१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

रोल्पाको लुङ्ग्री खोलामा युवा मृत भेटिए

काशीराम डाँगीे

रोल्पा — रोल्पामा एक युवा मृत अवस्थामा फेला परेका छन् । पूर्वी रोल्पाको सुनिलस्मृति गाउँपालिकाको दोम्फे भन्ने स्थानमा २८ वर्षीय सूर्य बुढाथोकी मृत अवस्थामा सोमबार मध्यान्ह फेला परेको प्रहरीले जनाएको छ । 

सुनिलस्मृति–३ दोम्फेमा पर्ने लुङ्ंग्री खोलामा बुढाथोकीको शव फेला परेको हो । उनी लुंङ्ग्री गाउँपालिका–५ सवार गाउँका बासिन्दा थिए । शनिवारदेखि हराइरहेका बुढाथोकीको खोजी परिवारले गरिरहेको थियो । सुलीचौरस्थित इलाका प्रहरी कार्यालयका इन्चार्ज प्रहरी निरीक्षक सुरेन्द्र धमलाले शव फेला पारेपछि आफन्तले प्रहरीलाई खबर गरेको बताए ।


स्थानीयले आफन्तलाई शवबारे जानकारी दिएपछि आफन्तसहितले प्रहरीले शवको पहिचान गरेको हो । ‘घटनास्थल पुग्दा शव नजिकै रक्सीको २ वटा बोतल पनि भेटिएको थियो । तैपनि घटनाबारे अनुसन्धान भइरहेको छ ।’ प्रहरी निरीक्षक धमलाले भने ।


आफन्तले उनको मृत्यु अत्यधिक मदिरा सेवन गरेकाले हुन सक्ने अनुमान गरेका छन् । सुलीचौरस्थित बजारमा किनमेल गरेर फर्कँदै गरेका बुढाथोकीले पहिलेदेखि नै मदिरा सेवन गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ । शवको पोस्टमार्टम सुलीचौरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमै गर्ने व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ ।


प्रहरीका अनुसार रोल्पामा अत्यधिक मदिरा सेवनकर्ताको सङ्ख्या वृद्धि भएकामा चिन्ता थपिएको छ । दुर्घटना, घटना र आत्महत्या लगायतका कारण वर्षमा कम्तीमा ७० जनाको मृत्यु हुने गरेको छ । ती घटनामध्ये अधिकांशमा मदिरा सेवन गाँसिदै आएको प्रहरीको निष्कर्ष छ ।


प्रहरीले सदरमुकाम लिबाङ र सुलीचौर लगायतका बजार क्षेत्रबाट अत्यधिक मदिरा सेवनकर्तामध्ये कम्तीमा एक दर्जनको उद्धार गरी सुधार गृहमा पठाइसकिएको जनाएको छ । जनप्रतिनिधिहरू पनि मदिरा निषेध गर्ने सवालमा छलफलमा जुट्दै आएका छन् ।

प्रकाशित : पुस २, २०७५ १५:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?