वनले जनाएको छ । उपभोक्ता समितिका अध्यक्ष हरिप्रसाद पाण्डेयले जिल्लामै यही सामुदायिक वनमा मात्र विजयसालका रूख रहेको दाबी गरे ।


सातपत्रेले वनसँगै विजयसाल संरक्षण, पुन: उत्पादन, प्रचारप्रसार, विस्तारलाई प्राथमिकतामा राखेको छ । यसको संरक्षणका लागि वन समूहले सामुदायिक वनलाई खुला चरिचरन निषेधित क्षेत्र बनाएको छ ।


वन समितिले साबिकको जिल्ला वनको सहयोगमा जीपीएस लोकेसनसहितको लगत नम्बरिङ गरेर संरक्षण थालेका छन् । ‘संरक्षणमा क्रियाशील उपभोक्ता बस्ने गाउँलाई ‘संरक्षण नमूना गाउँ’ समेत घोषणा गर्ने तयारी छ,’ समितिका अध्यक्ष पाण्डेले भने, ‘केही वर्षभित्रै वनस्पति विज्ञानका अध्ययनकर्ता, पर्यटक र वनसँग सरोकार राख्ने व्यक्तिलाई आकर्षित गर्ने गरी योजना बनाउँदै छौं ।’ १० वर्षदेखि संरक्षणमा जुट्दा बल्ल त्यसको प्रतिफल देखिएको उनले बताए ।


सामुदायिक वनभित्र ‘विजयसाल नमुना प्लट’ निर्माण गरिएको छ । जंगलमा साल, अस्ना जस्ता प्रजातिसँगै मिसिएर हुर्केको अवस्थामा पातलो रूपमा विजयसालका रूख भेटिएका थिए । पहिले यहाँ यसको महत्त्व थाहा थिएन ।


उपभोक्ताले प्रजाति नचिन्दा दाउराका लागि काट्ने गर्थे । यस प्रजातिको संक्षणमा ठूलो चुनौती देखापरेको सचिव भगवती बस्यालले बताइन् । २९ वटा रूख बाहेक अन्य बिरुवा, लाथ्रा तथा पोल तहको अवस्था वनमा अत्यन्त न्यून छ । जसले गर्दा त्यस्ता उमेर पुगेका पाका रूखहरू मासिएपछि विजयसालको वंशसमेत लोप हुने अवस्था भविष्यमा आउने सम्भावना रहेको उनले बताइन् ।


‘स्थलगत रूपमा अवलोकन निरीक्षण तथा टुर गस्ती गर्ने क्रममा नयाँ प्रजाति भेटिएको हो,’ सचिव बस्यालले भनिन्, ‘त्यसपछि नम्बरिङ गर्ने कार्य गरी फोटोसहितको प्रोफाइल तयार गरिएको छ ।’ स्थानीयले यस क्षेत्रलाई खुला चरिचरन र आगलागी नियन्त्रण गर्दै आएका छन् । त्यसपछि मात्र विजयसाल संरक्षण सम्भव भएको सचिव बस्यालले बताइन् ।


वन संरक्षण नहुँदा विजयसाल लोप हुँदै जाने सम्भावना थियो । अहिले माउ रूखबाट नयाँ बिरुवा उत्पादन भएर विजयसालको पुन: उत्पादन र विस्तार कार्य भइरहेको संरक्षणकर्मी तथा वडाध्यक्ष राजेश श्रेष्ठले बताए ।


वडाध्यक्ष श्रेष्ठले अघिल्लो वर्ष २ लाख खर्च गरेर विजयसाल संरक्षणका लागि विभिन्न काम गरेका छन् । उनले सामुदायिक वनका पदाधिकारी र सदस्यबीच अन्तरक्रिया, प्रचारप्रसार र त्यसको ढलापढा काठबाट सामग्री बनाएको बताए । विजयसालको काठबाट गिलास, कप, हर्पे, आरी बनाइन्छ ।


ठेकाठेकीसमेत कुद्ने चलन रहेको उनले बताए । यसमा पानी राख्दा त्यसबाट निस्केको पहेंले रंगयुक्त पानीको सेवनले चिनीरोग, ग्यास्ट्रिक तथा पेटका बिरामीलाई फाइदा पुग्ने वडाध्यक्ष श्रेष्ठले बताए ।

वनले विजयसाल संरक्षणमा सक्रियता देखाएपछि वडाले पनि बजेट विनियोजन गरेको छ । ‘हामीले पनि यसलाई संरक्षण गर्नुपर्छ भन्ने लागेर बजेट विनियोजन गरेको हो,’ उनले भने, ‘जसले गर्दा यस वर्ष पनि बजेट राखेर संरक्षणको काम गर्ने योजना बनेको छ ।’


विजयसाल कटानी र ओसारपोसार प्रतिबन्धित वनस्पति भएको दोभान सबडिभिजन कार्यालयका प्रमुख चन्द्रबहादुर भाटले बताए । उनका अनुसार विजयसाल संरक्षणका लागि डिभिजन वन र सातपत्रे सामुदायिक वन मिलेर काम गर्ने योजना रहेको छ । विजयसाल संरक्षणसम्बन्धी अध्ययनसमेत गर्ने तयारी गरिरहेको उनले बताए ।

प्रकाशित : मंसिर २८, २०७५ १०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?