कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

स्वर्गद्वारीमा दैलेखका घाँसी

प्यूठान — चामुण्डा नगरपालिका–४ दैलेखका वीरबहादुर राउत खेतीपाती सकिएपछि दौंतरीसित प्रत्येक हिउँदमा भारतको सिम्लामा काम खोज्दै पुग्थे । मुलुकमै काम पाए ‘कालापहाड’ नजाने दौंतरीबीच गफगाफ चल्थ्यो ।

स्वर्गद्वारीमा दैलेखका घाँसी

सिम्लामा काम गर्दा खान र बासको बन्दोबस्त मिलाउन समस्या थियो । बोली, भाषा, रहनसहन मिल्दैनथ्यो । त्यहाँ पुगेपछि केही दिन कामको खोजीमा भौंतारिनुपर्ने बाध्यता थियो ।


‘यसपालि पनि उता जाने तयारी गर्दै थियौं,’ ४५ वर्षीय राउतले भने, ‘गाउँका पण्डितले स्वर्गद्वारीमा घाँस काट्ने काम पाइने सुनाएपछि यहाँ आएका हाैं ।’ उनीसँगै चामुण्डाका ९ जनाको टोली अहिले स्वर्गद्वारीमा घाँस काट्ने काममा व्यस्त छ ।


यसरी काम गर्न थालेको तीन महिनाभन्दा बढी भइसकेको उनले बताए । आश्रमले बस्ने बास र खानाको समेत व्यवस्था मिलाइदिएको छ । यसले उनीहरूलाई सहज भएको छ । ‘प्रतिभारी घाँसको ४ सय ५० रुपैयाँ पाउँछौं,’ धु्रव शाहीले भने, ‘भारतमा गएर कमाइनेजति आफ्नै देशमा कमाइ हुँदा खुसी लागेको छ ।’


घरमा परम्परागत रूपमा गर्दै आएको घाँस काट्ने काम गर्दा यहाँ कुनै अप्ठ्यारो नभएको शाहीले बताए । दैनिक एक भारी र कहिलेकाहीं दुई भारीसम्म घाँस काटेर ल्याउने गरेको उनले सुनाए । ‘हिजोआज स्वर्गद्वारीमा जाडो निकै बढेको छ,’ घाँसी केशबहादुर राउतले भने, ‘जाडोमा डाले घाँसभन्दा गाईले खर मन पराउने भएकाले घुर्रो (खर) घाँस काट्ने गरेका छाैं ।’


दैलेखका भीर–पखेराभन्दा स्वर्गद्वारी क्षेत्रका भीर–पखेरा सजिला रहेकाले खर काट्न समस्या नभएको उनले सुनाए । दैनिक आउने तीर्थयात्री र गाईका बाच्छा/बाच्छीको रमाइलोले दिन बितेको पत्तै नहुने अमिर राउतले बताए । ‘महिनामा १५/१७ हजार रुपैयाँ घरमा पठाउँछाैं,’ उनले भने, ‘भारतमा यति कमाउन दुई महिना लाग्थ्यो ।’


उनले दौंतरीसँगै एकै ठाउँमा काम गर्दा रमाइलो हुने पनि सुनाए । ‘साथी/दौंतरी एकै ठाउँमा हुँदा गाउँमै रहेको जस्तो हुन्छ,’ उनले भने, ‘बेलुका भजन गाएर नाचगान गरी रमाइलोसमेत गर्छौं ।’ आश्रममा पालिएका गाईका लागि घाँस काट्न रोल्पा, दैलेखलगायत जिल्लाबाट ३० जना जति घाँसी आएको आश्रमका क्यान्टिन प्रमुख बाबुराम न्यौपानेले बताए । ‘गाईले गर्दा नै स्वर्गद्वारीको महत्त्व बढाएको छ,’ उनले भने, ‘बर्सेनि घाँसको संंकट पर्दैछ । घाँसीहरू पनि थपिँदै छन् ।’


महायज्ञ सञ्चालनका लागि आवश्यक दूध–घीउका लागि स्वर्गद्वारी प्रभुकै पालादेखि तीन सयभन्दा बढी गाई पाल्दै आएको न्यौपानेले बताए । गाईको स्याहार गर्ने ग्वाला, घाँसीलगायत अन्य काम गर्ने कामदारलाई आश्रमले बस्ने, खाने व्यवस्था मिलाएको छ ।


दाङ देउखुरीको वनगाउँ, घोराहीको झेवरालगायत स्थानमा रहेको आश्रमको एक हजार बिघाभन्दा बढी जग्गाबाट पराल र आयस्ता आउन छाडेको न्यौपानेले सुनाए । आश्रमको जग्गाबाट पराल आउन छाडेपछि गाई पाल्न समस्या भएकाले ग्वाला राखेर घाँस काट्न थालिएको हो ।


स्वर्गद्वारी नगरपालिकाको स्वर्गद्वारी खाल, कोचिबाङ र भिंगृ क्षेत्रका स्थानीयले घुर्रो दिवसको अवसरमा एक/एक भारी घाँस उपहार दिने चलन छ । ‘हरेक पुस ५ गते स्वर्गद्वारीमा घुर्रो दिवस मनाइन्छ,’ न्यौपानेले भने, ‘यस दिन ९ सयभन्दा बढी घरले एक/एक भारी घाँस आश्रमलाई उपहार दिन्छन् ।’

प्रकाशित : पुस ३, २०७५ १०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?