कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

तस्करीको मरिच बरामद

नेपालगन्ज — पछिल्लो समय नेपालगन्ज नाका हुँदै भारतमा मरीच तस्करी हुने घटनाले निरन्तरता पाएको छ । बिहीबार राति तस्करी हुन थालेको साढे १२ क्विन्टल मरीच प्रहरीले पक्राउ गर्न सफल भएको छ । 

यसअघि सशस्त्र प्रहरीले करिब अढाइ क्विन्टल मरीच सीमाबाटै पक्राउ गरेको थियो । वडा प्रहरी कार्यालय नेपालगन्ज र सीमास्थित इलाका प्रहरी कार्यालय जमुनाहाको संयुक्त प्रहरी गस्तीले नेपालगन्ज उपमहानगर १५, जमुनाहा गाउँ हुँदै भारत लैजाँदै गरेको अवस्थामा भारी मात्रामा मरीच बरामद गरेको हो ।

प्रहरीका अनुसार उक्त मरीच लुकाइछिपाइ गरिएको अवस्थामा फेला पारिएको हो । बडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख प्रहरी निरीक्षक नारायण डाँगीले मरीच तस्करीबारे अनुसन्धान भइरहेको बताए । उनका अनुसार बरामद गरिएको मरीचको बजार मूल्य करिब ५ लाख रुपैयाँ पर्छ । तर, यति ठूलो परिणाममा पहिलो पल्ट मरीच बरामद गरिएको उनले जनाए ।


मरीचको बजार मूल्य नेपालमा आठ सय रुपैयाँ प्रतिकिलो पर्ने व्यवसायीहरू बताउँछन् । तर, भारतमा भने दोब्बर मूल्य पर्ने व्यवसायीहरूले जनाए । नेपाली मरीचको माग भारतमा बढी हुने र दोब्बर मूल्यमा बिक्री हुने गरेका कारण भारतसँग सीमा जोडिएका सहरबाट तस्करी हुने गरेको हो । मरीच तस्करीमा बढीजसो महिला प्रयोग हुने गरेको पाइएको छ ।


तस्करीमा प्रयोग गरिने उनीहरूले सल, साडीमा पोका बनाएर मरीच जम्मा गरी एकमुष्ट भारत पठाइने गरिएको छ । थोरैथोरै मात्रामा मरीच तस्करी गर्न सहज भएका कारण तस्करहरूले महिलालाई प्रयोग गर्ने गरेका हुन् ।


नेपालगन्ज नाकाबाट मरीच तस्करी हुन थालेको खुलासा हालै मात्रै भएको हो । यसअघि भारत सीमासँग जोडिएका पूर्वी तराईका जिल्लाबाट मात्र मरीच तस्करी हुने गरेको घटना सार्वजनिक भएका थिए ।


नेपालका पहाडी जिल्लामा मरीच उत्पादन हुने गरेको छ । तर, यहाँको उत्पादनले नेपाली बजार धान्दैन । खुला सीमाका कारण पोकापोकीमा मरीच तस्करी गरी भारतको रुपैडिहा पुग्ने गरेको छ । ‘नेपालमा मरीच कमै उत्पादन हुने गर्छ ।


विदेशबाट नेपाल आयात गरिएका वस्तु अर्को मुुलुकमा बिक्री गर्न नमिल्ने भएकाले मरीच भारतमा बिक्री गर्न मिल्दैन,’ नेपाल जडीबुटी व्यवसायी संघ नेपालगन्जका महासचिव टंक शर्माले भने, ‘बरामद गरिएको मरीच नेपाली वा बाहिरी मुलुकको हुन सक्छ ।’ नेपालगन्ज नाकाबाट बढीजसो लत्ताकपडा, दाल, चिनी, भारतीय कुखुराहरू तस्करी हुँदै आएकामा हाल मरीच तस्करीको घटना सार्वजनिक भएको हो ।

प्रकाशित : मंसिर २९, २०७५ ०९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?