२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

सफासुग्घर अभियानमा उपमहानगर

टोलटोलमा एकसाथ गरिएको सरसफाइले नेपालगन्ज सुन्दर र सफा देखिएको हो ।
ठाकुरसिंह थारु

नेपालगन्ज — फोहोर र धूलोले आक्रान्त नेपालगन्ज वर्षौंपछि सफासुग्घर देखिएको छ । टोलटोलमा एकसाथ गरिएको सरसफाइले नेपालगन्ज सुन्दर र सफा देखिएको हो । 

सफासुग्घर अभियानमा उपमहानगर

शनिबार सडकमा निस्किएका कोही झाडु लगाउँदै थिए भने कोही प्लास्टिक र कागज टिप्दै व्यवस्थापनमा सक्रिय थिए । सर्वसाधारणको अभियानलाई जनप्रतिनिधि, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, विद्यार्थी र अभियानकर्ताले साथ दिए ।


राँझादेखि जमुनाहासम्म सरसफाइका लागि टोली परिचालन भएको हो । त्यससँगै नगरका २३ वटै वडाका भित्री सडक, गल्ली सफा भए । नेपालगन्जका गल्लीगल्लीमा एकसाथ सरसफाइ गरिएको यो पहिलोपटक हो ।


नेपालगन्ज उपमहानगरपालिकाले यो अभियानलाई सरसफाइ महाअभियान बनाउने बताएको छ । ‘नेपालगन्जलाई सरसफाइको नमुना सहरका रूपमा विकास गर्ने प्रयासमा छौं,’ नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत हरि प्याकुरेलले भने, ‘नेपालगन्ज सडकमा जमेको धूलो पनि सफा गरिरहेका छौं ।’ नेपालगन्जका सडकभरि धूलो जमेका कारण सवारीसाधन गुड्दा उड्ने गर्छ ।


नेपालगन्ज मुलुककै पुरानो ऐतिहासिक सहर हो । अव्यवस्थित बस्तीका कारण फोहोरले दुर्गन्धित बन्दै आएको थियो । मुलुककै फोहोरी सहरको सूचीमा परेपछि बल्ल उपमहानगर सरसफाइका लागि तातिएको हो । यसअघि क्लिन नेपालगन्ज, ग्रिन नेपालगन्ज अभियान सुरु गरिएको थियो । त्यसबाहेक नेपालगन्ज उपमहानगरका कर्मचारीले मात्रै सरसफाइ गर्दै आएका थिए ।


अहिले सर्वसाधारण पनि अभियानमा सहभागी भएपछि यसले गति लिएको छ । नगर प्रमुख धवलशमशेर राणाले विकास निर्माणको गतिसँगै सरसफाइ अभियानलाई पनि तीव्रता दिइएको बताए । ‘सरसफाइ हाम्रो सभ्यतासँग पनि जोडिएको छ । अब नेपालगन्ज फोहोरमुक्त हुनेछ,’ उनले भने, ‘यसैगरी सर्वसाधारणले सफाइ अभियानमा साथ दिए सुन्दर सहरका रूपमा स्थापित हुनेछ ।’ घरबाट निस्किने फोहोर सडकमा फाल्ने संस्कार परिवर्तन गर्दै निश्चित स्थानमा फोहोर थुपार्न नगरपालिकाले आग्रह गर्दै आएको छ ।


नगर उपप्रमुख उमा थापामगरले नेपालगन्जमा फोहोर नगर्ने संस्कृतिको विकास भइरहेको बताइन् । ‘फोहोर होइन, सफा नगरपालिका बनाउने अभियानमा सबै लाग्न आवश्यक छ,’ उनले भनिन् । नेपालगन्ज उपमहानगरपालिकाले फोहोर व्यवस्थापनका लागि हिरमिनियामा ल्यान्ड फिल्ड निर्माण गरिरहेको छ ।


नेपालगन्जमा मात्रै दैनिक करिब ३५ टन फोहोर उत्पादन हुन्छ । १३ बिघामा निर्माण भइरहेको ल्यान्ड फिल्डको काम जग्गा विवादका कारण लम्बिँदै गएको छ । एसियाली विकास बैंक (एडीबी)को आर्थिक सहयोगमा निर्माण भइरहेको ल्यान्डफिल्डमा फोहोर प्रशोधन गरिने लक्ष्य छ ।


प्लास्टिकको फोहोर व्यवस्थापन पनि उस्तै समस्या छ । नगर सफा गर्न हरेक वडाबाटै वडाध्यक्षले समेत अगुवाइ गर्ने नगरपालिकाले जनाएको छ ।

प्रकाशित : पुस १, २०७५ १०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?