२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

ओराही पुल निर्माण ठप्प

कमल पन्थी

बर्दिया — पर्यटकीय केन्द्र बर्दिया निकुञ्जको ठाकुरद्वारा जोड्न ओराही खोलाको कालीगौंडी–प्रतापपुर खण्डमा निर्माणाधीन पुलको काम ठप्प छ ।

ठेक्का लिएका पप्पु कन्स्ट्रक्सन र जय वागेश्वरी माता निर्माण सेवाले कामलाई गति दिएका छैनन् । फिल्डको काम गर्ने जिम्मा जय वागेश्वरीले पाएको छ ।


पुल निर्माणका लागि १० करोड ८२ लाख ७४ हजार ८ सय ९१ रुपैयाँमा ठेक्का सम्झौता भएको डिभिजन सडक कार्यालय नेपालगन्जले जनाएको छ । यसको लम्बाइ १ सय ६० मिटर रहेको छ । जय वागेश्वरीका सञ्चालक यज्ञ खत्रीले पप्पुले आफूलाई ठेक्का नबेचेको दाबी गरे । ‘ठेक्का सम्झौताका बेलामै अख्तियारी दिएको हो, ‘उनले भने,’ टेन्डर सकार नहुँदै सम्झौता भएर सम्पूर्ण अधिकार मेरो नाममा प्रत्योजन भइसकेकाले पप्पुले बिक्री गरेको भन्न मिल्दैन ।’


काम पूरा भएपछि पप्पु कन्स्ट्रक्सनले पनि प्रमाणपत्र पाउनेछ । बैंक, प्यान नम्बरदेखि आर्थिक कारोबार जय वागेश्वरीको नाममा रहेको खत्रीले बताए । अहिले कामले तीव्रता पाएको छैन । स्थानीय वीरबल थारूले ढिलासुस्तीले आगामी वर्षायाममा पनि पुलबाट आउजाउ नहुने निश्चित भएको बताए ।


पुल नहुँदा निकुञ्जको मुख्यालय ठाकुरद्वारा र भुरीगाउँ सडकखण्डमा आउजाउका लागि स्थानीयले वर्षौंदेखि स्थानीय सास्ती भोगिरहेका छन् । ठेकेदार कम्पनी भने निकुञ्जको अवरोध, समयमा भुक्तानी नपाउनुलगायत कारणले कामले तीव्रता नपाएको जनाएको छ ।


निकुञ्जका सहायक संरक्षण अधिकृत अशोककुमार भण्डारीले वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) का नाममा कुनै किसिमको अवरोध नगरेको बताए । ‘ईआईएमा उल्लेख भएका कुरा लागू गर्नुपर्छ,’ उनले भने,’ विकास निर्माणमा निकुञ्जले कहिल्यै अवरोध गरेको छैन ।’


पुलका ४ मध्ये २ पिल्लर निर्माण गर्न लागेको धेरै भइसक्यो । काम अधुरै छ । ठेकेदार कम्पनीले रनिङ बिल बापत करिब २ करोड रुपैयाँ भुक्तानी लगिसकेको डिभिजन सडक नेपालगन्जका इन्जिनियर नेत्र पौडेलले बताए । ‘ठेकेदार कम्पनी सम्पर्कमा आएका छैनन्, ‘उनले भने,’ ताकेता गरिरहेका छाैं, यही स्थितिमा काम मुस्किल छ,’ उनले भने ।

प्रकाशित : मंसिर २८, २०७५ १०:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?